Logo
७ बैशाख २०८१, शुक्रबार
(December 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकता र अखण्डता खतरामाः राष्ट्रपति भण्डारी

metting-with-bhandariकाठमाडौं, मंसिर २० । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको एकता र अखण्डता खतरामा रहेको भन्दै त्यसको संरक्षण र संवद्र्धनका लागि एकजुट हुन सबैलाई आह्वान गरेकी छन् । राष्ट्रपति निवास शीतल निवासमा आइतबार प्रधानमन्त्री, सभामुखलगायत संसद्मा प्रतिनिधित्व गर्ने २९ दलसँग राष्ट्रपति भण्डारीले देशमा बल्झिँदै गएको समस्याको निकास दिनसमेत आग्रह गरिन् ।

उनले भनिन्, ‘आज देशले भोग्नुपरेको समग्र समस्याको निकास एकता, अखण्डता र सार्वभौमसत्ताको रक्षा गर्दै अघि बढ्नु हो । मुलुकको एकता र अखण्डता अप्ठ्यारोमा परेको छ ।’ संविधान कार्यान्वयन हुन नसकेकामा उनले दुःखसमेत व्यक्त गरिन् । उनले भनिन्, ‘संविधान कार्यान्वयन र संविधान संशोधनमा दलहरू एक ठाउँमा उभिनैपर्छ । अगामी १४ महिनामा स्थानीय, प्रदेश र केन्द्रीय संसद्को निर्वाचन गर्नुपर्ने दायित्व हामीमा छ । तपार्इंहरू वर्तमान परिस्थितिमा गम्भीर हुनुहोस्, एकअर्कालाई आरोपप्रत्यारोप लगाउनुभन्दा आफू ठिक छु भन्ने प्रमाणित आमजनताबीच गर्नुहोस् ।’

उनले अरूलाई चोर दोष लगाउनुभन्दा आफ्नो थैलीको सुर्की राम्रोसँग बाँध्नसमेत नेताहरूसँग आग्रह गरिन् । देश गम्भीर संकटमा फसिरहेको अवस्थामा संसद्मा रहेको संविधान संशोधन र कर्यान्वयन प्रस्तावमा पक्ष र विपक्षभन्दा पनि सहमति, सहकार्यसाथ टुंगोमा पुग्नसमेत उनले नेताहरूसँग आग्रह गरिन् । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा ल्याएको संशोधन प्रस्ताव विदेशीको इसारा र संकेतमा नभई नेपाल र नेपालीको एकताका लागि भएकाले शंका नगर्न आग्रह गरे ।

उनले भने, ‘संशोधन प्रस्तावमा केही कुरा संशोधन हुन्छ नै । सरकारले निर्वाचनको समेत तयारी गरेकाले त्यसमा समेत दलहरूबीच सहमति अपरिहार्य छ । मैले कुनै देशद्रोही कार्य गरेको छैन ।’ जबाफमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले संसद्मा दर्ता भएको संशोधन प्रस्ताव फिर्ता हुनुपर्ने आफ्नो अडान प्रस्तुत गरेका थिए । उनले भने, ‘इतिहास साक्षी छ, संसद्मा आएका सब संशोधन दर्ता हुँदैनन्, दर्ता भए छलफल गरिँदैन । त्यस्तै सरकारले संसद्मा दर्ता गरेको संशोधन छलफल हुँदैन । स्वतः फिर्ता हुनुपर्छ ।’

सरकारले राष्ट्रियता र अखण्डताविपरीत संशोधन ल्याएकाले आफ्नो दलले संसद् अवरोध गरिरहेको जानकारी उनले दिए । संविधान कार्यान्वयन रोक्न संशोधन आएको आरोप लगाउँदै ओलीले सरकार संविधानविपरीत डिजाइनमा लागेकाले संशोधन पारित गर्न नसक्ने बताए । कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका तत्कालीन सभापति सुशील काइराला र ओलीबीच संविधान संशोधनमा जे सहमति भएको थियो, त्यो जस्ताको तस्तै ल्याएको उल्लेख गर्दै सत्ता गठबन्धन कसरी राष्ट्रघाती र देशद्रोही भयो भनी प्रश्न गरेका थिए ।

