Logo
२४ मंसिर २०७९, शनिबार
(November 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सम्झौताको १० वर्ष : इतिहास निर्माणमा गिरिजाप्रसादको मनोदशा !

२०६३ मंसिर ५ मा विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गर्दै तत्कालीन सरकार प्रमुख गिरिजाप्रसाद कोइराला र विद्रोही नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल। फाइल तस्बिर
२०६३ मंसिर ५ मा विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गर्दै तत्कालीन सरकार प्रमुख गिरिजाप्रसाद कोइराला र विद्रोही नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल। फाइल तस्बिर

पुरञ्जन आचार्य,
यो लेख नेपालको बृहत् शान्ति प्रक्रियाको दस वर्ष उपलब्धिमूलक रह्यो भनी त्यसको सूची बनाउनेे उद्देश्यबाट लेख्न लागिएको होइन। त्यसको जिम्मा त विदेशी सहयोगमा डलर खाएर तारे होटलमा हुने गोष्ठी र सेमिनार विशेषज्ञलाई नै दिनु उचित हुनेछ । यो लेखको उद्देश्य बृहत् शान्ति प्रक्रियाका नायक गिरिजाप्रसाद कोइराला डेढ दशकअघि किन र कसरी तत्कालीन नेकपा माओवादी विद्रोहीसँग सम्पर्क एवं सहकार्य गर्न पुगे र नेपालको नयाँ इतिहास रचियो भन्नेमा केन्द्रित छ । तर उनको विषयमा प्रवेश गर्नुअघि बृृहत् शान्ति प्रक्रियाको दस वर्ष हेर्नुपर्ने हुन्छ। र, के हामी अहिले ठीक बाटोमा छौं भनी घोत्लिनुपर्ने पनि हुन्छ ।

विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर गिरिजाप्रसाद कोइराला आफ्नो पृथक इतिहास निर्माण गर्न चाहन्थे। शान्ति प्रक्रियामा विद्रोही पक्षका नेता प्रचण्ड (पुष्पकमल दाहाल) अहिले प्रधानमन्त्री भएर सत्तापक्ष भएका छन्। उनका ‘क्याडर’ जो हतियारधारी थिए अहिले देशको मूलधारमा आएका छन्। यसबीच माओवादीले दुईपटक संविधानसभा निर्वाचनमा भाग लिएको छ। नेपालको लोकतान्त्रिक राजनीतिलाई सम्झौता र सहमतिबाट अगाडि बढाउन सकिन्छ भन्ने दलहरूले अभ्यासवाट पुष्टि गरेका छन्। माओवादी पार्टीले निरंकुशता त्यागेका प्रमाण देखिन्छन् नेपाली समाजमा। विगतमाझैँ माओवादी आन्दोलनलाई अब कसैले लोकतन्त्र मास्ने आन्दोलन थियो भन्न सक्दैन। नेपालको संविधान ०७२ का अधिकांश राजनीतिक मुद्दा तत्कालीन विद्रोही माओवादीले अंगिकार गरेको विचारसँग धेरै नजिक छन्।

शान्ति प्रक्रियालाई दीर्घकालीन रुपमा स्थिर र चिरस्थायी बनाउने कार्य संविधान जारी भएसँगै विभिन्न आयोगमार्फत अघि बढिरहेका छन्। छोटकरीमा भन्न सकिन्छ नेपालको शान्ति प्रक्रिया धेरै हदसम्म सफलता उन्मुख देखिन्छ। हो, माओवादी विद्रोहको सहउत्पादन भएर आएका अनेकन जातीय, राजनीतिक र सामाजिक आन्दोलन अझै चुनौतीपूर्ण नै छन् संविधान कार्यान्वयनका लागि। तर तिनको व्यवस्थापन गर्ने जिम्मेवारीमा अहिले प्रधानमन्त्री दाहाल स्वयं छन्। उनमा यी जातीय आन्दोलनलाई देशको मूलधारमा ल्याउने छटपटी पनि देखिन्छ। तसर्थ, नेपालको शान्ति प्रक्रिया देश विदेशका लागि पनि सफलताको एउटा मोडल हुनसक्छ राज्य र विद्राही पक्षबीच कसरी राजनीतिक सहमति गर्ने भन्ने सन्दर्भमा।

