Logo
२० मंसिर २०७९, मंगलबार
(November 10, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारु प्रतिबन्धकाे नेपालमा पनि असरः नोट साट्न कूटनीतिक पहल

bharu-news

काठमाडौ । भारत सरकारले पाँच सय र एक हजार दरका भारतीय रुपैयाँको नोटमाथि प्रतिबन्ध लगाएपछि त्यसको प्रत्यक्ष असर नेपालमा पनि परेको छ । भारतसँग जोडिएका वीरगन्ज, विराटनगर, भैरहवा, नेपालगन्जलगायत सीमावर्ती ठूला सहरका व्यापारी/व्यवसायीमा यसको ठूलो प्रभाव परेको छ । नोटकै कारण बुधबार सीमावर्ती बजारको कारोबारसमेत प्रभावित भयो ।

त्यसबाहेक भारतीय सेना र भारतका विभिन्न सहरमा काम गर्न जाने नेपालीका परिवार रहेका पश्चिम पहाडी क्षेत्रका स्याङ्जा, बागलुङदेखि सुदूरपश्चिमको अछामजस्ता दुर्गम पहाडी जिल्लामा समेत यसको असर देखिएको छ । ‘रोटीबेटीको सम्बन्ध’ रहेको झन्डै साढे अठार सय किलोमिटर खला सीमा रहेको भारत सरकारको उक्त निर्णयको असर देशका अधिकांश जिल्लामा परेको छ ।

नेपाली नोट लिन आनाकानी

वीरगन्जः भारतमा पाँच सय र एक हजार दरका भारतीय नोटमाथि प्रतिबन्ध लगाइएपछि त्यसको असर वीरगन्जमा परेको छ । पाँच सय र एक हजार दरका भारतीय नोटमाथि प्रतिबन्ध लगाइएका कारण वीरगन्ज र आसपासका व्यपारी र सर्वसाधरण समस्यामा परेका छन् ।
भारत सरकारको घोषणालगत्तै सीमावर्ती भारतीय सहर रक्सौलका व्यपारीले नेपाली नोट पनि लिन आनाकानी गर्न थालेका छन् । यसअघि रक्सौलमा भारतीय व्यपारीले किनमेलका लागि जाने नेपाली व्यपारी र सर्वसाधरणसँग एक सय दरका भारतीय नोट लिँदा तीन रुपैयाँ कमिसन लिँदै आएकोमा बुधबारदेखि भने प्रति एक सय भारुका लागि नेपाली नौ रुपैयाँ थप लिन थालेका छन् ।

‘पहिले रक्सौलमा सामान किनमेल गर्न जाँदा एक सय भारुको सामान किन्दा एक सय ६३ रुपैयाँ’, दिनुपथ्र्यो बुधबार रक्सौलमा सामान किनेमल गरेर फर्किएका वीरगन्ज घडीअर्वाका दिपेश साहले भने, ‘तर आज एक सय भारुको सामान किन्दा नेपाली एक सय ६९ रुपैयाँ दिनु पर्‍यो । यस्तै रक्सौलमा भारु नोटको सटहीको कारोबार गर्दै आएका व्यपारीले बुधबारदेखि भारतीय पाँच सय र एक हजार दरका नोट कम मूल्यमा साट्न थालेका छन् ।
रक्सौलका सटही कारोबारीले भारु पाँच सय दरको नोट भारु चार सयमा र एक हजार दरको नोट आठ सय भारुमा साट्न थालेका छन् । ‘मसँग पाच सय र हजारका गरी १२ हजार भारु थियो’, बुधबार रक्सौलमा गएर भारु नोट साटेका वीरगन्ज रानीघाटका मुन्ना सोनीले भने, ‘रक्सौलमा साट्न जाँदा सटही कारोबारीले पाँच सयको नोट लिएर चार सय र हजारको नोट लिएर आठ सय भारु मात्र दिए ।’
भारत सरकारले अहिले जगेडामा रहेका पाँच सय र एक हजार दरका नोट भारतको बैंक र हुलाकमा जम्मा गराएर साट्न नोभेम्बर १० देखि डिसेम्बर ३० तारिखसम्मको समयसीमा तोकेको छ । पाँच सय र एक हजार दरका नोट साट्न भारतीय आधार कार्ड र परिचयपत्र पनि अनिवार्य पेस गर्नुपर्ने बाध्यकारी नियम लगाएको छ । तर वीरगन्जका व्यपारी र सर्वसाधरणसँग ती दुवै कार्ड नभएका कारण नोट साट्नबाट वञ्चित हुने भएका छन् ।

