Logo
१३ बैशाख २०८१, बिहीबार
(September 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीको बोलीः ‘प्रधानमन्त्री प्रचण्ड दर्शक होइन रेफ्री बन्नुपर्छ’

PM Oli News

काठमाडौं । एमाले अध्यक्ष ओलीले सार्कको अध्यक्षता गरेका नाताले तनाव कम गराउन रेफ्रीको भूमिका खेल्नुको साटो प्रधानमन्त्री दाहाल दर्शकको रुपमा पेश भएको आरोप लगाएका छन । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालमाथि दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मा हाल देखिएको तनावका विषयमा निरीहपन प्रस्तुत गरेको आरोप लगाएका छन् ।

अध्यक्ष ओलीले भने, “सार्कका वर्तमान अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल न मैदानका खेलाडी न खेलका रेफ्री हुनुभएको छ, केवल दर्शक मात्र भएर हुँदैन, समाधानमा पहल गर्न सक्ने हुनुपर्छ ।” पार्टीको सम्पर्क समन्वय कमिटीले बिहिवार पार्टी मुख्यालयमा गरेको कार्यक्रममा ओलीले भारत लगायतका मुलुकले पाकिस्तानमा तय गरिएको १९ औं शिखर सम्मेलनमा भाग नलिने घोषणा गरेपछि सार्कको अस्तित्व नै नरहने देखिएको तर यस विषयमा अध्यक्ष राष्ट्रका नाताले गम्भिर भइ ठोस पहल नगरेर नेपालले गल्ती गरेको बताए ।

उनले खेलमा कसले फल ग¥यो र कसले लाइन मिच्यो भनेर हेरी सम्वादमार्फत तनाव घटाउन पहल नगरेर प्रधानमन्त्री दाहालले निरीहता प्रदर्शन गरेको आरोप लगाए । उनले दाहालमाथि सार्कको अध्यक्ष राष्ट्रको भूमिका नै बुझ्न नसकेको आरोप लगाए । नेपाल अहिले सार्कको अध्यक्ष राष्ट्र हो । भारत, बंगलादेश, अफगानिस्तान र भुटानले आगामी नोभेम्बर महिनामा पाकिस्तानको इस्लामावादमा तय गरिएको सार्कको १९ औं शिखर सम्मेलनमा सहभागी नहुने घोषणा गरेपछि सम्मेलन नहुने अवस्था सिर्जना भएको छ ।

अध्यक्ष ओलीले एमालेको नीति, विचार र सिद्धान्त अरु कुनै पार्टीसँग तुलना हुन नसक्ने बताउँदै देशलाई अग्रगामी दिशा र समृद्धि गराउने सम्बन्धमा एमालेको नीति अरुको भन्दा उत्तम भएको दाबी गरे । उनले भने, “एमाले आकाशमा उडेको बाज हो, अरु दल भुइँको बट्इ हुन् ।”

प्रकाशित मिति: Sep 29, 2016

प्रतिक्रिया दिनुहोस्