बृहत् शान्ति सम्झौताका उपलब्धिहरू पनि कम छैनन्। नेपाल धर्म निरपेक्ष, संघीय गणतान्त्रिक मुलुक भएको छ। राज्यका निकायहरूमा समावेशिताले प्राथमिकता पाएको छ। मूलधारको राजनीति र सामाजिक व्यवस्थाबाट टाढिएका करोडौं नेपालीले पहिलेापल्ट टाउको उठाउने हैसियत पाएका छन् स्वभिमानका साथ आफ्नै देशभित्र। यस्तो दुरगामी र नेपाल राष्ट्रलाई सबैको अपनत्व गराउने अभियानमा सवै राजनीतिक दलले विगत दुई दशकदेखि अनेक आन्दोलन गरे, सम्झौताहरू भए र तिनैको परिणामस्वरुप नेपालको संविधान जारी भएर कार्यान्वयन तहमा छ अहिले। नयाँ संविधानसँगै नयाँ चुनौतीहरू थपिनु स्वाभाविक हुन्छ, जुन अहिले भइरहेको छ।

विगत दस वर्षमा प्राप्त माथिका उपलब्धिहरूलाई संविधानमा लिपिबद्ध गरिँदा यसका नायक गिरिजाप्रसाद कोइराला कसरी आफ्नो जीवनभरको कम्युनिस्ट विरोधी अडान छाडी माओवादी विद्रोहीसँग मिल्न पुगे एक दशकअघि भन्ने विषयको स्मरण गर्नु यो लेखको मुल उद्देश्य हो। मनोदशा, विचार र घटनाक्रमहरूको जोडबाट नै कुनै पनि व्यक्तिले निर्णय गर्छ भने झै उनले पनि २०५८ सालदेखि ०६३ सालसम्म यस्तै उहापोहबच अनेकन् मन्थन गर्दै अन्ततः गणतन्त्रमा जाने निर्णय गरे।

गिरिजाप्रसाद आफ्ना दाजु बिपी कोइरालाको निधनपछि राष्ट्रिय मेलमिलाप र संसदीय व्यवस्थाको हिमायति भएर नेपाली समाजमा स्थापित कांग्रेस नेता थिए दशकौंसम्म। उनको छवि कट्टर कम्युनिस्ट विरोधीका रुपमा थियो नेपालभित्र। उता, माओवादी जनयुद्धका कमान्डर दाहाल तीस वर्षको कठोर संघर्षबाट प्राप्त नेपालको संसदीय व्यवस्था समाप्त गर्ने उद्देश्यबाट अगाडि बढेका थिए हतियारधारी लडाकुमार्फत।

दाहालका लडाकुहरूको मूलभूत उद्देश्य नेपाली कांग्रेस समर्थकलाई मार्ने, अंगभंग पार्ने, तर्साउने र गाउँघरबाट भगाउने थियो। तिनताका कांग्रेस सभापतिको हैसियतले गिरिजाप्रसाद निरन्तर आर्यघाट पुग्थे माओवादीबाट मारिएका आफ्ना कार्यकर्तालाई चारतारे झन्डा ओढाउन। गिरिजाप्रसाद आफ्ना कार्यकर्ताको हत्यामा माओवादीलाई मात्र दोषी देख्दैनथे तिनताका। नेपालको दरबारिया शक्ति र एमाले कार्यकर्ताले प्रत्यक्ष र परोक्षरुपमा दाहालको ‘जनयुद्ध’लाई सघाएको, सहयोग र समर्थन गरेको भनी गिरिजाप्रसादले माओवादी ‘जनयुद्ध’ लाई बु‰थे। गिरिजाप्रसाद भन्थे ‘दिनभर एमाले रात परेपछि माओवादी’ यो बुझिनसक्नुछ नेपालमा ।

