Logo
१३ बैशाख २०८१, बिहीबार
(December 4, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सशस्त्र समूहको नेतृत्व गरेका झा बने सरकारका अधिकृत

rajiv-jhaकाठमाण्डौ, मंसिर १९ । २०६३ मा ललितपुरको कान्तिपुर इन्जिनियरिङ कलेजबाट स्नातक गरेपछि सप्तरीको तिलाठी–१ का राजीवकुमार झा तराईको सशस्त्र आन्दोलनमा होमिए । यसले गाउँकै माध्यमिक विद्यालयमा प्रधानाध्यापक रहेका पिता अमरनाथ झालाई निकै चिन्तित बनायो । सशस्त्र संघर्षमा राजीव ‘उत्कर्ष मुक्ति’ नामले चिनिए । तर तिनै राजीव अहिले नेपाल सरकारको अधिकृत बन्दा पिता अमरनाथ र परिवार दंग छन् ।

३४ वर्षीय राजीव नायब सुब्बा हुँदै अहिले लोकसेवा आयोगबाट शाखा अधिकृत भएर स्टाफ कलेज जाउलाखेलमा पेसागत तालिम लिन व्यस्त छन् । उनले इन्जिनियरिङमा स्नातक उत्तीर्ण गरेपछि जनकपुर इन्जिनियरिङ कलेजमा पढाएका थिए । ६ महिना अध्यापन गरेपछि उनी जनतान्त्रिक तराई मुक्ति मोर्चा राजनमुक्ति समूहमा जोडिए । सप्तरी इञ्चार्ज बनेर भूमिगत राजनीतिमा लागे । उनी ०६३ देखि ०६५ पुससम्म सशस्त्र गतिविधि गर्दै भूमिगत भए ।

सप्तरी, सिरहा, धनुषा र महोत्तरीलगायत जिल्लामा कार्यकर्ता संगठित गर्दै विरोध गर्नेलाई कारबाही गर्न लागे । करिब दुई वर्ष भूमिगत सशस्त्र समूहमा लागेका उनी ०६५ साल पुस २३ गते सिरहाको लहानमा आफ्ना तीन साथीसहित सार्वजनिक भए, जतिबेला सरकारले जनतान्त्रिक तराई मुक्ति मोर्चा राजनमुक्ति समूहलाई वार्तामा बोलाएको थियो । उक्त समूहका तर्फबाट वार्ता टोली संयोजकका रूपमा उनी सार्वजनिक भए ।

पुस २६ गते जनकपुरस्थित रामा होटलमा तत्कालीन शान्तिमन्त्री जनार्दन शर्मा नेतृत्वको सरकारी वार्ता टोलीसित राजीव नेतृत्वको मोर्चा टोलीले वार्ता गर्‍यो । अध्यक्ष राजनमुक्ति सहितका अन्य नेता भूमिगत रहेकै बेला वार्ताका लागि सार्वजनिक भएका राजीवले तराईका अन्य चार सशस्त्र समूहसँग एकता गरे ।

उनले ०६७ सालमा आएर जयप्रकाशप्रसाद गुप्ता नेतृत्वको मधेसी जनअधिकार फोरम गणतान्त्रिकसित पार्टी विलय गराए । गुप्ता जेल पर्नुअघिसम्म उनी उक्त पार्टीको केन्द्रीय सदस्य हुँदै प्रवक्तासम्म बने । गुप्तासित मतभेद भएपछि राजीवले पार्टी परित्याग गर्दै दोस्रो संविधानसभाको निर्वाचन अगाडि विजयकुमार गच्छदारको फोरम लोकतान्त्रिकमा प्रवेश गर्दै पार्टीको केन्द्रीय सदस्य बने ।

‘त्यसपछि सरकारी सेवाबाट जनताको सेवा गरुँ भन्ने भावना आयो र लोकसेवा तयारी थालें,’ स्टाफ कलेज ललितपुरमा तालिमरत राजीवले कान्तिपुरसित भने, ‘मान्छेले ठान्दा केही पनि असम्भव छैन, मैले सानो अवधिमा लोकसेवा तयारी गरें ।’ फोरम लोकतान्त्रिकबाट राजीनामा दिएर पहिलो पटक लोकसेवामा सहभागी भएका राजीवले ०७२ पुस १ गते नेपाल सरकारको नायब सुब्बामा नियुक्ति पाए ।

उनले १० महिना संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत जनशक्ति विकास महाशाखामा काम गरे । त्यहाँ काम गर्दागर्दै राजीवले अधिकृतका लागि पनि आवेदन दिए । त्यसपछि लोकसेवा आयोगबाट शाखा अधिकृत पदमा पनि नाम निकाले । ०७३ कात्तिक ७ गतेबाट अधिकृतको नियुक्ति पाएका राजीव एक महिनायता स्टाफ कलेजमा अन्य सहकर्मीसँगै तालिमरत छन् ।

विगतका दिन सम्झिँदा कस्तो अनुभव हुन्छ ? भन्ने प्रश्नमा राजीवले भने, ‘विगत विगत थियो, वर्तमानमा म नेपाल सरकारको अधिकृत हुँ र सरकारी सेवाबाट जनताको सेवा गर्ने अठोट लिएको छु ।’ कुनै पनि विषयमा दबाब आवश्यक भए पनि छलफल र वार्ताबाट शान्ति हुनुपर्छ,’ उनले भने ।

अरू पनि शान्तिपूर्ण राजनीतिमा गजेन्द्र मण्डल भूमिगत कालमा अनुराग उपनामले चिनिन्थे । सप्तरी बेल्ही चपेनाका उनी ०४६ देखि विद्यार्थी राजनीतिबाट नेपाल विद्यार्थी संघसित आबद्ध भए । स्थानीय क्याम्पस इकाई उपसभापति भएका उनले ०६२ सालको अन्त्यमा राजनप्रताप भनिने प्रफुल्ल यादव नेतृत्वको मधेसी मुक्ति टाइगर्सबाट भूमिगत राजनीति सुरु गरे ।

सशस्त्र संघर्षबाट मधेसको मुक्ति ठान्ने उनले एक वर्षभित्र पार्टीभित्रै अर्को संगठन बनाए । त्यसको एक वर्षपछि तराई जनक्रान्ति पार्टी नामक छुट्टै भूमिगत समूह बनाए । तीन वर्षसम्म हिंसात्मक गतिविधि चलाएपछि ०६५ साल पुसमा तत्कालीन शान्तिमन्त्री जनार्दन शर्मा वार्ता गर्न सार्वजनिक भए ।

पहिलो चरणको वार्तापछि उनले राजीवकुमार झाको नेतृत्वमा रहेको जनतान्त्रिकसित एकता गरे । त्यसको एक वर्षपछि आफूसँग भएका हातहतियार धनुषा र सप्तरी जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई बुझाएर शान्तिपूर्ण राजनीतिमा होमिए । ‘जे सोचेर भूमिगत राजनीतिमा लागियो, त्यहाँ त्यो अवस्था देखिएन,’ मण्डलले भने, ‘गुट उपगुटले सशस्त्र समूहहरू पनि थिलोथिलो पर्दा मन विरक्तिएर शान्तिपूर्ण राजनीतिबाटै मधेसको मुक्ति गर्न सशस्त्र छोडी शान्तिपूर्ण राजनीतिमा आइयो ।’ कान्तिपुरबाट साभार

प्रकाशित मिति: Dec 4, 2016

प्रतिक्रिया दिनुहोस्