राजीनामा दिएका इन्जिनियरलाई ७५ प्रतिशत भत्ता दिने निर्णय

काठमाडौं, ०७ पुष । सरकारले भूकम्पपछिको पुनर्निर्माण काम ठप्प पारी सामूहिक राजीनामा दिएका इन्जिनियर तथा प्राविधिकलाई प्रोत्सहन स्वरुप ७५ प्रतिशत भत्ता दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले भूकम्पपछिको पुनर्निर्माणको काम ठप्प पारी राजीनामा दिएका करिव १२ सय इन्जिनियर तथा प्राविधिकलाई प्रोत्सहन स्वरुप ७५ प्रतिशतसम्म भत्तला दिने निर्णय गरेको हो।
पुनर्निर्माणमा खटिएका करिब १२ सय इन्जिनियर, सबइन्जिनियर र असिस्टेन्ट इन्जिनियरले मंगलबार आयोजना प्रमुख शिवहरि शर्मालाई सामूहिक राजीनामापत्र बुझाएका थिए । भत्ता बढाउनुपर्ने, बिमा गर्नुपर्नेलगायत माग राख्दै आन्दोलित उनीहरूले सरकारले माग पूरा नगरेको भन्दै राजीनामा दिएका थिए ।
]सरकारले उनीहरुको माग सम्बोधन गर्न भन्दै ७५ प्रतिशतसम्म प्रोत्सहन भत्ता दिने निर्णय गरेको शहरी विकास मन्त्री अर्जुननरसिंह केसीले जानकारी दिए। पीडित परिवारले घर बनाउन सुरु गरेको समयमा इन्जिनियर र प्राविधिकले आन्दोलन गर्दा काम रोकिन पुगेको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पनि भूकम्पपीडितको संवेदनामाथि खेल्दै पुनर्निर्माणमा अवरोध सिर्जना गरिरहे उनीहरूलाई कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको थियो ।
तर सरकारले भने उनीहरुको माग सम्बोधन गर्न प्रोत्साहन स्वरुप ७५ प्रतिशतसम्म भत्ता दिने निर्णय गरेको हो । सरकारले पुनर्निर्माणमा प्राविधिक सहयोग उपलब्ध गराउन भूकम्प अतिप्रभावित ११ जिल्लामा १३ सय ४६ इन्जिनियर, ६ सय ५० सबइन्जिनियर र ५ सय ७५ असिस्टेन्ट सबइन्जिनियर खटाएको थियो ।