यही कारण बुधबारदेखि वीरगन्जका व्यपारी र सर्वसधारणले रक्सौलमा गएर बढी कमिसन तिरेरै भारु पाँच सय र हजारका नोट साट्न थालेका छन् ।भारत सरकारले ५ सय र १ हजारको नोटमा प्रतिबन्ध लगाएपछि नेपालगन्ज लगायत पश्चिमका बजार प्रत्यक्ष असर पारेको छ । नेपालगन्ज लगायतमा पश्चिम क्षेत्रका बजारमा रहेको भारतीय रुपयाँ सटही बन्द भएको छ । भारतीय नोटमा प्रतिबन्ध लागेपछि व्यवसायी देखि सर्वसाधारण सम्म आत्तिएका छन ।

समस्यामा नेपालगन्जका व्यवसायी-सर्वसाधारण

नेपालगन्जः नेपालगन्जका व्यवसायी सतिशचन्द्र अग्रवालले बजारमा रहेको भारतीय नोट व्यवस्थापन गर्न समस्या भएको बताउँछन । मार्केटमा अरबौ रुपयाँ छ , यसलाई अब कसरी व्यवस्थापन गर्ने भनेर व्यवसायी देखि सर्वसाधारण समेत चिन्ता छन् – नेपालगन्ज उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष समेत रहेको व्यवसायी अग्रवालले भने भने ।

भारतमा काम गरेर आउने कामदारले ल्याएको पैसा व्यवस्थापनमा सबै भन्दा ठुलो समस्या हुने उनले बताए । सानो पैसा ल्याउदा रिक्स हुन्छ भनेर ५ सय र १ हजारकै नोट लिएर आएका हुन्छ , त्यो सबै कसरी व्यवस्थापन गर्ने, उनीहरु त गाउँका कुना कन्दरामा छन् , कस्ले उनीहरुलाई खबर गर्ने – अग्रवालले भने – मेहनत र पसिनाले कमाएको पैसा अब गर्ने । पहाडि क्षेत्रका व्यवसायी समेत भारती नोट कसरी व्यवस्थापन गर्ने भनेर आफुसँग सल्लाह मागेको अग्रवालले बताए । मध्य तथा सुदुर पश्चिमका सयौ नेपाली भारतका विभिन्न शहर रोजगारीका जाने गरेका छन ।

। उपचारको लागि भारत जाने विरामी र विद्यार्थीलाई नराम्रो असर पर्ने व्यवसायीहरु बताउँछन । पुर्व अध्यक्ष अग्रवालले भारतीय नोट लागेको प्रतिबन्धले नेपालको अर्थतन्त्रलाई समेत प्रभाव पर्ने बताए । अर्का व्यवसायी कृष्ण प्रसाद श्रेष्ठले कामदार र साना व्यवसायी सबै भन्दा बढि प्रभावित हुने बताउँछन । उनले भारतीय नोटको प्रतिबन्धले नेपालीहरु दोहारो मारमा परेको बताए । उनले भारतीय पर्यटकहरु समेत असर पर्ने बताए । उनले बढि मुल्यमा भारतीय नोट बिक्रि वितरण गर्ने कारोवारी समेत ठुलो असर परेको बताए । हिजो सम्म एक लाखको १ लाख ६५ हजार सम्ममा कारोवार भइरहेको थियो आज बुधबारबाट १ लाख ४० हजारमा करोबार हुन थालेको छ – व्यवसायी श्रेष्ठले भने – भएको पैसा सल्टाउन समेत घटाएर दिनु पर्ने अवस्था आएको छ । उनले सिमावर्ती नेपालगन्ज लगायतका बजारका हरेक व्यक्ति सँग भारती ५ सय र १ हजारको नोट रहेको रहेको बताए ।

