Logo
१३ बैशाख २०८१, बिहीबार
(November 22, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सहमती विना संशोधन प्रस्ताव ल्याए सडक–सदन चर्काउने एमालेको चेतावनी

uml-officeकाठमाडौ । सहमती विना संविधान संशोधन प्रस्ताव ल्याए एमालेले सडक–सदन चर्काउने  चेतावनी दिएको छ । सरकारले बुधबार ल्याउने संविधान संशोधन प्रस्तावमा आफ्नो सहमति नरहेको भन्दै प्रमुख प्रतिपक्षी तथा संसद्को दोस्रो ठूलो दल एमालेले सदन र सडक दुवैमा त्यसको प्रतिरोध गर्ने चेतावनी दिएको हो ।

सत्ता गठबन्धन (कांग्रेस र माओवादी) र एमालेबीच सोमबार भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा प्रस्तुत मस्यौदा प्रावधान पूर्वसहमतिविपरीत भएको र त्यसमा आफ्नो दलको समर्थन हुन नसक्ने अभिव्यक्ति एमाले उपाध्यक्ष भीम रावलले दिएका थिए ।

प्रधानमन्त्री दाहालले एमालेको समर्थन वा विरोध जे भए पनि संशोधन प्रस्ताव पेस गरेरै छाड्ने अडान लिएपछि दुई पार्टीबीच चर्काचर्की परेको थियो ।

संविधान संशोधनमा साझा धारणा बनाउन प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार बालुवाटारमा बोलाएको बैठकमा कांग्रेस, एमाले र माओवादी केन्द्रका नेतासँगको छलफल आरोप–प्रत्यारोपमा टुंगिएपछि सत्ता गठबन्धनले एमालेलाई बेवास्ता गर्दै संशोधन विधेयक दर्ता गराउने निर्णय गरेको हो ।

प्रधानमन्त्री दाहालले सीमांकन, नागरिकता, राष्ट्रियसभा र भाषा विवादका विषयमा संविधान संशोधन गर्न प्रस्ताव राखेपछि एमाले नेताहरूले त्यसको औचित्य नरहेको पार्टी निष्कर्ष सुनाएका थिए ।

‘सीमांकनमा कांग्रेस र एमाले नेताहरूले पहिले तयार गरेको धारणाकै आधारमा प्रधानमन्त्रीले प्रस्ताव ल्याउनुभएको थियो’, एक नेताले भने । प्रधानमन्त्री दाहालले प्रस्ताव राखेलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवाले मधेस समस्या समाधान गरी निर्वाचनमा जानुपर्ने बताएका थिए ।

‘मधेसीसँग सल्लाह नगरी ल्याएको चारबुँदे राष्ट्रघाती प्रस्ताव हामी मान्दैनौं’, एमाले नेता भीम रावलले बैठकमा भने । प्रधानमन्त्री दाहालले रावललाई सम्झाउने प्रयास गर्दै भने, ‘अहंकारले मुलुक चल्दैन । सबै मिलेर संविधान कार्यान्वयनमा जाऊँ ।’ कांग्रेस नेता तथा उपप्रधानमन्त्री विमलेन्द्र निधिले थपे, ‘हामीले मधेसी मोर्चासँग तीनबुँदे सहमति गरेकै हो ।

अहिले ल्याएको प्रस्ताव त्यही तीनबुँदे सहमतिविपरीत छैन । तपाईंहरू मान्नुहुन्न भने हामी बुधबार मधेसी मोर्चासँग छलफल गरी संसद्मा संशोधन विधेयक दर्ता गर्छौं ।’ त्यसपछि एमाले नेता रावलले संसद् र सडकमा प्रतिपक्षले आन्दोलन गर्ने चेतावनी दिए । ‘हामी तपाईंहरूले ल्याएको संविधान संशोधन प्रस्ताव मान्दैनौं ।’

 बैठकमा एमालेका नेताहरूले संविधान संशोधनको पहल र प्रस्तावलाई आफूहरूले राष्ट्रविरोधी कदमका रूपमा ठानेको तर्क पेस गरेका थिए । ‘हामी संविधान संशोधन प्रस्तावको अन्तरवस्तु र दर्ताको विरोधमा छौं’, बैठकमा ओलीले भनेका थिए, ‘तपाईंहरूले संशोधन गरिहाल्नुभयो भने हामी रचनात्मक प्रतिपक्षको प्रतिक्रिया दिन बाध्य हुनेछौं ।’

एमाले नेता रावलले संविधान संशोधनको औचित्य नभएको कुरा आफूहरूले प्रस्ट राखेको बताए । ‘प्रधानमन्त्रीले संविधान संशोधनमा मिलेर जान प्रस्ताव राख्नुभयो । मधेसी मोर्चासमेत तयार नभएको र संविधान संशोधनको औचित्य नभएका कारण हामीले सरकारलाई संविधान संशोधन प्रस्ताव अघि नबढाउन भनेका छौं’, रावलले भने ।

प्रकाशित मिति: Nov 22, 2016

प्रतिक्रिया दिनुहोस्