Logo
१९ मंसिर २०७९, सोमबार
(December 22, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शीतलहरले चुनौती थप्दै खेलाडी दुब्लाउदै

काठमाडौं । विभिन्न बाधा अड्चन पार गर्दै बल्लतल्ल सुनिश्चित भएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगताका लागि तराईको शीतलहर चुनौत बनेर खडा भएको छ । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्वाञ्चलमा पहिलोपटक यही पुस ८ देखि १५ गतेसम्म आयोजना हुन गइरहेको छ । तराईमा बढ्दै गएको चिसोका कारण यतिबेला त्यहाँको जनजीवन निकै कष्टकर बन्दै गएको छ । अझ मध्य पुसमा आयोजना हुन लागेको सातौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई शीतलहरले पनि गाँज्ने कुरामा दुईमत छैन ।

यस्तो अवस्थामा सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजनामा समेत प्रश्नचिह्न खडा हुने पक्का छ । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पुस नै किन पहिलो रोजाइमा पर्यो ? पुसको सट्टा फागुनमा आयोजना गरेको भए के हुन्थ्यो ? त्यो खोजीको विषय बनेको छ ।

पुसमा आयोजना गर्नु राष्ट्रिय खेलकुद परिषद्को बाध्यता भए पनि मौसमी दृष्टिकोणले त्यसलाई कदापि उचित मान्न सकिँदैन । यसर्थमा कि पुस र माघमा तराईमा अत्यधिक चिसो हुनुका साथै शीतलहरसमेत चल्ने गर्छ । यसबाट के कुरा प्रष्ट हुन्छ भने राखेप सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताप्रति संवेदनशील छैन ।

अन्यथा राखेपको बोर्ड बैठकले हचुवाको भरमा पुसलाई कदापि चुन्ने थिएन । यो अदूरदर्शिताको पराकाष्ठा पनि हो । यसले राष्ट्रिय खेलकुद गर्न मात्र गरिएको जस्तो देखिएको छ । यसले राष्ट्रिय प्रतियोगिताको औचित्य पुष्टि गर्न सक्तैन । राष्ट्रिय खेलकुद प्रतियोगिताको इतिहासमा अहिलेसम्म पुसमा राष्ट्रिय प्रतियोगिता भएको इतिहास छैन । राष्ट्रिय खेलकुदको इतिहास पल्टाउँदा तराई, पहाड जहाँ भए पनि फागुन र चैतमा मात्र आयोजना गरिएको छ । यो क्रम छैटौंसम्म तोडिएको थिएन ।

तर अहिले पुसको कठ्याङ्ग्रिँदो जाडोमा सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तोकेर राखेपले खेलाडीको किन हुर्मत लिन खोजेको हो त्यो आफैँमा सोचनीय विषय बनेको छ । राष्ट्रिय प्रतियोगिता खेलकुदको मेरुदण्ड हो । जसले खेलाडीको स्तरको मापन मात्रै नगरी नयाँ प्रतिभाशाली खेलाडी जन्माउनसमेत विशेष भूमिका निर्वाह गर्छ ।

यस्तो खेलकुदको दूरगामी विकास र विस्तारका लागि अह्म भूमिका निर्वाह गर्ने राष्ट्रिय प्रतियोगिताप्रति सम्बन्धिात निकायको अदूरदर्शिताको अर्थ के हो ? त्यसको जवाफ भविष्यमा दिनुपर्नेछ । साँचो अर्थमा भन्नुपर्दा राष्ट्रिय प्रतियोगिताको आयोजना गरेर मात्रै हुँदैन, त्यसले आफ्नो औचित्य पुष्टि गर्न सक्नुपर्छ । अहिले जसरी सातौंको आयोजन हुँदैछ त्यसले यो कुरालाई ठाडै बाइपास गरेको देखिएको छ । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना मात्र झारा टार्ने रुपमा देखिएको छ । तसर्थ यसरी हचुवाको भरमा आयोजना गरिन लागेको प्रतियोगिताले पूर्वाञ्चलको साख दाउमा नलाग्ला भन्न सकिँदैन ।