राष्ट्रिय सहमतिको अत्तो थापेर तत्कालीन शाही नेपाली सेनालाई राजाले माओवादीविरुद्ध परिचालन गर्न नदिएपछि एमाले, माओवादी र दरबारिया तत्व नेपालको लोकतन्त्र मास्न लागिपरेको सोच कोइरालामा घनिभूत हुनथाल्यो। कुरा त्यतिमा मात्र सीमीत रहेन। उता छिमेकी भारतले पनि माओवादी नेताहरूलाई संरक्षण र सहयोग गरेको विश्वास गिरिजाप्रसादमा बढ्दै गयो। यसरी उनी अब नेपालको प्रजातन्त्र आफूबाहेक कसैले रक्षा गर्न नसक्ने निष्कर्षमा पुगे त्यसबखत। यता नेपालका सीमीत ‘इलिट’ ले चलाएको संसदीय लोकतन्त्र आमनागरिकका लागि आकर्षक थिएन। यसैको फाइदा उठाउँदै तत्कालीन राजा ज्ञानेन्द्रले संसदीय व्यवस्था समाप्त गर्दै आफ्नो निरंकुशता अगाडि ल्याए। नेपालको राजनीतिक परिदृश्य पूरै फेरियो। माओवादीले सुरुमा राजाको सक्रिय नेतृत्वलाई अवसरको रुपमा लिए पनि एमाले निरंकुश राजतन्त्रसँग सहकार्य गर्न तयार भएन। नेपालको राजतन्त्रले ज्ञानेन्द्रको नेतृत्वमा आफ्नो रक्षा गर्न कांग्रेस र बिपी विचार कसैको जरुरत छैन भन्ने प्रस्ट सन्देश दियो गिरिजाप्रसादलाई। यहाँबाट नेपालको राजतन्त्र र संसद्वादी दलबीचको शक्ति सन्तुलन र लेनदेनमा तात्विक फरक पर्न गयो। राजतन्त्रसँग माओवादीले पनि सहकार्य गर्न सकेन र यसरी तत्कालीन राजा ज्ञानेन्द्र एक्लो भए।

गिरिजाप्रसादसँग भारत निर्वासनमा बस्दा राजालाई दबाब दिएका अनेकन् सफल असफल अनुभव थिए विगतका। तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता लिएपछि गिरिजाप्रसादले ज्ञानेन्द्रलाई दबाब दिन त्यही रणनीति अख्तियार गरे झन्डै तीन दशकपछि। एकातिर माओवादी पार्टीका सूत्रधारसँग भेटघाट थाले अर्कोतिर राजासँग पनि वार्ताको बाटो खुला राखे उनले तर राजा पक्षबाट अपमान र निराशा नै भयो। तर यसक्रममा माओवादीले गिरिजाप्रसादलाई सजिलै ‘कन्भिन्स’ गरे आफ्नो पक्षमा पारे। भारत निर्वासनमा रहँदा उनले अपनाएको दबाबको रणनीति नेपालमै सफल भएन। उनी माओवादीसँग वार्ता गरी दरबारलाई तर्साउन चाहन्थे। दरबार त त्यतिखेर तर्सियो जब भारतको दिल्लीमा १२ बुँदे सम्झौता भयो सात दल र माओवादी विद्रोहीबीच। यसैबीच आन्दोलनको लक्ष्य के र कसले निर्धारण गर्ने भन्ने सम्पूर्ण कार्यसूची काठमाडौंबाट भारतको राजधानी दिल्ली पुग्यो।

