Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पार्टी नेतृत्व कथित उच्च जातिय बनेको भन्दै तमलोपामा तीव्र विवाद !

Tamalopa

काठमाडौं । मधेशी मोर्चा आवद्ध तराई मधेस लोकतान्त्रिक पार्टी भीत्र सांगठनिक संरचना असमावेशी भएको भन्दै चरम असन्तुष्टि देखिएका छन । कथित उच्च जातिको बाहुल्य रहेको पार्टीका रूपमा परिचित तमलोपाले गत साउन ३० गते केन्द्रीय समितिलाई पूर्णता दिँदै सार्वजनिक गरेको सूचीप्रति असन्तुष्टि बढेको छ हो । उक्त सूची समावेशी र समानुपातिक नभएको आरोप लागेको छ । साउन २० गते सार्वजनिक सूची सच्याउन भन्दै देशभरिबाट अध्यक्ष महन्थ ठाकुरसहित नेतालाई तीव्र दबाबसमेत परेको एक जना केन्द्रिय नेताले बताए ।

ठाकुरविरुद्ध महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिने तयारी गर्ने चौधरीलाई केन्द्रीय सदस्य मनोनीत गरिएको छ भने यसअघि पनि महामन्त्री जितेन्द्र सोनललाई केन्द्रीय सदस्य बनाइएको छ । तर, यसअघि केन्द्रीय समितिमा मात्रै रहेका बृजेशकुमार गुप्ता र जंगीलाल रायलाई महामन्त्रीको जिम्मेवारी तोकिएपछि दुवै पूर्वमहामन्त्री केन्द्रीय कार्यालय आउन छाडेका हुन् ।

पहिलोपटक तमलोपाले प्रेमचन्द्र झालाई अपांगता भएको व्यक्तिको कोटाबाट केन्द्रीय समितिमा लगेको छ । पार्टीलाई पूर्ण समावेशी र समानुपातिक ढाँचामा रुपान्तरण गर्नका लागि अध्यक्ष ठाकुर र नेतृत्वमाथि निरन्तर दबाब परेपछि ठाकुर सरसल्लाहमा व्यस्त छन् । पार्टी स्थापना भएको ८ वर्षपछि गत असार ६–९ मा महाधिवेशन सम्पन्न भए पनि रामग्रामस्थित महाधिवेशन स्थलबाट नेतृत्व चयन हुन नसकेपछि करिब दुई महिनापछि काठमाडौंबाट नेतृत्व चयन गरिएको हो ।

तर, काठमाडौंमा नेतृत्व चयन गर्दा समावेशी र समानुपातिक अवधारणामा रुपान्तरण नगरिएपछि निवर्तमान महामन्त्रीद्वय चौधरी र सोनल पार्टी केन्द्रीय कार्यालय आउनै छाडेका छन् । तमलोपामा मयार्दाक्रमअनुसार पनि महत्वपूर्ण जिम्मेवारीमा कथित उच्च जातिको बाहुल्य छ। अध्यक्ष ठाकुर, वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठी, उपाध्यक्षद्वय बृषेशचन्द्र लाल र सर्वेन्द्रनाथ शुक्ला हुन् । त्यसमध्ये बिस्तारित केन्द्रीय समितिमा अल्पसंख्यक, जनजाति र मुुसलमान समुदायलाई कम ठाउँ दिइएकोमा तीव्र असन्तुष्टि सतहमा आएको हो।

केन्द्रीय समितिलाई पूर्णता दिने नाउँमा ५८ जनाको नाम सार्वजनिक गर्दा दुई दर्जन बढी उच्च जातको परेको अर्का केन्द्रीय सदस्य सुरेश मण्डलले बताए । उनका अनुसार देशभरिबाट पार्टीलाई समावेशी र समानुपातिक बनाउन केन्द्रमा दबाब परेको छ । सिरहा र बारा जिल्ला कमिटीको बैठकले पार्टीलाई समावेशी र समानुपातिक बनाउन लिखित पत्र केन्द्रमा पठाउने तयारी गरेका छन् ।

केन्द्रीय समिति चयन गर्दा तराईका सुनसरी, उदयपुर र बर्दियाबाट प्रतिनिधित्व नगराएपछि ती जिल्ला समितिले केन्द्रमा असन्तुष्टि पोखेका छन् । समावेशी र समानुपातिकको मुद्दा उठाए पनि विधान र केन्द्रीय समिति विस्तारको संरचनाले उक्त पार्टीलाई पुनः क्षेत्रीय पार्टीमा सीमित गरेको छ ।

यसअघि सम्धिनी इन्द्रा झालाई सांसद बनाएका अध्यक्ष ठाकुरले सम्धी उमाकान्त झालाई केन्द्रीय समितिमा मनोनयन गर्न भ्याएका छन् ।  त्यसो त महाधिवेशन सकिएको महिनौबितिसक्दा पनि महाधिवेशनको प्रचारका लागि बिभिन्न अनलाई संचारकाध्यमका लागि दिइएको बिज्ञापनको पैसा समेत भुक्तानी नदिदा उक्त पार्टीको चर्को आलोचना भइरेको छ । केहि बरिष्ट मधेशी पत्रकारहरुले त समाजिक संजालमा लेखेरै यसको बिरोध गरेका छन ।

प्रकाशित मिति: Aug 19, 2016

प्रतिक्रिया दिनुहोस्