नेपालगन्ज उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहेको श्रेष्ठले बैकिङ कारोबार गर्नेलाई खासै असर नपर्ने बताए । सिमावर्ती भारतीय बजारमा एकाएक भारतीय रुपयाँ घटाएर व्यवासायीले लिन थालेका छन । पैसा सटही व्यवसाय गर्ने मनिचेन्जर व्यवसायी अझ ठुलो असर पर्ने भएको छ बाकेको खजुराका व्यवसायी नेत्र रानाभाटले भारतीय ५ सय र १ हजारको नोट प्रतिबन्ध सिमावर्ती बाँके, बर्दियाका बजारमा नराम्रो प्रभाव गर्ने बताए । सिमा क्षेत्रमा बस्ने हरेक नेपाली सँग भारतीय ५ सय र १ हजारका नोट भएको हुदा व्यवस्थापन गर्न समस्या पर्ने उनले बताए । भारतीय नोटको व्यवस्थापन सरकार गम्भिर हुनु पर्ने व्यवसायी तथा सर्वसाधरणले बताउँछन ।  नेपालमा समेत ठुलो परिणाम भारतीय नोट रहेकोले व्यवथापनको लागि भारतीय राजदुतावास मार्फत पहल गर्नु पर्ने व्यवसायी अग्रवालले बताए ।

अछाममा पनि असर
अछामः भारु पाँच सय र हजारका नोट प्रतिबन्धित भएपछि त्यसको प्रत्यक्ष असर अछाममा पनि परेको छ । यहाँका युवा भारतमा रोजगारी गरिरहेकाले त्यहाँबाट आउने भारतीय रुपैयाँले नै ग्रामीण अर्थतन्त्र चलिरहेको थियो । भारत सरकारको उक्त निर्णयले अहिले सर्वसाधारणदेखि ठूला व्यवसायीसमेत समस्यामा परेका छन् ।

अहिले अछाममा भारु पाँच सय र एक हजारको कारोबार ठप्प छ । व्यापारीहरूले आफूसँग भएको भारु नोट जम्मा गर्न खोज्दा बुधबार कुनै पनि बैंकले अस्वीकार गरे । व्यापारीले पनि ग्राहकबाट ती नोट नलिएको मंगलसेनका व्यापारी मीनबहादुर बोगटीले बताए । राष्ट्रिय वाणिज्य बैंक मंगलसेन शाखाका प्रबन्धक कृष्णप्रसाद श्रेष्ठले पनि राष्ट्र बैंकले पाँच सय र एक हजार भारुका नोट नलिन भनेपछि बैंकले पनि नोट सटही अस्वीकार गरेको बताए ।

सीमावर्ती बजारमा भारू कारोबार ठप्प

भैंरहवाः भारत सरकारले भारू पाँच सय र एक हजारका नोट प्रयोगमा प्रतिबन्ध लगाएपछि सीमावर्ती बजारमा भारूको कारोबार ठप्प भएको छ । भारत सरकारले गरेको उक्त निर्णयपछि भारतका सबै बैंक दुई दिनका लागि बन्द गरिएका छन् । यससँगै नेपाली सटही व्यवसायी, ठूला व्यापारी एवं सर्वसाधारण आपूmसँग भएका उक्त दरका नोट नसाटिने त्रासमा छन् । नेपाल-भारत सीमावर्ती भैरहवा सुनौली बजारमा त्यसको प्रत्यक्ष असर देखिएको छ । सधैंजसो सामान किन्दा भारू पैसा माग्ने सीमावर्ती भारतीय व्यापारीले बुधबार भारु एक हजार र पाँच सयका नोट अस्वीकार गरे । सुनौलीमा घरायसी सामान लिन पुगेका बुटवल कालिका नगरकी नम्रता ज्ञवालीले भारतीय व्यापारीले ‘बरु नेपाली रुपैयाँ भए हुन्छ’ भनी आफूसँग भएको भारु हजारको नोट नलिएको गुनासो गरिन् ।

बुधबार मात्र एक सय ५० भन्दा बढी मानिस भारू साट्न आएको भैरहवास्थित सिद्धबाबा सटही काउन्टर सञ्चालक रामप्रसाद पोखरेलले बताए । तर, उनीहरूलाई त्यसै फर्काउनुपरेको उनको भनाइ छ । ‘हामी यस्तो जोखिम लिएर पैसा साट्दैनौं, तपार्इंहरू नआत्तिनुहोस् भनेर सम्झाएँ’, उनले भने ।

