Logo
११ बैशाख २०८१, मंगलबार
(September 22, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नरेन्द्र मोदीले त मलाई नै नेता मानेका छन अरुको के कुरा कामरेडहरु !

modi
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमण नेपालको इतिहासकै सर्वाधिक भव्य र उपलब्धिमूलक भएको बताउनुभएको छ ।पार्टीको उच्च तहका नेताहरूलाई भारत भ्रमणबारे जानकारी गराउन गत सोमबार आयोजित बैठकलाई सम्बोधन गर्दै प्रचण्डले उक्त दाबी गर्नुभएको हो । प्रचण्डले भारतमा भएको आफ्नो भव्य स्वागतलाई नेपाली राष्ट्रियता र सार्वभौमिकताको उच्चतम सम्मानको रूपमा लिनुभएको छ ।

दुई मुलुकबीच प्रगाढ मित्रता गाँसिएको र अब भारत र माओवादीबीच कुनै किसिमको भ्रम नरहेको पनि उहाँले कमरेडहरूलाई स्पष्ट गर्नुभएको छ । पार्टीका नेताहरूसँग भ्रमणको भव्यता र उपलब्धिबारे बताइरहँदा प्रचण्ड निकै रोमाञ्चित र उत्साही देखिनुहुन्थ्यो । उहाँले भारतसँग समानताका आधारमा विभिन्न विषयमा सहमति बनेको र राष्ट्रियतामा आँच पुग्ने कुनै काम नभएको पनि पार्टीका नेताहरूसमक्ष स्पष्ट गर्नुभएको छ ।

प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग ‘सबै’ विषयमा खुलेर कुरा भएको बताउँदै आफूबाट मोदीजी निकै प्रभावित हुनुभएको ‘खुलासा’समेत गर्नुभएको छ । मोदीजीले भनेको भन्दै पार्टीका नेताहरूसँग प्रचण्डले भन्नुभएको छ, ‘प्रचण्डजी तपाईं दक्षिण एसियाकै नेता हुनुहुन्छ, तपाईंजति प्रभावशाली मैले अरू कसैलाई देखिनँ, म पनि तपार्इंको व्यक्तित्वबाट प्रभावित छु र तपाईंलाई नेता मान्छु ।’

यसरी नरेन्द्र मोदीजीले आफूलाई गरेको प्रशंसा सुनाउँदै प्रचण्डले भन्नुभएको छ, ‘हेर्नुस् कामरेडहरू, नरेन्द्र मोदीजीले समेत मलाई नेता मान्ने कुरा गर्नुभएको छ, हामीले भारतमाथि अब कुनै शङ्का–उपशङ्का गरिरहनुहुँदैन–पर्दैन । बरु हामीबीच विकास भएको समझदारी र मित्रतालाई कसरी हाम्रो हितमा उपयोग गर्ने हो त्यतातिर हामीले सोच्नुपर्दछ ,खबर घटना र विचारमा छ ।’

प्रचण्डका उपरोक्त अभिव्यक्तिले माओवादी नेताहरूलाई चकित पारेको छ । आफ्नो अध्यक्ष प्रचण्ड ‘महमा लटपटिएको’ महसुसचाहिँ माओवादीका नेताहरूले गरेका छन्, तर मनमा लागेको कुरा जस्ताको त्यस्तै प्रकट गर्ने हिम्मत भने कसैले पनि गरेका छैनन् ।

प्रकाशित मिति: Sep 22, 2016

प्रतिक्रिया दिनुहोस्