Logo
६ बैशाख २०८१, बिहीबार
(November 13, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डा. गोविन्द केसी आज २ बजेसम्म माग पुरा नभए पुन अनशनमा बस्ने

dr-govinda-k
काठमाडौं, २८ कार्तिक । आज २ बजेसम्म माग पुरा नभए डा. गोविन्द केसी पुन अनशनमा बस्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जका चिकित्सक गोविन्द केसीले आइओएममा वरिष्ठता आधारमा डिन नियुक्ति र मेडिकल शिक्षण शुल्क कार्यान्वयन गर्न सरकारलाई दिएको २४ घन्टाको अल्टिमेटमा आज दिउँसो दुई बजे पुरा हुदैछ ।

डिन नियुक्ति र एमबिबिएस शिक्षण शुल्क कार्यान्वयनमा शिक्षा मन्त्रीसहित त्रिवि उपकुलपति बाधक बनेको आरोप लगाउँदै उनले २४ घन्टाभित्र आफ्ना माग पूरा नभए अनशन थाल्ने शनिबार विज्ञप्ती मार्फत चेतावनी दिएका थिए । डा. केसीले वरिष्ठता आधारमा डिन नियुक्ति नगर्ने चलखेलमा त्रिवि उपकुलपति डा. तीर्थ खनियाँ लागेकाले उनलाई ‘शैक्षिक अपराध’ गरेको आरोपमा पदबाट बर्खास्त गर्नसमेत माग गरेका छन् ।

आइओएम (चिकित्साशास्त्र अध्ययन संस्थान) को डिन पद नौ महिनादेखि रिक्त छ । पटकपटकको अनशन र सम्झौतामा सरकारले वरिष्ठता आधारमा डिन नियुक्ति गर्ने स्विकारे पनि कार्यान्वयन तहमा जान आलटाल गरेपछि केसीले यस्तो अल्टिमेटमा दिएका हुन् । नौ महिनादेखि निमित्त डिनका भरमा चलेको आइओएममा बिहीबारदेखि सो पद पनि रिक्त छ ।

‘म आइतबार २ बजेसम्म पर्खिन्छु, त्यतिबेलासम्म वरिष्ठताकै आधारमा डिन नियुक्त नभए तत्काल सत्याग्रहमा जान्छु,’ विज्ञप्तीमा उनले भनेका थिए । उनले डिन नियुक्त नभए आजनै पत्रकार सम्मेलन गरेर अपरान्हदेखि अनशन सुरु गर्ने तयारी गरेको स्रोतको भनाई छ । चिकित्सासम्बन्धी र अन्य माग पूरा गर्ने सरकारी आश्वासनसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीमाथि महाभियोग प्रक्रिया सुरु भएपछि केसीले नवौं अनशन दसैंको फुलपातीको अघिल्लो दिन स्थगित गरेका थिए । केसीले अख्तियार प्रमुखलाई महाभियोग लगाएर हटाइनुपर्ने माग पनि राख्दै आएका छन् ।

आफूअनुकूल चिकित्सक वरिष्ठमा नपरेपछि खनियाँले डिन नियुक्ति अड्काउँदै आएको आरोप केसीको छ । यसै कारण केसी बढी आक्रामक बनेका हुन् । नवौ अनशनकै बीचमा सरकारका कतिपय मन्त्रीले डिन नियुक्ति वरिष्ठताकै आधारमा गर्न आग्रह गरे पनि उपकुलपति खनियाँले अटेरी गरेपछि उनलाई बर्खास्त गर्नुपर्ने माग थपेका हुन् ।

केसी २०६९ सालमा प्राज्ञिक निकायमा राजनीतिक हस्तक्षेपविरुद्ध पहिलो अनशनमा बसेका थिए । शैक्षिक निकायमा दलीय भागभन्डा आधारमा नभई मापदन्ड बनाएर नियुिक्त गर्नुपर्ने र मापदन्ड नबन्दासम्म वरिष्ठतालाई नै आधार बनाउनुपर्ने उनको माग छ । पहिलो अनशनयता आइओएममा तीन  डिन नियुक्त भइसकेका छन् । वरिष्ठताबाहिरबाट ल्याइएका दुईमध्ये एकलाई बर्खास्त गर्न सरकार बाध्य भएको थियो । पछिल्लोपटक वरिष्ठता सूचीमा परेका चिकित्सक पार्टीनिकट नभएपछि अधिकांश ठूला दल निकट डाक्टरसमेत वरिष्ठताविरुद्ध उभिएका छन् ।

पार्टीनिकट चिकित्सकहरूको दबाब र निजी मेडिकल कलेजको प्रभावमा परेर उपकुलपति खनियाँ वरिष्ठता पन्छाएरै डिन बनाउने पक्षमा देखिएका छन् ।  केसीले डिन नियुक्तिमात्रै नभई सरकार पुराना सम्झौता कार्यान्वयन सट्टा उल्लंघनमा लागेको आरोपसमेत लगाएका छन् । उनले आइतबार २ बजे सम्म वरिष्ठताका आधारमा डिन नियुक्ति र एमबिबिएस र बिडिएस कार्यक्रमको शुल्क अघिल्लो साल कार्यान्वयनमा आए झै कार्यान्वयन गर्न समेत माग गरेका छन् ।

प्रकाशित मिति: Nov 13, 2016

प्रतिक्रिया दिनुहोस्