Logo
१२ बैशाख २०८१, बुधबार
(August 22, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेश समस्यालाई सामाधान गर्न छिट्टै संसदमा संशोधन विधेयक दर्ता !

PM With Madhesi Neta

काठमाडौं, ६ भाद्र । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले सबै दलसँग छलफल गरी छिट्टै संसदमा संशोधन विधेयक दर्ता गराउने पक्षमा आफू रहेको बताएका छन् । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका मधेशी नेताहरुसँगको छलफलको क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो धारणा व्यक्त गरेका हुन् ।

उनले मधेश आन्दोलनका शहीद, घाइते र सीमांकन लगायतका अधिकांश मागहरुको बारे गठबन्धनका नेताहरुसँग एक दुई दिनमै छलफल गरिने बताए । छलफलबाट संसदमा विधेयक दर्ता गर्ने पहल भइरहेको बताउँदै यसको पक्षमा सकारात्मक वातावरण बनाउन भेटघाटमा आएका मधेशी नेताहरुलाई उनले अनुरोध गरेका थिए ।

बालुवाटारमा भएको भेटघाटको क्रममा मधेश आन्दोलनका समसमाहिक विषय र तराई–मधेशका समस्याबारे मधेशी नेताहरुको टोलीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो । संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउतको नेतृत्वमा प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान पुगेको टालीले मधेशका विभिन्न विषयहरुको बारेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

प्रधानमन्त्रीसँगको भेटघाटमा उपाध्यक्ष राउतले मधेश आन्दोलनको क्रममा घाइते भएकाहरुको उपचार, लगाइएका विभिन्न झुठा मुद्दा लगायत मागहरुको बारेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । टोलीमा सहभागी रहेका पार्टीका पर्सा जिल्ला अध्यक्ष प्रदीप यादवले आन्दोलनको क्रममा प्रशासनद्वारा गरिएको ज्यादतीको बारेमा अवगत गराएका थिए ।

नेता यादवले ओली सरकारद्वारा पर्साबासी र वीरगन्जका व्यापारीहरुसँग गरिएको पूर्वाग्रही व्यवहारबारे वर्तमान सरकारको सुधारात्मक पहलको आवश्यकता रहेको औल्याउँदै जिल्लाका विभिन्न समस्याहरुको बारेमा पहल गर्न समेत अनुरोध गरेका थिए । सांसद अभिषेक प्रताप शाहले सीमामा सुरक्षाकर्मीहरुबाट दिनहु गरिएको ज्यादतीहरुको बारेमा भारत भ्रमणको क्रममा सरकारबाट कडारुपमा उठाउन प्रधानमन्त्रीसगं अनुरोध गरेका थिए ।

प्रकाशित मिति: Aug 22, 2016

प्रतिक्रिया दिनुहोस्