Logo
१३ बैशाख २०८१, बिहीबार
(September 24, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महन्थको घरमा चोरी गर्नेलाई पक्राउ गर्न गृहमन्त्रीलाई ज्ञापन

tamalopa

काठमाडौं ।  तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको घरमा भएको चोरीका संलग्नहरुलाई अझैसम्म फेला पार्न नसकेको भन्दै पार्टीले गृहमन्त्री विमलेन्द्र निधिसमक्ष ज्ञापनपत्र बुझाएको छ । पार्टीका शीर्षस्थ नेताहरुको टोली शुक्रबार साँझ गृहमन्त्रालय पुगेर ज्ञापनपत्र बुझाएको हो ।

शुक्रबार ज्ञापनपत्र बुझाउन उपाध्यक्षहरु हृदयेश त्रिपाठी, सर्वेन्द्रनाथ शुक्ला, वृखेषचन्द्र लाल तथा सह प्रवक्ता कृष्णसिंह नेतृ चन्दा चौधरी थिए । उनीहरुले बुझाएको ज्ञापनपत्रमा घटना भएको १४ दिनसम्ममा पनि राष्ट्रिय पार्टीको अध्यक्षको घरमा भएको चोरी गर्ने पक्राउ नपर्नु र सुराकसमेत फेला नपर्नु निकै दुःखद विषय भएको बताइएको छ ।

गत भदौ २५ गते भक्तपुरको सानोठिमीस्थित निवासमा ‘महन्थ ठाकुरलाई भेट्नु छ’ भन्दै प्रवेश गरेका पाँच जनाले खुर्सानीको धुलो फ्याँकेर ठाकुरकी छोरी मिनाक्षीलाई खुकुरी प्रहार गर्दै अटैंची बोकेर भागेका थिए । त्यसयता महानगरीय प्रहरी वृत ठिमी र महानगरीय प्रहरी अपराध महाशाखाको संयुक्त टोलीले घटनाबारे अनुसन्धान जारी राखेपनि हालसम्म कुनै उपलब्धि नभएको पाइएको छ ।

त्यस्तै यो घटनाले राजधानीमा बसोबास गरिरहेका मधेसी तथा सीमान्तकृतहरु असुरक्षित महसुस गरिरहेको बताउँदै दोषीमाथि तत्काल कारवाही गर्न माग गरिएको छ । ज्ञापनपत्र बुझ्दै गृहमन्त्री निधिले घटनाबारे आफूलाई जानकारी भएको र घाइतेलाई भेट्न अस्पताल पनि पुगेको जिकिर गरेका थिए ।

‘तर, पछिल्लो समय के भइरहेको छ मलाई अपडेट छैन,’ गृहमन्त्रीको भनाई उद्धृत गर्दै एक नेताले भने, ‘यसबारे अनुसन्धान के भइरहेको छ भनेर बुझ्छु र केही कमजोरी वा त्रुटी भए त्यसलाई सच्याउन तुरुन्तै निर्देशन दिन्छु,’ उनले दोषीमाथि कडा कारवाही हुने आश्वास दिएका थिए ।

प्रकाशित मिति: Sep 24, 2016

प्रतिक्रिया दिनुहोस्