Logo
१६ चैत्र २०८०, शुक्रबार
(December 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सदरमुकाम नबस्न गाविस सचिवलाई मन्त्रालयको चेतावनी

काठमाडौं, २६ मंसिर । स्थानीय विकास मन्त्रालयले अहिले पनि केही संख्यामा गाविस सचिवहरु सदरमुकाममै बसिरहेको भन्दै उनीहरुलाई तत्काल आफ्नो कार्यक्षेत्रमा जान निर्देशन दिएको छ । यस्तै उनीहरुलाई यथाशिघ्र तोकिएको क्षेत्रमा पठाउन जिल्ला विकास समितिहरुलाई पनि निर्देशन दिइएको छ ।

मन्त्रालयले गत आर्थिक वर्ष अनुगमन गर्दा पनि गाविस सचिवहरु सदरमुकाममा बसेर काम गरेको पाइएको थियो । यस्ता कमजोरी नगर्न मन्त्रालयले तत्काल सचेत समेत गराएको थियो । मन्त्रालयले केहीदिन अघि निर्देशन जारी गरी सचेत गराएको हो । सरकारको निर्देशन विपरित केही गाविस सचिव सदरमुकाममा बसेर काम गरिरहेको पाइएकाले मन्त्रालयले उनीहरुलाई आ-आफ्नो तोकिएको गाविसमा बसेरै काम गर्न भनेको हो ।

यसैगरी मन्त्रालयले गुनासो व्यवस्थापनका लागि सुशासन इकाई गठन गरी त्यसलाई क्रियाशील बनाउन पनि हरेक जिल्ला विकास समितिका कार्यालयहरुलाई निर्देशन दिएको छ । यसैगरी मन्त्रालयले हरेक आयोजनाको जाँचपास गर्नुअघि सार्वजनिक परीक्षण गर्न समेत निर्देशन दिएको छ ।

यसअघि भएको अनुगमनमा सबै आयोजनाको सार्वजनिक परीक्षण गरेको नभेटिएको र त्यसको कार्यान्वयनमा गम्भिरता नदेखाइएको पनि भेटिएको थियो । त्यही अनुगमनका आधारमा आयोजनाहरुको जाँचपास अघि अनिवार्य रुपमा सार्वजनिक परीक्षण गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: Dec 11, 2016

प्रतिक्रिया दिनुहोस्