Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 23, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ आचारसंहिता: पत्रकारले सरकारी-गैरसरकारी पुरस्कार लिन नपाउने

press-code-of-conduct

काठमाडौं । नेपाल प्रेस काउन्सिलमा सूचीकृत हुने अनलाइन पत्रिकाहरुको संख्या ३७२ पुगेको छ । अब अनलाइन पत्रिकालाई समेट्ने गरी प्रेस काउन्सिलले नयाँ पत्रकार आचार संहिता-२०७३ जारी गरेका छन् । राष्ट्रपति भवन शीतलनिवासमा एक कार्यक्रमको आयोजना गरी विहीबारदेखि नयाँ पत्रकार आचार संहिता जारी गरिएको हो । अहिलेसम्म पत्रकार आचार संहिता- २०६० लागू हुँदै आएकोमा अब सो आचार संहिता खारेज भएर नयाँ आचार संहिता प्रयोगमा आएको छ ।

आचार संहिताले अनलाइन पत्रिकाहरुलाई पनि समेटेको छ । आचार संहिताको ९ नम्बर बुँदामा ‘पोस्ट डिलिट गर्न नपाइने’ उल्लेख छ । साथै अनलाइनमा सम्प्रेषण भएका टिप्पणी पा प्रतिक्रियाको जिम्मेवारी पनि अनलाइनले नै लिनुपर्ने उल्लेख छ । नयाँ आचार संहिता पुरानोभन्दा लामो आकारको छ । पत्रकार र सञ्चारमाध्यमको कर्तव्य अन्तरगत १५ वटा बुँदाहरु छन् । त्यस्तै पत्रकारले गर्न नहुने काम अन्तरगत पनि १५ बुँदा छन् ।

अनलाइन सञ्चारमाध्यमले बाह्य लिंकहरुको प्रकाशसन गर्दा त्यसको आधिकारिकता हेर्नुपर्ने समेत आचार संहितामा उल्लेख छ ।काउन्सिलले विभिन्न सञ्चारकर्मीसँग छलफल गरेर आचार संहिता जारी गरेको बताए पनि पर्याप्त छलफलविनै जारी भएको कतिपयको गुनासो छ ।

नयाँ आचारसंहिता जारी एवं पुरस्कार वितरण सँगसँगै गरेको काउन्सिलद्वारा जारी नयाँ आचार संहिताको १३ नम्बर बुँदामा भनिएको छ- ‘पत्रकार तथा सञ्चारमाध्यमले पेशागत मर्यादा तथा दायित्वमा प्रतिकुल प्रभाव पर्ने गरी कुनै पनि सरकारी, गैर सरकारी निकाय, व्यापारिक प्रतिष्ठान, संघसंस्था वा व्यक्तिबाट कुनै पनि प्रकारका पुरस्कार, उपहार वा सम्मान वा विशेष सुविधा लिनुहुँदैन ।’

अनलाइनको संख्या ३७२, टीभी च्यानल ८४:

प्रेस काउन्सिलले दिएको जानकारी अनुसार हालसम्म नेपालमा सूचीकृत अनलाइन पत्रिकाको ३७२ पुगेको छ । सूचीकरणमा नपरेका अनलाइनको संख्या पनि अत्यधिक रहेको काउन्सिलका अध्यक्ष बोर्डबहादुर कार्कीले जानकारी दिए । काउन्सिलका अनुसार छापामाध्यम अन्तरगत देशमा ९ सय भन्दा बढी पत्रपत्रिकाले वर्गीकरणका लागि निवेदन दिएका छन् । दैनिक पत्रिका १८० वटा र साप्ताहिक ४६३ छन् । केही पाक्षिक र एउटा अर्धसाप्ताहिक नियमित प्रकाशित हुँदै आएका छन् ।

देशभरि एफएम र रेडियोको संख्या ६ सय नाघेको छ भने ८४ वटा टेलिभिजन च्यानलहरु दर्ता भएका छन् । टेलिभिजनहरुको अनुगमनका लागि प्रेस काउन्सिलले डिभाइस खरिद गर्न लागेको काउन्सिलका सदस्य किशोर श्रेष्ठले जानकारी दिए । पत्रिका र अनलाइनखबरको संख्या थपिँदै गएपछि यसलाई नियमन गर्नुपर्ने चुनौती पनि थपिएको हुनाले त्यसैलाई सम्बोधन गर्न नयाँ आचार संहिता ल्याइएको काउन्सिलका अधिकारीले शीतलनिवासमा आयोजित काउन्सिलको ४७ औं वाषिर्को त्सवमा बताए । पत्रकारहरुले समाजमा विश्वसनीयता बढाउन आत्मसमीक्षा गर्न जरुरी रहेको नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले बताए ।

प्रकाशित मिति: Sep 23, 2016

प्रतिक्रिया दिनुहोस्