Logo
१५ चैत्र २०८०, बिहीबार
(September 21, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसबाट ७ मन्त्री थपिँदै : यी हुन राज्यमन्त्री बन्ने नेताहरु 

ram-chandra-sher-bahadur-deuba

काठमाडौं, ५ असोज ।  कांग्रेसका तर्फबाट मन्त्रिपरिषदमा ७ राज्यमन्त्री थपिने भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीका तर्फबाट ८ राज्यमन्त्री थप गर्ने प्रस्ताव प्रधानमन्त्री पुष्पकमल दाहालसँग गरेका थिए । तर, प्रधानमन्त्री दाहालले मन्त्रालय संख्याको पचास प्रतिशतभन्दा बढी राज्यमन्त्री थप नगर्ने अडान लिएपछि कांग्रेसले ७ राज्यमन्त्री पाउने भएको स्रोतले बतायो । कांग्रेसका भागमा १५ मन्त्रालय छन् ।

माओवादी केन्द्रले लिएका ९ मन्त्रालयमा चार राज्यमन्त्री चयन गरिसकेको छ । कांग्रेसबाट ७ राज्यमन्त्री थप भएपछि वर्तमान मन्त्रिपरिषद ३८ सदस्यीय हुनेछ । हाल कांग्रेसका १५, माओवादी केन्द्रबाट ९ मन्त्री, ४ राज्यमन्त्री र राप्रपाबाट २ मन्त्री छन् । राप्रपाले पनि राज्यमन्त्री पाउनुपर्ने दाबी गर्दै आएको छ ।

प्रधानमन्त्री दाहालसँग खानेपानी तथा सरसफाइ, पशुपक्षी विकास, महिला, बालबालिका तथा समाजकल्याण र विज्ञान तथा प्रविधि मन्त्रालय छन् । साना दलका लागि भनेर ती मन्त्रालय छुट्याइएका हुन् ।

को–को बन्दै छन् राज्यमत्री ?
कांग्रेस सभापति देउवाले राज्यमन्त्रीमा पठाउने नाम छनोटका लागि आफू निकटहरूसँग छलफल अघि बढाएका छन् । प्रधानमन्त्री दाहालको संयुक्त राष्ट्रसंघीय महासभामा जाने कार्यक्रम स्थगित भएपछि देउवा राज्यमन्त्री तत्काल पठाउने तयारीमा लागेका हुन् ।

देउवा निकट स्रोतका अनुसार ७ राज्यमन्त्रीमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहलाई २ जना दिने तयारी छ । देउवाले समावेशी र प्रादेशिक प्रतिनिधित्व हुने गरी नाम छलफलमा ल्याएको बताइएको छ । यसअघि मन्त्री बनाउँदा पार्टीभित्र आलोचना भएपछि राज्यमन्त्रीमा समावेशी बनाउन देउवा लागेका हुन् ।

राज्यमन्त्रीका लागि कैलालीका मीन विश्वकर्मा, दीर्घराज भाट, रूपन्देहीका अब्दुल रज्जाक, मोरङका दिलिप गच्छेदार, गुल्मीका सुवर्ण ज्वारचन, रामेछापका आङतावा शेर्पा, तनहुँका ध्रुव वाग्ले, सुनसरीका सीताराम मेहता चर्चामा छन् ।

पौडेल पक्षबाट काभ्रेका कञ्चनबादे श्रेष्ठ, झापाकी सरिता प्रसाईं, कपिलवस्तुका सुरेन्द्र आचार्य र कास्कीका जीवन परियार चर्चामा छन् । पौडेल पक्षले यिनैमध्येबाट राज्यमन्त्री तय गर्ने स्रोतको दाबी छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रकाशित मिति: Sep 21, 2016

प्रतिक्रिया दिनुहोस्