Logo
१३ बैशाख २०८१, बिहीबार
(September 22, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ट्रेड युनियन महासंघले मजदुरको तलब बढाउन माग

stuf-nepal-13काठमाडौं । समाजवादी ट्रेड युनियन महासंघले श्रमजीवि श्रमिक मजदुरहरूको तलब न्युनतम १९ हजार बनाउन सरकारलाई माग गरेको छ ।

संघीय समाजवादी फोरम, नेपालसम्बद्ध ट्रेड युनियन महासंघले मंगलबार दिउँसो तिनकुनेमा पत्रकार सम्मेलन गरेर सो कुरा माग गरेको हो ।
श्रमिकहरूसँग सम्बन्धित औद्योगिक ऐन, श्रम ऐन, सवारी तथा यातायात व्यवस्था ऐनहरू मजदुरमैत्री समेत नभएको पत्रकार सम्मेलनमा ट्रेड युनियन महासंघले दाबी गरेको छ ।

नेपालको राजनीतिक इतिहासमा श्रमिकहरूलाई भर्याङ मात्र बनाएर नेता हुने र व्यक्ति मोटाउने प्रवृत्तिलाई तोड्नकै लागि समाजवादी ट्रेड युनियन महासंघको गठन भएको अध्यक्ष जोगीलाल यादवले पत्रकार सम्मेलनमा बताए, ‘मजदुरको साँच्चिकै हक, हित र अधिकारका लागि यस ट्रेड युनियन महासंघले कार्य गर्नेछ र मजदुरका क्षेत्रमा कार्यरत अरु ट्रेड युनियनहरूभन्दा यो पृथक भएर कार्य गर्नेछ ।’

मजुदरसँग सम्बन्धित ऐनहरू मजदुरमारा भएको ट्रेड युनियन महासंघका उपाध्यक्ष मृत्युन्जय झाले बताए, ‘समयानुसार ऐन नबन्दा शारीरिक रुपले जोखिमपूर्ण कार्य गर्ने मजदुरहरू जहिले मारमा परिरहेका छन् ।’
‘ऐनमा श्रमिकहरूका लागि सामाजिक कल्याणकारी कोषको व्यवस्था गरिए पनि व्यावहारिक रुपमा कार्यन्वयन हुन छैन,’ उपाध्यक्ष झाले भने, ‘एकातिर ऐनहरू खारेज गर्ने खालका छन्भने अर्कोतिर दक्ष जनशक्ति उत्पादनमा सरकारको कुनै ठोस नीति र कार्यक्रम छैन । जोखिमपूर्ण शारीरिक श्रम गर्ने मजदुरको भत्तासहित मासिक वेतन ९ हजार सात सय रुपैयाँ मात्र छ । यो अर्को दुःखद कुरा हो ।’

सार्वजनिक भाडाका सवारी साधनहरूमा भएको बेथिति यातायात मालिक र सरकारका कारणले उत्पन्न भएको ट्रेड युनियन महासंघका सचिव यज्ञकुमार राईले आरोप लगाए । यातायातमा काम गर्ने मजदुरहरूमाथि सवारी तथा यातायात व्यवस्था ऐनको नाममा अन्याय गरेको र मान्छे मार्न उद्यत देखिने सचिवले राईले दाबी गरे, ‘गाडीको ठक्करले मृत्य भएमा ड्राइभरलाई २ वर्ष कैद र २ लाख जरिवाना जबकि अंगभंग भएमा २ वर्ष कैद र ८ लाख जरिवानाको व्यवस्थाले सरासर मान्छे मार्न उद्यत खालको ऐन बनेको प्रष्ट छ ।’

महासंघद्वारा जारी विज्ञप्तीमा सात बुँदे मागहरू समेटिएका छन् । सात बुँदेमध्ये अन्तिम बुँदामा संविधान पुनर्लेखनको समेत माग उल्लेख गरिएको छ । जसमा मजदुरको तलब बृद्धिदेखि ऐनहरूको संशोधन, मजदुरका परिवारको शिक्षा, स्वास्थ्य, शिक्षा, सुरक्षालगायतका सवालहरू छन् ।
पत्रकार सम्मेलनमा अध्यक्ष जोगीलाल यादवसहित उपाध्यक्षहरूमा विन्देश्वरराय यादव, हेमन्त मान्डव्य, मृत्यून्जय झा, महासचिव डी बी सरोज राई, उपमहासचिव दयाराम राई, सचिव यज्ञकुमार राई, कोषाध्यक्ष शोभा मण्डललगायत मजदुर नेताहरूको उपस्थिती रहेको थियो ।

 

जोगीलाल यादवको अध्यक्षतामा ४९ सदस्यीय समाजवादी ट्रेड युनियन महासंघको गठन
संघीय समाजवादी फोरम, नेपालसम्बद्ध समाजवादी ट्रेड युनियन महासंघको केन्द्रीय तदर्थ समितिको गठन जोगीलाल यादवको अध्यक्षतामा गत शनिबार भएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवसहित सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्ष हेमराज राई, महासचिव रणध्वज कन्दङ्वासहितको उपस्थितीमा  ४९ सदस्यीय महासंघको गठन ससफो नेपालको केन्द्रीय कार्यालय तिनकुनेमा भएको हो ।

मधेसी जनअधिकार फोरम नेपाल, संघीय समाजवादी पार्टी, नेपाल र खस समावेशी राष्ट्रिय पार्टी नेपालबीच सन् २०१५ जुन १५ तारिखमा एकीकरण भई संघीय समाजवादी फोरम, नेपालको स्थापना भएको थियो । पार्टी स्थापनाको लगभग १४ महिनापछि मात्र समाजवादी ट्रेड युनियन महासंघको गठन भएको छ ।

महासंघको केन्द्रीय अध्यक्षमा जोगिलाल यादव, उपाध्यक्षहरूमा विन्देश्वरराय यादव, हेमन्त मान्डव्य, मृत्यून्जय झा, प्रेम भुजेल चयन भएका छन् । त्यस्तै डीबी सरोज राईलाई महासचिवको जिम्मेवारी दिइएको छ । महासंघको उपमहासचिवमा बलराम चौधरी, दयाराम राई र भरत ठाकुर छन् । सचिवमा यज्ञकुमार राई, वासुदेव यादव राम बेलास यादव, मनकला लिम्बू र कोषाध्यक्षमा शोभा मण्डल चयन भएका छन् ।

सदस्यहरूमा रञ्जित गोस्वामी, बेचन मण्डल, साजन घतानी, टेकबहादुर मानन्धर, अशोक मरिक, गिरीराज राई, सुर्यनारायण यादव, नविन यादव, रामनिवास कुर्मि, सञ्जय झा, राजकुमार मेहता, सरोज आठपहरिया, भवानी दाहाल, राधाकृष्ण रौनियार, जोखन चौधरी, यज्ञबहादुर थापा रहेका छन् ।

प्रकाशित मिति: Sep 21, 2016

प्रतिक्रिया दिनुहोस्