Logo
८ बैशाख २०८१, शनिबार
(September 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘राष्ट्रहित बाहेक केही सम्झौता गरिँदैन’ संविधान संशोधनको विषय उठ्दैन’

फाइल तस्विर
फाइल तस्विर

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणलाई लिएर आशंका नगर्न आग्रह गरेका छन् । उनले भने, ‘प्रचण्ड वा पुष्पकमल जान लागेको पनि होइन । प्रधानमन्त्री जाने हो । राष्ट्रहित बाहेक सोच्न सकिँदैन ।’

प्रधानमन्त्रीको आसन्न भारत भ्रमणबारे छलफल गर्न आइतबार बोलाइएको श्रम तथा अन्तराष्ट्रिय सम्वन्ध समितिमा एमाले नेता भीम रावलको प्रशनको जवाफ दिदै प्रधानमन्त्रीले एमाले नेता रावलको नामै लिएर भने, ‘तपाई टेन्सन नलिनुस, नेपाल राष्ट्रको हित बाहेक केही गरिँदैन ।’ प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणका क्रममा नेपाल–भारत सम्वन्धको नयाँ अध्याय खुल्ने विश्वास व्यक्त गरे ।

विधान जारी गर्ने क्रममा नेपाल भारतको सम्वन्ध तितो–मिठो भएको स्वीकार गर्नुपर्ने भन्दै उनले भने, ‘विगतको समिक्षा गर्ने र त्यसबाट शिक्षा लिएर आगाडि जाने सोचका साथ म भारत जाँदैछु ।’  प्रधानमन्त्री दाहालले आफू दुई मुलुकको सम्बन्धमा नयाँ आयाम थपिने विश्वाससहित भारत जान लागेको बताए । उनले नयाँ सम्झौता गर्नेभन्दा पनि यसअघि भएका सम्झौतालाई गतिशीलता दिनु र दुई मुलुकबीच विश्वासको बलियो आधार बनाउनु नै भ्रमणको मुख्य उद्धेष्य रहेको बताए ।

प्रधानमन्त्री दाहालले गत वर्ष दुई मुलुकको बीचमा चिसोपना आएको तथ्य लुकाएर नलुक्ने भन्दै छिमेकीसँगको सम्बन्ध विगारेर मुलुकको हित हुन नसक्ने बताए । उनले छिमेकी कहिल्यै बदल्न नसकिने भएकाले सम्बन्ध सुधारका लागि गत वर्ष चिसोपना बढ्नुका विषयमा भारत भ्रमणमा समीक्षा हुने बताए ।

बैठकमा नेकपा एमालेका सांसद् भीम रावलले जोखिम मोलेर सम्झौता गर्नभन्दा यसअघि भएका सम्झौताको कार्यान्वयन, सीमा क्षेत्रमा हुने हस्तक्षेप र डुबानको समस्याका विषयमा कुरा उठाउन आग्रह गरे भने मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका सांसद् जीतेन्द्र देवले सम्बन्ध सुधारका लागि क्रमभंग गर्न आवश्यक रहेको भन्दै खुट्टा नकमाउन सुझाव दिएका थिए । बैठकमा समितिका अन्य सदस्यहरुले प्रधानमन्त्री दाहालको भारत भ्रमणबाट दुई मुलुकको सम्बन्ध सुधार हुनेमा आफूहरु आशावादी रहेको बताएका थिए ।

भारत जानु अघि मधेसलाई सम्बोधन
प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणबारे छलफल गर्न २८ गते सर्वदलीय बैठक राखेको समितिलाई जानकारी दिए । त्यसअघि सोमबार मधेस जाने कार्यक्रम रहेको उनले जानकारी दिए हुन ।

प्रचण्डले भने, ‘मधेसी जनताको विश्वास आर्जन गर्न चाहन्छु र मधेसलाई सम्बोधन गर्न मधेस जाँदैछु ।’ संघीय गठवन्धनसँग भएको सहमति कार्यान्वयनको चरणमा रहेको भन्दै उनले संविधान संशोधनको तयारी भइरहेको बताए ।

साथै संविधान संशोधनमा एमालेले पनि सहयोग गर्ने विश्वास व्यक्त गरे । माओवादी अध्यक्ष समेत रहेका प्रचण्डले भने, ‘मसँग फर्मुला छ, जुन मैले बाहिर भनेको छैन । त्यो फर्मुलामा एमाले नआई सुख्खै छैन ।

‘भारत भ्रमणमा संविधान संशोधनको विषय उठ्दैन’
यस्तै, परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतले आफ्नो र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा संविधान संशोधनको विषयमा कुनै छलफल नहुने प्रष्ट पारेका छन् । महतले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा पञ्चेश्वर परियोजनाको कार्यान्वयन, भारतसँग विद्युत ब्यापार सम्झौता, हुलाकी राजमार्ग निर्माण अघि बढाउने लगायतका विषयमा छलफल हुने बताए ।

भारत भ्रमणका लागि आइतबार नयाँ दिल्ली जाने क्रममा त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री महतले संविधान संशोधनको विषयमा भारतमा छलफल नै नहुने बताए । ‘संविधान संशोधनको कुरा म र भारतीय विदेश मन्त्रीबीच कुनै पनि छलफल हुँदैन। यो विषय नेपालकै संसदले गर्छ । भारतमा चर्चा नै हुँदैन’ उनले भने ’संविधान संशोधन नेपालका राजनीतिक दलको सहमति अनुसार हुन्छ । यसमा सरकारले बाह्य पक्षसँग कुनै परामर्श सरसल्लाह गर्दैन ।’

त्यस्तै भारतले सीमा क्षेत्रमा बनाएका बाँधका कारण नेपालका तराईको भूमि डुबानमा परेकाले यस विषयमा प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा छलफल हुने बताए । भूकम्प पीडितलाई सरकारले दिने थप एक लाख अनुदान भारत सरकारसँग सहयोग माग्ने भन्ने चर्चाका विषयमा सोधिएको प्रश्नमा परराष्ट्र मन्त्री महतले भारत तयार भए त्यस विषयमा छलफल हुन सक्ने बताए ।

‘भारतले दाता सम्मेलन हुँदा प्रतिवद्धता जनाएको रकम कुन तबरले कार्यान्वयन गर्ने भन्ने विषयमा प्रधानमन्त्रीको भारत भ्रमणमा छलफल हुन्छ’ उनले भने ‘भूकम्प पीडितलाई अनुदान रकम थप गर्न भारत इच्छुक देखिए त्यसमा पनि छलफल हुन सक्छ।’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भदौ ३० गते हुने भारत भ्रमणको तयारीका लागि परराष्ट्र मन्त्री महत आइतबार भारत प्रस्थान गरेका हुन् । उनले सोमबार दिउँसो भारतीय विदेश मन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति: Sep 11, 2016

प्रतिक्रिया दिनुहोस्