Logo
७ बैशाख २०८१, शुक्रबार
(November 27, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिबन्धपछि आधा मूल्यमा भारु नोट साट्दै !

bharau-siraha-newsसिरहा । भारत सरकारले भारु पाँच सय र एक हजार दरका नोटमा प्रतिबन्ध लगाएपछि सीमा क्षेत्रका व्यवसायी र सर्वसाधारण मर्कामा परेका छन् । सीमाक्षेत्रका साना व्यवसायी र सर्वसाधारणले भारतीय आफन्तको प्रयोग गरी आफूसँग भएको रकम साटेको भएपनि पहुँच नभएकाहरु भने भारतीय दलालसँग आधा मूल्यमा भारु साट्न बाध्य भएका छन् ।

नाम उल्लेख नगर्ने सर्तमा सिरहाको चोहर्वाका एक व्यवसायीले आफूले आधा मूल्यमा भारु हजार र पाँचसयको नोट साटेको बताए । सिरहासँग सीमाना जोडिएका भारतीय बजारहरु जयनगर, लौकहा, लदनीयाँ लगायतका बजारमा प्रतिबन्धित भारु आधा मूल्यमा साटिने गरेको सर्वसाधारणहरुले बताएका छन् ।

घरायसी सामाग्रीहरु किनमेलका लागि भारत विहारको जयनगर पुगेका गोलबजार नपा–८ का वोयलाल यादवले भारु १ हजार साट्न परे त्यसको आधा र ५ सय साट्नु परेपनि आधा मूल्य दिइने गरेको बताए । तर, सिरहा गोलबजारका व्यवसायी विजय सिंहले भने आफूसँग भएको पाँच सयको २५ हजार रकम भारतीय आफन्तलाई जिम्मा लगाए ।

उनले भने, ‘कहिलेकाही इण्डियाजाँदा काम लाग्छ भनेर थोरै रकम जम्मा गरेर राखेको थिएँ । भारत सरकारले नोट प्रतिबन्ध लागाएपछि उतैका एकजना आफन्तलाई दिएर पठाएको छु ।’ आफन्त नभएका नेपालीको पाँच सय र हजारको नोट साट्न भने आधा मूल्यमा दलालकै भर पर्नुपर्ने अवस्था आएको हो ।

नेपाल राष्ट्र बैंकले सर्वसाधारणको भारु साट्नेबारे पहल गरिरहेको भएपनि भारतीय केन्द्रीय बैंकले हालसम्म जवाफ पठाएको छैन । भारतीय पक्षबाट जवाफ नआउँदा अन्योलमा परेका सर्वसाधारण आधा मूल्यमा रकम साट्न बाध्य भएका हुन् ।

पत्रकार रामभरोसी यादवको सहयोगमा

प्रकाशित मिति: Nov 27, 2016

प्रतिक्रिया दिनुहोस्