भारतीय नोट नचल्ने निर्णयले अन्योल
विराटनगरः पाँच सय र हजार रुपैयाँका ठूला दरका भारतीय नोट चलाउन प्रतिबन्ध लगाउने भारत सरकारको निर्णयसँगै आफूसँग भएका यस्ता नोट अब के गर्ने भन्ने विषयमा पूर्वीक्षेत्रका नेपाली अन्योलमा परेका छन् । व्यवसायीहरूले नेपालीसँग भएका यस्ता नोट सटही गर्ने व्यवस्था हुनुपर्ने माग गरेका छन् । नेपालीसँग भएका पाँच सय र एक हजार दरका नोटको व्यवस्थापन वा सटही गर्न नेपाल सरकारको समेत स्पष्ट धारणा नआउँदा यो अन्योल अझ बढेको हो । खासगरी पूर्वका भारतीय सीमावर्ती क्षेत्रबाट रोजगारीका लागि भारत पुग्ने, सीमाक्षेत्रमा सेवामूलक व्यवसाय गर्ने र उपचारका लागि रकम सञ्चित गर्नेहरू अप्ठेरोमा परेका छन् ।

यो निर्णयले उद्योग र व्यवसायमा त्यति ठूलो असर नगर्ने तर २५ हजारसम्म राख्न र कारोबार गर्न पाउने पछिल्लो व्यवस्थाअनुसार धेरै नेपालीसँग पैसा रहेकोले त्यसलाई साट्ने व्यवस्था राष्ट्र बैंकले गर्नुपर्ने बताउँदै मोरङ व्यापार संघका अध्यक्ष पवन शारडाले भने, ‘उद्योगीले बैंकबाट हुने कारोबारमार्फत नै भारतबाट औद्योगिक कच्चा पदार्थ र अन्य वस्तु नेपाल ल्याउने हुँदा त्यसको असर छैन तर पैसा सञ्चित गरेर बसेका सर्वसाधरण भने मर्कामा परेका छन ।’ दसैंतिहारमा भारतबाट उतैको रकम लिएर घर फर्किएका कामदारलाई अझ समस्या भएको अध्यक्ष शारडाले बताए ।

आवश्यकता परे भारतीय रिजर्भ बैंकसँग छलफल गरेर सटहीको व्यवस्था गर्नुपर्ने बताउँदै विराटनगरका उद्योगी तथा उद्योग संगठन मोरङका वरिष्ठ सदस्य नवलकिशोर काबराले भने, ‘भारतमा हुने निर्णयले नेपालमा पनि असर गर्ने भएकोले नियमअनुसार नै रकम राख्न मिलेको अवस्थाका नेपालीको रकम साट्ने व्यवस्था हुनुपर्छ । यसका लागि सरकारले नै भारत सरकारसँग छलफल गर्नुपर्छ ।’अदुवा, रुद्राक्षको दाना र अलैंचीको पूर्वमा ठूलो कारोबार छ । भारतका व्यापारी घरघरमै पुगेर रकम दिन्छन् । यसरी नगदेबाली खरिद गर्दा पनि भारतीय रुपैयाँमा लेनदेन हुने भएकोले किसानसमेत समस्यामा परेका छन् ।

कारोबारमा समस्या
परासीः भारत सरकारले पाँच सय र एक हजारका भारतीय नोट नचल्ने जनाएपछि त्यसको प्रभाव नवलपरासीको सदरमुकाम परासीसहित सीमा क्षेत्रमा परेको छ । त्यसको प्रत्यक्ष मार सटही काउन्टरका सञ्चालक र सर्वसाधारणमा परेको छ । परासी क्षेत्र भारतीय सीमासँग जोडिएको हुँदा दैनिक उपभोग्य सामान लिनका लागि सर्वसाधारणले भारतीय नोट प्रयोग गर्ने गरेका छन् । एक्कासि नोट नचल्ने जनाएपछि सर्वसाधारण चिन्तित बनेका हुन् । भारतसँग सिमाना जोडिएका बजार र गाउँबाट पाँच सय र एक हजारका भारतीय नोट साट्न परासी सदरमुकामका सटही काउन्टरमा बुधबार बिहानैदेखि सर्वसाधारण र व्यवसायीहरूको भीड लागेको थियो । सटही काउन्टरले उक्त दरका नोट नसाटेपछि सर्वसाधरणहरू चिन्तित हुँदै फर्किएका छन् ।

