Logo
१२ बैशाख २०८१, बुधबार
(December 22, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकमा के–के भयो ?

काठमाडौं, ७ पुस । विपक्षी दलले दिएको पछिल्लो अभिव्यक्तिप्रति संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले कडा आपत्ति जनाएको छ । मधेसी मोर्चाले संविधान संसोधन प्रस्तावविरुद्ध एमालेसहितका विपक्षी दलहरुले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको हो ।

मोर्चाका नेताहरुले संविधान संशोधन प्रस्ताव राष्ट्र हितमा नरहेको भन्ने एमालेसहितका विपक्ष दलहरुको अभिव्यक्ति मुलुकको राष्ट्रिय अखण्डता बिगार्ने गरी आएको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

काठमाडौंको तीनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको कार्यालयमा बिहीबार बसेको मोर्चाको बैठकले राष्ट्रियताको नाममा विपक्ष दलहरुले राष्ट्रिय अखण्डता विरोधी गतिविधि गरिरहेको निष्कर्ष निकालेको हो ।

बैठकले संविधान संशोधन प्रस्ताव संशोधनसहित पारित गराउन सरकार लागि नपरेको भन्दै असन्तुष्टि पनि व्यक्त गरेको छ ।

बैठकपछि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संसोधन प्रस्तावविरुद्ध प्रतिपक्षी दलहरुले दिएका अभिव्यक्तिले मुलुकको अखण्डता र जातीय एकता कमजोर हुने भन्दै आपत्ति जनाए ।

उनले मधेसी, आदिवासी र अल्पसंख्यकका विरुद्धमा दिएका अभिव्यक्तिले मुलुकलाई प्रतिगमनतर्फ धकेल्ने जिकिर पनि गरे ।

अध्यक्ष यादवले आफूहरु सडक आन्दोलनमा रहेका बेलामा संसदमा आएर छलफल गर्न आग्रह गर्ने दलहरु समस्या समाधानका लागि संविधान संसोधनको प्रस्ताव ल्याउँदा आफैं आन्दोलनमा जानु दुखद भएको टिप्पणी गरे । उनले प्रतिपक्षीले बिरोधका नाममा संसद बैठक अवरुद्ध गरेर संसदीय प्रक्रिया अलपत्र पार्न नहुने तर्क पनि गरे ।

प्रकाशित मिति: Dec 22, 2016

प्रतिक्रिया दिनुहोस्