प्रदर्शनमा नकारात्मक प्रभाव पर्ने
राष्ट्रिय प्रतियोगिताले निरन्तरता पाउनु सकारात्मक पक्ष हो । यसले खेलकुद र खेलाडीको समग्र विकासमा महत्वपूर्ण योगदान दिन्छ । खेलाडीले आफ्नो स्तरीयको मापन गर्न पाउँछन् भने खेलकुदले खेलकुदको विकासमा नौलो फड्को मार्न पाउँछ ।तर जुन उद्देश्यअनुरुप प्रतियोगिताको आयोजना गर्नु थियो यदि त्यसो गरिएन भने त्यो उपलब्धिहीन हुने कुरामा शंका छैन ।

अहिले यस्तै शंका सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजनाप्रति देखिएको छ । हाफपाइन्ट र टिसर्ट लगाएर प्रतिस्पर्धामा उत्रिने खेलाडीले सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आफ्नो शतप्रतिशत प्रदर्शन गर्न सक्लान् त्यसमा ठूलो प्रश्नचिह्न लागेको छ । पुसको जाडो त्यसमाथि शीतलहरको खेलाडीले ठूलो चुनौतीको सामना गर्नुपर्ने देखिन्छ । साथै चिसोले खेलाडीमा मनौवैज्ञानिक असरसमेत पार्ने देखिन्छ । जाडोले थुरथुर कामेको शरीरबाट कुनै नौलो कीर्तिमानको अपेक्षासमेत गर्न सकिँदैन ।

तसर्थ चिसोका कारण सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाडीको प्रदर्शनमा नकारात्मक असर पर्ने कुरामा दुईमत छैन । यही कुरालाई आत्मसात् गर्दै थुप्रै खेलकुदका प्रशिक्षक, खेलाडी र पदाधिकारीले पुसमा राष्ट्रिय प्रतियोगिता गर्न नहुने राखेपलाई सल्लाह दिएका थिए । तर त्यस्तो हुन सकेन, बोर्ड बैठकले लगाएको लालमोहरका अगाडि उनीहरु नतमस्तक हुनुपरेको थियो । जुन अब सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पीडादायी बन्ने प्रायः निश्चित छ ।

प्रतिभा भिडन्तमा शंका
कुनै पनि प्रतियोगिता प्रतिभाबीच प्रतिभाको भिडन्त हुन्छ । एउटा प्रतिभाले जित्छ भने अर्कोले हार्छ । तर सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको भविष्वाणी गर्ने होा भने नाक खुम्च्याउने अवस्था छ । यसर्थमा कि त्यतिबेलासम्म खेलाडीको प्रतिभामा ह्रास आउने पक्का छ ।

उनीहरु त्यहाँ प्रतिस्पर्धा र जित्नका लागि नभई सहभागिताका लागि सहभागी हुने त होइनन् भन्ने चिन्ताको विषय बनेको छ । यसर्थमा कि त्यतिबेला चल्ने शीतलहरले खेलाडीको सबै प्रतिभा नउडाइदेला भन्न सकिँदैन । यस्तो अवस्थामा जबर्जस्ती प्रतिपर्धा होला, तर त्यो प्रतिभाबीच प्रतिभाको नभई प्रतिभा गुमाइसकेको शीतलहरबाट त्रसित र डराइसकेको प्रतिभाबीच हुनेछ ।

साँचो अर्थमा भन्नुपर्दा खेलाडीको प्रतिस्पर्धा शीतलहरसँग हुनेछ भन्दा अतिसयोक्ति नहोला । यसरी सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता सफल भए पनि खेलाडी असफल हुने पक्का छ ।

राज्यको करोडौं लगानी डुब्ने
तोकिएको समयमा सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बजेट नदिएकै कारण सातौंमा राज्यको करोडौं लगानी डुब्ने सम्भावना देखिएको छ । गत मंसिरमा हुनुपर्ने सातौं अर्को मंसिरमा पनि हुन सकेन । परिणाम अहिले सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता पुस ८ देखि १५ गतेसम्म सञ्चालन हुँदै छ ।