हरि विविध सटही काउन्टर परासीका सञ्चालक अवधेश अग्रवालले बुधबार बिहानदेखि पाँच सय र एक हजार भारु लिएर साट्न आउनेको भीड लागेको बताए । ‘आज मात्र डेढ सयदेखि दुई सय सर्वसाधारणहरू पाँच सय र एक हजारका भारतीय रुपैयाँ लिएर साट्न आएका थिए । नचल्ने भएपछि फर्काएर पठायौं’, अग्रवालले भने । ‘नेपाल राष्ट्र बैंकको भैरहवा शाखाले परासी क्षेत्रका सहटी काउन्टर सञ्चालकलाई बुधबार बोलाएर उक्त दरका नोटको कारोबार नगर्न निर्देशन दिएको सटही काउन्टर सञ्चालकहरूले जनाएका छन् । तर आफूहरूसँग भएका नोट कसरी साटिन्छ भन्नेमा पनि राष्ट्र बैंकले ठोस जवाफ दिन नसक्दा अन्योलसँगै चिन्ता बढेको उनीहरूले बताएका छन् ।

भारुको कारोबार शुन्य

स्याङजाः भारतले मंगलबार रातिदेखि भारतीय पाँच सय र एक हजारका रुपैयाँको प्रयोगमा रोक लगाएपछि बुधबार दिनभर स्याङजाका बजारमा भारतीय रुपैयाँ देखिए । तर ती रुपैयाँबाट कारोबार भने शून्य रह्यो । व्यापारि उधारो दिन तयार रहे तर भारतीय पाँच सय र एक हजारका नोट भने लिन मानेनन् । मंगलबार साँझसम्म भारतीय रुपैयाँ पाँच र एक हजारको नोटबाट कारोबार गरेका यहाँका व्यापारीले बुधबारै बिहानबा उक्त नोट लिन मानेनन् । बर्सौंदेखि सदरमुकाममा बस्दै कारोबार गर्दै आएका भारतीय मूलका एक व्यापारीले पनि ती नोट लिन मानेन् ।

भारु प्रतिबन्धकाे असरः नोट साट्न कूटनीतिक पहल
पाँच सय र एक हजार दरका भारुमाथि प्रतिबन्ध लगाउने भारत सरकारको घोषणापछि नेपालका व्यावसायिक प्रतिष्ठान प्रभावित भएको भन्दै नेपालले भारु नोट सटहीका लागि कूटनीतिक पहल थालेको छ । राष्ट्रबैंकले भारतीय रिजर्भ बैंक र भारत सरकारसँग नोट साट्ने व्यवस्था मिलाउन कूटनीतिक पहल सुरु गरेको हो ।

बुधबार दिनभर भारतीय रिजर्भ बैंक र नेपाल राष्ट्रबैंकबीच संवाद भइरहे पनि भारत सरकारबाट नेपालमा रहेको ती नोटका विषयमा के गर्ने भनी कुनै निर्णय नभएको राष्ट्रबैंकले जनाएको छ । राष्ट्रबैंकका पदाधिकारीले काठमाडौंस्थित भारतीय दूतावासका अधिकारीसँग छलफल गरेपछि नेपालमा रहेको भारतीय रुपैयाँको सटही व्यवस्था गर्न सकिने राष्ट्रबैंकका अधिकारी बताउँछन् ।

भारतले उक्त दरका नोटमा प्रतिबन्ध लगाएसँगै नोभेम्बर २४ अर्थात् मंसिर ९ सम्म प्रतिव्यक्ति चार हजारका दरले नोट साट्ने व्यवस्था मिलाएको छ । भारतले सीमित समयभित्र निश्चित नोट साट्ने सुविधा दिए पनि नेपालमा भने सटहीमा अन्योल रहेपछि कूटनीतिक पहल आवश्यक भएको नेपाल राष्ट्रबैंक विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख भिष्मराज ढुंगानाले बताए ।

