Logo
८ बैशाख २०८१, शनिबार
(December 21, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब शंकाकै आधारमा प्रहरीले पक्राउ गर्न नपाउने

काठमाडौं, शंकाकै आधारमा कसैलाई पनि पक्राउ गर्न नपाउने गरी संसदले कानून बनाउन लागेको छ।  संसदमा प्रस्तुत विधेयकमाथि बनेको उपसमितिले शंकाकै आधारमा व्यक्ति पक्राउ गर्न नपाइने व्यवस्था गर्न लागेपछि प्रहरीले आपत्ती जनाएको छ।

नयाँ बनाउन लागिएको फौजदारी मुद्दाको कार्यविधि सम्बन्धी कानूनमा यस्तो व्यवस्था गर्न लागिएको हो। शंका लागे पक्राउ गर्न तर संसदको उक्त उपसमितिका संयोजक लक्ष्मणलाल कर्णले भने शंकाकै आधारमा पक्राउ गर्ने व्यवस्था राख्नै नसकिने बताए। उपसमितिले प्रतिवेदन बनाउने काम आधा मात्रै सकेको छ।

उपसमितिले तयार पारेको प्रतिवेदनमा दुई किसिमका पक्राउ पुर्जी जारी गर्न सकिने व्यवस्था छ। कुनै व्यक्तिलाई पक्राउ गर्नुपरे अदालतले जारी गरेको पक्राउ पुर्जी अनिवार्य चाहिने छ। आपराधिक घटना भइरहेको र आकस्मिक अवस्थामा भने घटनास्थलमा खटिएका प्रहरीले नै पक्राउ पुर्जी थमाउन सक्ने छन्।

‘शंकाकै आधारमा कसैलाई पक्राउ गर्न नपाइने र जाहेरी परेकेा छ भने अदालतलाई जानकारी गराएर मात्रै पक्रिन पाइने व्यवस्था गर्न प्रस्ताव गरिएको छ,’ संयोजक कर्णले भने, ‘विशेष परिस्थितिमा बाहेक अदालतले जारी गरेको पक्राउ पुर्जीलाई अनिवार्य गरिएको छ।’ त्यस्तै, कुनै पनि घटनाका बारेमा अनलाइनमार्फत पनि जाहेरी (उजुरी)दिन पाइने व्यवस्था उपसमितिले प्रस्ताव गरेको छ।

उजुरी लिन प्रहरीले नमानेमा अन्यत्र पनि जान सकिने कानुन बनाउन लागिएको छ। जाहेरी लिन तल्लो तहको प्रहरीले नमानेमा एक तह माथिको प्रहरीमा जान सकिने छ। प्रहरीको उपल्लो तहले पनि जाहेरी लिन मानेन भने सरकारी वकिलकहाँ जान सकिने छ। सरकारी वकिलले आफूकहाँ आइपुगेको त्यस्तो उजुरी दर्ता गर्ने वा नगर्ने निर्णय दुई तीनदिनमै दिनुपर्ने छ।

कर्णका अनुसार, आफूसमक्ष आएको कुनै उजुरी झुटो र काल्पनिक हो भन्ने लागेमा प्रहरीले त्यसमाथि अनुसन्धान अघि नबढाउने निर्णय गर्न सक्ने कानुन बनाउन लागिएको छ। तर त्यस्तो निर्णय गर्दा उसले सरकारी वकीलको राय लिनुपर्ने छ। नयाँ कानुनमा नेपाल बाहिर भएको अपराधमा समेत अनुसन्धान गर्न सकिने व्यवस्था गर्न लागिएको छ। कुनै घटनामा विदेशमा रहेका व्यक्तिलाई समेत पक्राउ पुर्जी जारी गर्न सकिने प्रावधान राखिएको कर्णले बताए।

प्रकाशित मिति: Dec 21, 2016

प्रतिक्रिया दिनुहोस्