संविधान संशोधनबाट मधेसलाई संविधानको मूलधारमा ल्याउन नसकेसम्म संविधान कार्यान्वयनको राग अलाप्नुको कुनै अर्थ नरहेको देउवाले बताए । संघयी समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अन्नपूर्णसँगको कुराकानीमा भने, ‘सरकारले ल्याएको संशोधन प्रस्ताव मधेसलाई मान्य हुँदैन । परिमार्जन अपरिहार्य छ । जबरजस्ती गरे मुलुकमा फेरि द्वन्द्व निम्तिनेछ ।’ आफ्नो मागको प्रत्युत्तरमा प्रधानमन्त्रीले संशोधन प्रस्तावमा पुनर्विचार गरिने धारणा राखेको उनले जानकारी दिए ।

समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंहले तीन प्रमुख दल एक ठाउँमा मिल्न पनि नसक्ने अन्य दलको विश्वास आर्जन पनि नगर्ने स्थितिका कारण संविधान कार्यान्वयनमा अवरोध भएको धारणा राखेका थिए । मालेका अध्यक्ष चन्द्रप्रकाश मैनालीले मधेसका एक नेताले ‘हिजो मधेसी गुमे, अब मधेस गुम्छ’ भन्दै राष्ट्रियताविरुद्ध धावा बोलेको बताए । एक शीर्ष नेताले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा ‘तराईमधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले हिजो तपाईंहरूको हातबाट मधेसी गुमे भने अब मधेस गुम्दैछ’ भनेको जानकारी दिएका थिए ।

नेपाल मजुदर किसान पार्टीका नेता प्रेम सुवालले राष्ट्रपतिको सम्बोधनजस्तो राष्ट्रिय एकता र अखण्डताअनुसार संशोधन प्रसताव नरहेकाले फिर्ता हुनुपर्ने माग गरेको बताए । उनले भने, ‘हिमाल, पहाड र तराई छुट्याउने गरी आएको संशोधन र त्यो संशोधन ल्याउने नेपाली हुनै सक्दैनन् ।’ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) संसदीय दलका नेता रुक्मणी चौधरीले संशोधन प्रस्ताव संसद्मा दर्ता गराउनुअघि थारूहरूसँग सरकार गठनताका भएको तीनबुँदे सहमति पालना नभएकोमा आपत्ति जनाइन् ।

भारतीय राजदूत रन्जित रेले नेपालको राजनीतिमा हस्तक्षेप गरेको प्रमाण हुनेहरूसँग हिम्मत भए उनलाई देशनिकाला गर्न चौधरीले चुनौती दिइन् । राष्ट्रपतिले आयोजना गरेको परामर्शमा पूर्वसभामुखसमेत सहभागी थिए । जनता दलका अध्यक्ष एवं सांसद हरिचरण साहले भण्डारी राष्ट्रको नभएर एमालेको राष्ट्रपति भएकाले बैठक बहिष्कार गरेको बताए । अन्नपुर्ण पोष्टमा समाचार छ ।

कसले के भने ?
– थैलीको सुर्की राम्रो बाँध्नू, चोर दोष नलगाउनूः राष्ट्रपति
– मैले कुनै देशद्रोही कार्य गरेको छैनः प्रधानमन्त्री
– सरकार संविधानविपरीत डिजाइनमाः ओली
– मधेसलाई मूलधारमा नल्याएसम्म राग अलाप्नु बेकारः देउवा
– हिजो मधेसी गुमे, अब मधेस गुम्छः ठाकुर
– जबरजस्ती संशोधन ल्याए द्वन्द्वः यादव

प्रकाशित मिति: Dec 5, 2016

प्रतिक्रिया दिनुहोस्