Logo
१३ बैशाख २०८१, बिहीबार
(August 22, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रुट कायम नभएका सडकमा गाडी चलाउन रोक

Rut Bus

६ भदौ, म्याग्दी ।  म्याग्दीमा स्थानीय प्रशासनले रुट कायम नभएका सडकमा सार्वजनीक सवारी साधन सञ्चालन गर्न रोक लगाएको छ । यातायात ब्यवस्था कार्यालयले म्याग्दीमा बेनी–जोमसोम बाहेकको सडकमा सवारी सञ्चालनका लागि अनुमती (रुट) कायम गरेको छैन् ।

बेनी–दरवाङ, बेनी–बरङ्जा, बेनी–पाखापानी, गलेश्वर–भगवती, महभिर–हिस्तान–राम्चे, पोखरेबगर–शिख, रत्नेचौर–भकुण्डे, बेनी–भकिम्ली, दरवाङ–ताकम, दरवाङ–बिम लगायत रुट कायम नभएका सडकमा सार्वजनीक यातायात सेवा ठप्प भएको छ ।

जिल्ला प्रहरी कार्यालयले रुट कायम नभएका सडकमा सवारी सञ्चालन नगर्न निर्देशन दिएपछि सोमबारदेखि म्याग्दीको बेनी–जोमसोम बाहेकका सडकमा सार्वजनीक यातायात सेवा बन्द भएको छ ।  प्रहरीको निर्देशनपछि रुट कायम नभएको सडकमा भाडाका गाडी नचलाइएको म्याग्दी जिप तथा बस सञ्चालक समितिका सदस्य नगेन्द्र केसीले बताए ।

म्याग्दीको ग्रामिण सडकमा म्याग्दी जिप तथा बस सञ्चालक समितिका डेढ सय वटा माईक्रोबस, मिनीबस र जिप तथा म्याग्दी ट्याक्सी ब्यवसायी समितिका एक सय वटा ट्याक्सीले यात्रुलाई यातायात सेवा दिदै आएका छन् । प्रहरीको आकस्मीक निर्देशनपछि भाडाका सवारी साधन नचल्दा काम बिशेषले यात्रा गर्नुपर्ने सर्वसाधारण अलपत्र परेका छन् ।

रुट कायम भएका सडकमा परमिट भएका सवारी साधन मात्र सञ्चालन गर्न पाईने नीतिगत ब्यवस्था कार्यान्वयनका लागि ब्यवसायीलाई निर्देशन दिएको प्रहरी नायव उपरिक्षक विश्वराज खड्काले बताए । प्रहरीले आईतबार यातायात ब्यवसायीहरुलाई कार्यालयमा बोलाएर रुट कायम नभएका सडकमा परमिट नभएका सार्वजनीक सवारी सञ्चालन नगर्न निर्देशन दिएको थियो ।

कच्चि र रुट कायम नभएको सडकमा लापरबाही गरेर थोत्रा सवारी सञ्चालन गर्दा दुर्घटना बढेपछि मन्त्रालयबाट रुट परमिट भएका सडकमा मात्र सार्वजनीक यातायातका साधन सञ्चालन गर्न पाईने ब्यवस्था कडाईका साथ कार्यान्वयन गर्न निर्देशन आएको प्रनाउ खड्काले बताए ।उनले निर्देशन कार्यान्वयन गर्न ट्राफिक प्रहरी परिचालन गरेर चेकजाँच गरिने बताए ।

प्रकाशित मिति: Aug 22, 2016

प्रतिक्रिया दिनुहोस्