यसमा राजनीतिक चलखेल आफ्नो ठाउँमा भए पनि सातौंका लागि बजेट भाषणमै छुट्याएको रकम सरकारले समयमै नदिनु सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमा नहुनु हो । यसका लागि सम्बन्धित निकाय खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्भन्दा पनि सरकार दोषी छ भन्दा अतिसयोक्ति नहोला ।

अहिले सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता पुसमा अयोजना हुने पक्का भएको छ । तर पुसमा सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गर्दा त्यो कति उपलब्धिमूलक हुन्छ त्यसबारे सरकार अनविज्ञ छ । यो खेलकुदको विकास र विकासमा कति सहायकसिद्ध हुन्छ त्यसबारेसमेत सरकारले कुनै चासो राखेको छैन ।

साँचो अर्थमा भन्नुपर्दा सरकारले सातौं राष्ट्रिय खेलकुद गर्नुको अर्थसमेत बुझेको छैन । यो प्रतियोगिताको आयोजनासँगै हुने उपलब्धिको हरहिसाब र लेखाजोखा राख्ने सरकारको कुनै योजना छैन ।

खाली राष्ट्रिय खेलकुद प्रतियोगिताको नाममा बजेट मात्र दिएको छ । खेलकुद र खेलाडीको विकास र विस्तारका लागि हो भन्ने सरकारको मस्तिष्कमै छैन । जसले गर्दा आज सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना पुसमाहुन गइरहेको छ ।

दानापानीको चलखेल
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजनाका लागि अहिलेसम्म सरकारले राखेपलाई २० करोड प्रदान गरिसकेको छ । जसमा जिल्ला छनोट प्रतियोगिताका लागि तीन करोड खर्च भएको छ । त्यस्तै क्षेत्रीय छनोट प्रतियोगिताका लागि पाँच विकास क्षेत्रलाई तीन करोडका दरले १५ करोड खर्च भइसकेको छ ।

अब राखेपसँग दुई करोड बाँकी रहेको अवस्था मागेको छ । तर सरकारले अब राखेपलाई कति रकम उपलब्ध गराउँछ त्यो कुनै ग्यारेन्टी छैन । मागेको रकम दिन पनि सक्छ नदिन पनि सक्छ । र पनि दानापानीको आस लगाएर बसेकाहरु अहिले पनि ठूलो माछो जालमा पार्न प्रयत्नरत छन् ।

यसर्थमा कि बहाना थुप्रै छन्, उद्घाटन समारोह, समापन समारोह, भौतिक पूर्वाधारको निर्माण, पुननिर्माण र अन्यले दानापानीको सपना देखेकालाई दानापानीको व्यवस्था हुने उत्तिकै सम्भावना छ । त्यसका लागि नै उनीहरुले सातौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई पुसमा आयोजना गर्न लगाएका हुन् भन्दा अतिसयोक्ति नहोला, खबर घटना र विचारमा छ ।

तसर्थ शीतलहरको प्रकोपसँगै आर्थिक चलखेलको प्रकोपले सातौंलाई नराम्ररी गाँज्ने प्रायः निश्चित छ । त्यसका लागि अहिल्यैदेखि बिल भौचरसमेत तयार भइरहेको विशेष स्रोतबाट थाहा भएको छ । यसरी सातौं राष्ट्रिय प्रतियोगिताको आयोजना हुनु आफैंमा राम्रो कुरा भए पनि सातौंले आफ्नो औचित्य पुष्टि गर्न सक्छ कि सक्दैन त्यो अहम विषय बनेको छ ।

राखेपले सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउन साम, दाम, दण्ड, भेद चारै नीति अख्तियार गरिरहे पनि त्यसले तराईको शीतलहरलाई चिर्न सक्छ या सक्तैन त्यो प्रतीक्षाको विषय बनेको छ । राखेपका सदस्यसचिव केशवकुमार विष्टले सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता ऐतिहासिक हुने र पूर्वाञ्चल खेलकुदमा अमिट छाप पार्ने बताइरहँदा सातौंचाहिँ कसरी सञ्चालन हुने हो त्यो चाहिँ चिन्ताको विषय बनेको छ ।

प्रकाशित मिति: Dec 22, 2016

प्रतिक्रिया दिनुहोस्