इतिहासले विचित्रको बाटो लिँदोरहेछ। गिरिजाप्रसाद राजदरबार हत्याकाण्डपछि तत्कालीन राजा ज्ञानेन्द्रलाई कमजोर र दुर्बल ठान्थे। उनी ज्ञानेन्द्र जुन पृष्ठभूमि र घटनाक्रमबाट राजा भएका छन् त्यसबाट राजनीतिक लाभ लिन चाहन्थे। खासगरी माओवादीविरुद्ध नेपाली सेनाको परिचालन गरेर नेपालमा लामो समयपछि पुनर्स्थापित संसदीय व्यवस्था जोगाउने कोइरालाको उद्देश्य थियो। कृष्णप्रसाद भट्टराईलाई तर्साएर प्रधानमन्त्री पदबाट हटाएको औचित्य पनि साबित गर्नु थियो गिरिजाप्रसादलाई यो कार्य गरी। तर होलेरी काण्डबाट कोइराला सर्वस्व गुमाउँदै कमजोर ठानेको राजाबाट प्रताडित भएर बालुवाटारबाट निस्किन बाध्य भए। ज्ञानेन्द्रले गिरिजाप्रसादले सोचेजस्तो दुर्बल राजा हुन मात्र इन्कार गरेरनन् उनले संवैधानिक राजा मात्र भएर आफू टुलुटुलु हेरी नबस्ने भन्नेसम्मको उद्घोष गरे।

ज्ञानेन्द्रको निरंकुशता अघि बढिरहँदा गिरिजाप्रसाद कांग्रेसको एक्लो नेता थिए। उनलाई रोक्ने त्यहाँ कोही थिएन। उनी दाजु बिपीको छायाँबाट मात्र मुक्त थिएनन् कांग्रेस पार्टी निर्माणमा सघाउने बिपीका सहयोद्धाहरूबाट पनि मुक्त थिए त्यतिखेर। यो त्यही समय थियो जब गिरिजाप्रसादलाई आफ्नो इतिहास बनाउने रहर जाग्यो। कतै नयाँ नेपालको इतिहास रच्ने जिम्मेवारी आफैंले गर्नुपर्ने हो कि भनी त्यसप्रति मोह पनि उनमा जाग्यो।

यिनै उहापोहले गिरिजाप्रसादलाई बिपी निर्देशित राष्ट्रियता र मेलमिलापको चोलो च्यात्ने र संसदीय व्यवस्थाविरुद्ध लडिरहेको माओवादीसँग सहकार्य गर्ने ठाउँमा ल्याएको थियो। माओवादीसँग सहकार्यमा पुग्नुअघि मानसिक र राजनीतिक रुपले गिरिजाप्रसादलाई कैयन दिन आफैसँग संघर्ष गर्नु पर्‍यो तिनताका। गिरिजाप्रसादलाई डर एउटा कोणबाट मात्र थिएन। राजासँग सम्बन्ध विच्छेद गरी माओवादीसँग मिली आन्दोलन गर्दा सफल भएमा सो आन्दोलनको सम्पूर्ण श्रेय नेपालमा ‘कम्युनिस्टहरूले हाइज्याक’ गर्ने छन् भन्ने मानसिक खलबली पनि कोइरालामा थियो। तर नेपाल गणतन्त्रमा जान्छ र सबै राजनीतिक दलले सहमति गर्छन् भने त्यसको नेतृत्व लिने लोभ भने गिरिजाप्रसादमा बलियो गरी थियो। र, भयो पनि त्यस्तै।

धेरैजनाले अनुमान गरेभन्दा विपरीत जीवनको उत्तरार्धमा गिरिजाप्रसादमा अनेकन् अर्न्तद्वन्द्वबीच ‘म गिरिजाप्रसाद पनि केही हुँ’ भन्ने भावनाले काम गर्‍यो। बिहानदेखि बेलुकासम्म आफूलाई भेट्न आउने अधिकांश कांग्रेस कार्यकर्ताले राजतन्त्रलाई जोगाउन दिने उपदेशबाट वाक्क भएर गिरिजाप्रसाद बिपीबाहिरको व्यक्तित्व निर्माण गर्ने अवसरको खोजीमा लाग्ने मनस्थिति बनाउन पुगे। ‘सान्दाजुले जे गर्नुभयो, भयो, अब म गर्छु’ यही दृढ वाक्य थियो गिरिजाप्रसादले यो लेखकसँग एक दिन साँझपख शशांक कोइरालाको घरको कौसीमा भनेको । सम्भवतः उनले आफ्नो भित्री मनोदशाबारे यो लेखकबाहेक पनि कैयनसँग सेयर गर्नुभएको थियो त्यसकालमा। तर साँझपख तातिने गिरिजाप्रसादको स्वभाव बिहान हुँदा ‘कुल’ हुन्छ भन्ने उनी निकटस्थ हामीलाई राम्रैगरी थाहा थियो। भयो पनि त्यस्तै।

