Logo
८ बैशाख २०८१, शनिबार
(August 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आन्दोलनको एक वर्ष: सुध्रँदै नागरिक–प्रहरी सम्बन्ध

Madhesh Andolan

सप्तरी ।  आन्दोलन क्रममा दिनहुँजसो प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच झडप हुन्थ्यो । दुवै पक्षले एकअर्कालाई देख्नेबित्तिकै बैरीको जस्तो नजरले हेर्थे । ६ महिना लामो आन्दोलनले सम्बन्धमै दरार उत्पन्न भएको थियो । तर, बिस्तारै त्यो तिक्तता कम हुँदै गएको छ । पछिल्ला दिनमा नागरिक–प्रहरी सम्बन्ध सुध्रिँदै गएको हो ।  आन्दोलन सुरु भएको एक वर्ष बित्यो । आन्दोलनका दिनमा परस्पर विरोधी देखिएका स्थानीय र प्रहरीबीच सम्बन्ध पहिलाको भन्दा निक्कै सहज छ । प्रहरी कार्यालयमा प्रवेश सहज भएको छ । आन्दोलनकारी दलका नेताहरू पनि प्रहरीसित हातेमालो गरी जिल्लामा अपराध नियन्त्रण र नागरिक मैत्री प्रहरीका कार्यक्रममा सहभागी हुन थालेका छन् ।

मधेस आन्दोलनका बीचमा जिल्लाको सुरक्षा अवस्था नराम्ररी बिग्रिएका बेला यहाँको प्रहरीको नेतृत्व सम्हालेर आएका एसपी भीमप्रसाद ढकाल भन्छन्, ‘अहिले नागरिक र प्रहरी समबन्ध अत्यन्तै सुमधुर भएको छ, नागरिकका तर्फबाट प्रहरीलाई अपेक्षा गरेअनुरूपको सहयोग भइरहेको छ । प्रहरीले पनि जन अपेक्षाअनुरूप जेनरल पुलिसिङका कुरालाई बढी प्राथमिकतासाथ अघि बढाइरहेको छ ।’ ‘आन्दोलनका बेला एकले अर्कालाई देख्नेबित्तिकै असहज स्थिति उत्पन्न हुने अवस्था थियो,’ ढकालले ती दिन सम्झिए, ‘तर अहिले त्यस्तो अवस्था छैन, नागरिक–प्रहरी सम्बन्ध गाढा भएको छ ।’

आन्दोलनको स्वरूप परिवर्तन हुनेबित्तिकै प्रहरीले विस्थापित चौकी पुनस्र्थापित गराएको छ । गाउँ स्तरमा प्रहरीको उपस्थिति बढाएर स्थानीयसँग प्रत्यक्ष संवादको वातावरण बनाइएपछि सम्बन्धमा सुधार आएको ढकालको बुझाइ छ । आन्दोलनको स्वरूप परिवर्तन हुने बित्तिकै सप्तरी प्रहरीले गाउँ स्तरमा नागरिक सुनुवाइ कार्यक्रम गर्दै प्रहरीप्रति जनताको गुनासो संकलन गर्ने, घरदैलो अभियान, तस्करी नियन्त्रण, साना हतियारका कारोबारीमाथि नियन्त्रणलगायत सञ्चालन गर्‍यो । सिरियल अपराध गर्नेहरूलाई पक्राउ, फरार अपराधी पक्राउ, प्रहरी कार्यालयमा दलाल प्रवृत्ति निषेध र जनतासित सुमधुर समबन्ध बनाउने प्रहरी एकाइलाई पुरस्कृत गर्ने अभियान सञ्चालन गरेपछि प्रहरी र जनता नजिकिएको उनले बताए । यो अवधिमा नागरिकमैत्री प्रहरी र प्रहरी मेरो साथी कार्यक्रमले पनि प्रहरी र नागरिक एकै ठाउँ उभ्याउन मद्दत मिलेको छ । 

‘प्रहरी राज्यको अंग हो र मधेस आन्दोलनका बेला राज्यले आन्दोलनकारीमाथि दमनको नीति अख्तियार गरेको थियो,’ मधेसी मोर्चा सप्तरीका पूर्वसंयोजक गजेन्द्र मण्डलले भने, ‘तर आन्दोलनको स्वरूप परिवर्तन भएसँगै प्रहरीबाट जनतामाथि दमन गर्ने नीति बदलिनु, प्रहरी मेरो साथी लगायत जनतासित सिधा जोडिने कार्यक्रम सञ्चालन गरिनु लगायत कारणले पछिल्लो समय प्रहरी र नागरिकबीचको सम्बन्धमा सुधार आएको छ ।’ आजको कान्तिपुरमा अवधेश झाले रिर्पोट लेखेका छन ।  आन्दोलनका बेलामा उठेका मागहरू बिस्तारै छलफलबाट समाधान गर्दै जाने गरी नयाँ सरकारको निर्माण भएपछि जनता र प्रहरीबीचको दूरी कम भएको कांग्रेस सप्तरीका सभापति दिनेशकुमार यादवले बताए ।

प्रकाशित मिति: Aug 30, 2016

प्रतिक्रिया दिनुहोस्