Logo
१३ बैशाख २०८१, बिहीबार
(September 15, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री पुष्पकमल दाहाल भारत प्रस्थान

pm-dahal-india-visit-02
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल गणतन्त्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा छिमेकी मुलुक भारतको चार दिने राजकीय भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्नुभयो ।

उहाँका साथमा प्रधानमन्त्री दाहालका पत्नी सीता दाहाल, भ्रमण दलमा रहनुभएका परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक पनि प्रस्थान गर्नुभयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री दाहाललाई सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा, मन्त्रीगण, संवैधानिक अङ्गका प्रमुख, मुख्य सचिव, सरकारका उच्चपदस्थ अधिकृत तीनवटै सुरक्षा निकायका प्रमुखलगायतले बिदाइ गर्नुभएको थियो ।

सो अवसरमा उहाँलाई सांसद तथा नेकपा (माओवादी केन्द्र)का नेता तथा कार्यकर्ताले पनि बिदाइ गर्नुभएको थियो । सोही अवसरमा नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्री दाहालको सम्मानमा सम्मान गारथ अर्पण गरेको थियो ।

नयाँ दिल्लीमा रहँदा प्रधानमन्त्री दाहाल भारतका राष्ट्रपति प्रणव मुखर्जीका राजकीय पाहुनाका रुपमा राष्ट्रपति भवनमा बस्नुहुने छ । प्रधानमन्त्री दाहालले भोलि शुक्रबार आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग औपचारिक बैठकमा भेटघाट गर्नुहुने कार्यक्रम रहेको छ ।

सोही दिन प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति मुखर्जीसँग भेटघाट गर्नुहुने छ । राष्ट्रपति भवनमा भोलि नै आयोजना हुने स्वागत समारोहमा प्रधानमन्त्री सहभागी हुनुहुने कार्यक्रम रहेको छ । भोलि बिहान प्रधानमन्त्री दाहाल राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा गई उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्नुहुने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री दाहाल भारतको मैत्रीपूर्ण राजकीय भ्रमण पूरा गरी आगामी असोज २ गते स्वदेश फर्कनु हुनेछ ।

प्रकाशित मिति: Sep 15, 2016

प्रतिक्रिया दिनुहोस्