‘प्रजातन्त्र, संसदीय व्यवस्था, राजतन्त्र, कांग्रेस र यसका कार्यकर्ता समाप्त गर्ने अभियानमा हिँडेका माओवादीसँग कसरी म कुरा गर्नु, भारतले के भन्छ? पश्चिमले के सोच्छ?’ अर्को बिहान कोइराला चियापानमा यही भनिरहेका थिए। एक दिनअघिको साँझ इतिहास निर्माण गर्न तयार गिरिजाप्रसाद भोलिपल्ट बिहान ‘कुल’ भइसकेका थिए। त्यस्तो समय धेरैजसो सुशील कोइराला बढो जोशमा सान्दाजुलाई सम्झनुहुन्थ्यो र कम्युनिस्टहरू कस्ता हुन्छन् भनी गिरिजाप्रसादको अघि बोलिरहनुहुन्थ्यो। इतिहास कस्तो हुँदोरहेछ तिनै सुशील कोइरालाको नेतृत्वमा गणतान्त्रिक संविधान जारी हुनपुग्यो कम्युनिस्टहरूको सहयोगमा।

गिरिजाप्रसादको जीवनमा कुन निर्णायक कारण र क्षण आयो कि उनी जस्तो कट्टर कम्युनिस्ट विरोधी पनि माओवादीसँग मिल्न पुगे र १२ बुँदे हुँदै बृहत् शान्ति सम्झौतासम्म पुगे होलान?

यस विषयमा अनेकन् तर्क गर्न सकिन्छ। तर मलाई लाग्छ विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर गिरिजाप्रसाद आफ्नो पृथक इतिहास निर्माण गर्न चाहन्थे। कैयन पटक आफ्ना कार्यकर्ता माझ उनले ‘मलाई इतिहासको कुनै मतलब छैन, राजनीतिमा शक्ति नै सबैथोक हो’ भनी बोलेका पनि थिए। तर पनि उनी ‘दाजु बिपी कोइराला मात्र सबथोक होइनन्, म पनि इतिहास निर्माणमा अग्रसर हुन सक्छु’ भन्ने गहिरो भावबाट जीवनको उत्तरार्धमा प्रेरित थिए।

नेपालको इतिहासमा गिरिजाप्रसाद ६ पटक प्रधानमन्त्री भए। उनको शासकन काललाई लिएर स्मरण गर्नुपर्ने कुनै कारण विरलै भेटिएला। तर नेपालमा युद्धरत माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर देशको मूलधारको राजनीतिमा समाहित गर्ने श्रेय निसन्देह उलाई जान्छ। यो सत्य नेपाली इतिहासको एउटा कालखण्ड भएर सदा सुरक्षित रहनेछ र गिरिजाप्रसादलाई स्मरण गराइरहनेछ। आज विश्वमा राज्य र विद्रोहीसँग भएका कैयन शान्ति प्रक्रिया असफल भएका उदाहरण छन्। तर बृहत् शान्ति प्रक्रिया नेपालमा सफल भएको मान्नुपर्छ। वास्तवमा शान्ति प्रक्रियाको विश्वव्यापी समीक्षा गर्ने हो भने गिरिजाप्रसाद नोबेल शान्ति पुरस्कारको स्वभाविक हकदार हुनुपर्ने हो। तर किन हो पश्चिमाहरूलेे उनलाई योग्य ठानेनन्। @NagarikNews

प्रकाशित मिति: Nov 20, 2016

प्रतिक्रिया दिनुहोस्