केपी ओली र सिके राउतमा कुनै फरक छैन !
ललितपुर, मंसिर २६ । संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले संविधानको दोस्रो संशोधन सम्बन्धी विधेयकको एमालेले विरोध गर्नु प्रतिगामी र नश्लवादी चरित्र भएको आरोप लगाएका छन । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफैंले सहि गरेर दोस्रो संविधान सभाको संवैधानिक तथा राजनीतिक संवाद तथा सहमति समितिमा दुई वर्ष अगाडी बुझाएको प्रस्तावलाई वर्तमान प्रधानमन्त्री प्रचण्डले अगाडी सार्दा त्यसको विरोध गर्नु राजनीतिक रूपले अनैतिक र दोहरो चरित्र भएको श्रेष्ठले बताए ।
पार्टीले अगाडी सारेको नेपाली समाज परिवर्तनको सिद्धान्त सङ्घीय समाजवाद देशमा लोकप्रिय बन्दै गएको बताउँदै विभिन्न राजनीतिक शक्तिहरू यस सिद्धान्तप्रति आकर्षित भएको बताएका छन् । समाजवादी युवा फोरम, नेपालको शनिबार ललितपुर जिल्लाको ल्वहंलमा आयोजित एक भेलामा बोल्दै उनले एमालेको आदिवासी जनजाति, मधेसी, थारु, खस, शिल्पी लगायतका उत्पीडित समुदायको पहिचान र अधिकार विरोधी प्रतिगामी चरित्रले देश विखण्डनको दिशामा गइ रहेको भन्दै उनले नश्लीय राष्ट्रवादको वकालत गर्ने एमाले अध्यक्ष ओली र सिके राउतमा कुनै फरक नभएको बताए ।
उनले राउत र ओलीले दुई भिन्दा भिन्दै कोणबाट राष्ट्रिय एकतालाई कमजोर बनाएको भन्दै यी दुईको बाटो भिन्दा भिन्दै भए पनि परिणाम एउटै हुने बताए ।