Logo
८ बैशाख २०८१, शनिबार
(December 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संशोधनको लफडा कायमै, चुनावमा जान तीन दल सहमत ! 

काठमाडौं, पुस १३ ।  तीन दलबीच चुनावको मिति घोषणा गरेर अघि बढ्ने विषयमा लगभग सहमति बनेको छ । यद्यपी चुनाव र संविधान संशोधन प्रस्तावलाई सँगसँगै अघि बढाउने कि संशोधन प्रस्तावलाई थाती राखेर चुनावलाई प्राथमिकता दिने भन्ने विषयमा दलहरुबीच विवाद कायमै छ ।

कांग्रेसले संशोधन प्रस्तावलाई थाती राखेर चुनावमा जानुपर्ने धाराणा राख्दा माओवादी चुनाव र संशोधन प्रस्तावलाई सँगसँगै लैजनु पर्ने पक्षमा देखिएको छ । तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने कुनैपनि हालतमा संशोधन प्रस्ताव पार्टीले स्वीकार गर्न नसक्ने भन्दै चुनावको मिति घोषणा गरेर अघि बढ्नुपर्ने पक्षमा देखिएको एक नेताले बताए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार बसेको प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीबीचको बैठकमा शीर्ष नेताहरुबीच चुनावमा जाने विषयमा लगभग सहमति भएपनि संशोधनको विषमया भने एकमत नभएको हो ।  बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्रीले निर्वाचन, संशोधन प्रस्ताव र महाभियोगको प्रस्तावलाई सँगसँगै लैजाने प्रस्ताव गरेको बैठकपछि एमाले नेता भीम रावलले बताए ।

यद्यपी सो प्रस्ताव आफूहरुले अस्वीकार गरेको भन्दै रावलले पहिला चुनावको मिति घोषणा गर्ने र अरु विषयमा छलफल गर्दै जानुपर्ने विषयमा आफूहरुले बैठकमा कुरा राखेको उनले बताए । यस्तै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले निर्वाचन मिति घोषणा गर्ने सहमतितिर वार्ता अघि बढ्दै गएको भन्दै यही हप्ताभित्र मिति घोषणा हुने दाबी गरे । उनले संशोधन प्रस्ताव र चुनाव सँगसँगै लैजाने कुरा भइरहेको समेत बताए ।

उनले एमालेले पनि चुनाव चाहेकाले सहमतिको लागि उसले संशोधनमा पनि लचक बन्नुपर्ने धारणा राखे । यस्तै गृहमन्त्री तथा कांग्रेस नेता विमलेन्द्रले निधिले एमालेबाट संसदमा अवरोध भइरहेको र त्यो अवरोध हटाइदिन आग्रह गरिएको बताए । संसदको अवरोध हटाइएपछि मात्रै चुनाव, संशोधन प्रस्ताव, अविस्वासको लगायतका विषयमा छलफल अघि बढाउने सकिने भएकाले सोहि आग्रह आफूहरुले एमालेलाई गरेको बताए ।

जवाफमा एमालेले चुनावमा सहमति जनाएपनि संशोधनलाई भने कुनैपनि हालतमा स्वीकार्न नसकिने जवाफ दिएको बताए ।
नेताहरुका अनुसार मधेसी मोर्चासँग तीन दलले पुन छलफल गरेर थप निर्णयमा पुगिने छ । मधेसी मोर्चाले संशोधन प्रस्ताव पारित नभई चुनाव हुन नसक्ने बताउँदै आएको छ ।

प्रकाशित मिति: Dec 28, 2016

प्रतिक्रिया दिनुहोस्