Logo
१३ बैशाख २०८१, बिहीबार
(September 9, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानन्यायाधीश कार्कीको गुनासो: प्रतिबद्ध भएर काम गरेपनि जस पाइनँ

Sushila Karki File

काठमाडौं २४ भदौ  ।  प्रधानन्यायाधीश सुशिला कार्कीले आमजनतालाई न्याय दिने मामिलामा प्रतिबद्ध भएर काम गरेपनि आफूले जस पाउन नसकेको गुनासो गरेकी छिन् । उनले नेपालमा राम्रो काम गर्दा वाचुञ्जेल जस नदिने र मरेपछि प्रसंशा गर्ने चलन रहेको भन्दै विरामी बिदा नलिइ फटाफट फैसला गर्दा पनि आफूलाई कानून व्यवसायीहरुले जस दिनुको साटो छिटो फैसला गरेको भनेर आलोचना गर्ने गरेको बताइन ।

कार्कीले २ महिना पहिले प्रधानन्यायाधीशमा नियुक्त हुनुअघि न्यायाधीशकारुपमा साँढे सात वर्षको अवधिमा ८ हजार ७ सय ६४ वटा मुद्दा फैसला गरेकी थिइन । प्रधानन्यायाधीश कार्कीले शुक्रबार काठमाडौमा सुरु भएको कानून व्यवसायी महिलाको २५ औं राष्ट्रिय सम्मेलनको उद्घाटनका क्रममा आफूले कानून व्यवसायीहरुबाट जस पाउन नसकेको बताइन् ।

उनले मुद्दाको फैसलालाई प्राथमिकता दिएर काम गर्दा कानून व्यवसायीहरुबाट भएको आलोचनालाई आफूले डायरीमा उतारेर राखेको र अवकाशपछि सार्वजनिक गर्ने बताइन । प्रधानन्यायाधीश कार्कीले मुद्दाहरुको फैसला गर्ने क्रमलाई तिब्रता दिन अदालत एक्लैले नसक्ने बताइन । उनले फछ्र्योट गर्न बाँकि मुद्दाहरुको फैसलालाई तिब्रता दिन सर्वोच्चले दुई वर्षपहिले ४ सय ५० जना कर्मचारी माग गरेको तर सरकारले अहिलेसम्म माग गरिएका एउटै कर्मचारी उपलब्ध नगराएको बताइन ।

कर्मचारीको अभावमा सर्र्वोच्चमा करिब १४ सय मुद्दाको फैसला लेख्ने काम बाँकि रहेको उनले बताइन् । कार्यक्रममा प्रधानन्यायाधीश कार्कीले महिला कानून व्यवसायीहरुलार्ई वैतनिक वकिलमा नियुक्तिका लागि आफूले पहल गर्ने र यसमा नेपाल बार एशोसियशनले साथ दिनुपर्ने बताइन् । नेपाल बार एशोसियशनको आयोजनामा सुरु भएको सम्मेलन दुई दिनसम्म चल्ने छ । सम्मेलनमा महिला कानून व्यवसायीहरुले भोग्दै आएका समस्या र कानूनी पेशामा देखापरेका चुनौतिबारे छलफल गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति: Sep 9, 2016

प्रतिक्रिया दिनुहोस्