हाल नेपाल राष्ट्रबैंकसँग पाँच सय एक हजारका करिब दुई लाख भारु छ । बैंक तथा वित्तीय संस्थाले पठाएको विवरणअनुसार बुधबारसम्म करिब दुई करोड भारतीय रुपैयाँ रहेकोे राष्ट्रबैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले बताए । हाल बजारमा तीन देखि चार करोडसम्म उक्त दरका भारतीय रुपैयाँ रहेको अनुमान राष्ट्रबैंकको छ । ‘विदेशी मुलुकले उनीहरूको नोट नचल्ने भनी प्रतिबन्ध लगाएपछि नेपालमा पनि सो नोट चल्दैन,’ पौडेलले भने । राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थालाई अर्को व्यवस्था नभएसम्म उक्त दरका नोटहरू नसाट्न÷नचलाउन निर्देशन गरेको छ । बैंक तथा वित्तीय संस्थामा भएका तथा सर्वसाधारणले सञ्चित गरी राखेका उक्त दरका नोट साट्न भारत सरकारसँग पहल गरिएको ढुंगानाले बताए ।

बैंक तथा वित्तीय संस्था तथा सर्वसाधारणसँग रहेको भारतीय रुपैयाँ सटही गर्न राष्ट्रबैंकले पहल गरे पनि व्यापारीले भने भारतको पछिल्लो निर्णयले ठूलो मार खेप्नुपारेको छ । ‘१० देखि १५ दिनसम्म भारतसँग व्यापार ठप्प हुन्छ’, महाबौद्धका थोक कपडा विक्रेता गोकुल पौडेल भन्छन्, ‘यहाँ प्रायः हुन्डीबाट कारोबार हुने गरेको छ ।’ सरकारले जतिसक्दो छिटो नेपालमा भएका भारतीय उक्त दरका नोटहरूलाई सटही सुविधा दिनपर्छ । उनका अनुसार हाल नेपालमा करिब दुई अर्बको उक्त दरका नोट छन् ।

भारतले निर्णयले नेपाल त्यति धेरै आत्तिनुपर्ने अवस्थामा नरहेको राष्ट्रबैंकका पूर्वगर्भनर डा. युवराज खतिवडाले बताए । ‘ती नोटहरू केही समयअघि पनि नेपालको चलनचल्तीमा थिएनन्,’ उनले भने, ‘हामी पुनः एकडेढ वर्षअघिको समयमा फर्किएका छौं ।’ अवैध कारोबार तथा कालोधनलाई खिच्न समस्या देखिएपछि विभिन्न मुलुकहरूले बेलाबेलामा यसरी नोट खिच्ने गरेको उनको बुझाइ छ ।
‘अमेरिकालगायत विश्वका धेरै देशले यस्तो अभ्यास गर्दै आएका छन्, यसलाई अवसरका रूपमा लिनुपर्छ’, खतिवडाले भने, ‘व्यापार व्यवसायलाई पारदर्शी, सुरक्षित तथा व्यवस्थित गर्ने मौका यही हो ।’ यसले बैंकिङ कारोबारलाई प्रोत्साहन गरी एलसी खोलेरमात्र कारोबार गर्न बाध्य गराउनेछ ।’

नरेन्द्र मोदी सरकारको नेतृत्वमा आएपछि प्रतिव्यक्ति २५ हजार रुपैयाँ नेपाल बोकेर ल्याउन पाउने सर्तमा नेपालमा डेढ वर्षअघि भारतीय पाँच सय र एक हजारका नोट चल्न थालेका हुन् । भारु पाँच सय र एक हजार नोटमाथिको प्रतिबन्ध अन्य क्षेत्रमा त्यति असर नपरे पनि औषधोपचार, पर्यटन, क्यासिनो, ठूला होटल, हुन्डी कारोबारी, गोरखा सैनिकलाई प्रत्यक्ष असर पर्ने देखिएको छ । एक तथ्यांकअनुसार विश्वबजारमा भारु पाँच सय र एक हजार दरका नोट २२ हजार ६ सय ८८ अर्ब रहेको छ । @अन्नपुर्णबाट

प्रकाशित मिति: Nov 10, 2016

प्रतिक्रिया दिनुहोस्