Logo
१५ चैत्र २०८०, बिहीबार
(August 18, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खुलासा: रोज राणा हत्या प्रयासमा ‘चरीको रिसिइबी’

chari-roj-rana

काठमाडौं २ भदौ । ३१ गते बेलुका ७ बजे पुरानो बानेश्वरमा रहेको सेन्ट्रल क्याफे अगाडि रोज राणामाथि एक्कासी खुकुरी प्रहार भयो । दिनभर बागबजार, दरबारमार्ग, नक्सालमा रोजलाई पछ्याएका २ युवाले बेलुका केही साथीसँग उभिइरहेको बेला रोजको हात ताकेर खुकुरी हानेका थिए । धन्न उनले छल्न भ्याउँदा घाइते मात्रै भए । आक्रमणकर्ताको उद्देश्य उनलाई घाइते मात्रै बनाउने थिएन, हातै छिनाल्ने योजना थियो जसका लागी उनीहरुले ३० लाखमा ठेक्का पाएका थिए ।

रोजमाथिको आक्रमणमा संलग्न रहेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेका बिबेचना प्रजापती र सूर्य लामाले प्रहरीलाई दिएको बयानलाई उद्धृत गर्दै एक प्रहरीले भने, ‘उनलाई अंगभंग बनाउन ३० लाखमा काम आएको थियो, त्यसै अनुसार आक्रमण गरे पनि उनी घाइते मात्रै भए ।’ प्युठानका सरोज थापा काठमाडौं आए लगत्तै रोज भए अनि थर पनि राणा । देखिने व्यवसाय चलचित्र निर्माता र निर्देशक भए पनि रोजको पृष्ठभूमी संगठित गुन्डा नाइकेका साझेदार थियो । उपत्यकामा नग्न डान्स बार भित्र्याउने व्यवसायी पनि उनै हुन् । डान्सबारमा युवतीलाई जबरजस्ती नग्न नृत्य गराएको अभियोगमा पक्राउ परेर ७ महिना जेल समेत परेका थिए उनी ।

बागबजार र गंगबु क्षेत्रमा डान्सबार सञ्चालक हुँदै फिल्म निर्माताका रुपमा दरिएका उनी कहिले दिनेश अधिकारी चरीको निकट पुग्थे त कहिले कुमार श्रेष्ठ घैंटेको । यही कहिले यता कहिले उता गर्दा आफ्नै समूहको आक्रमणमा परेको अनुसन्धानमा खुलेको छ । अनुसन्धानमा संलग्न महाशाखाका अधिकारीका अनुसार रोजलाई अंगभंग बनाउन प्रजापती र श्रेष्ठलाई ठेक्का दिएका थिए रत्नबहादुर लामा उर्फ जोधाले । जोधा पनि चरी समूहमै थिए भने रोज पनि सोही समूहको संरक्षणमा ।

अनुसन्धान अधिकारीका अनुसार सोमबारको घटना २०७१ साउन २१ मा समेत जोडिएको देखिन्छ । साउन २१ मा दिनेश अधिकारी ‘चरी’ प्रहरी इन्काउन्टरमा काठमाडौंको भीमढुंगा भञ्ज्याङ नर्सरीमा मारिएका थिए । हत्या प्रयास र अवैध हतियारमा प्रहरीले खोजी गरेपछि भागेर भारत पुगेका सुजन पौडेल(रमेश बाहुन) र चरीसँगै रोज समेत उतै थिए । जानकार प्रहरी अधिकारीका अनुसार भारत बसाइकै क्रममा यी तीन जनाको मित्रता थप घनिष्ठ भएको थियो ।

राष्ट्रिय जनता दलका एक विधायकको संरक्षणमा रहेका बाहुनलाई नेपाल प्रहरीले भारतीय सुरक्षा अधिकारीसँगको समन्वयमा पक्राउ गरी नेपाल ल्याएको थियो । स्रोत अनुसार बाहुन पक्राउ पर्दाताका चरी उम्किए भने रोज बाहुनसँगै फेला परेका थिए । भारतबाट ल्याइएका बाहुन कलंकीको खसीबजार क्षेत्रमा हिँडिरहेको अवस्थामा पक्राउ परेको भन्दै प्रहरीले सार्वजनिक गर्दा रोजबारे केही उल्लेख थिएन ।

प्रहरीको खोजी सूचीमा रहेका चरी भारतमा लुकेर बसेका थिए । उनी मुद्दा मिलाउन काठमाडौं आए पनि भाइबरमा मार्फत मात्रै निकटको सम्पर्कमा बसेका थिए । काठमाडौंको अदालतमा आत्मसमर्पण गर्दा प्रहरीले बीचैमा पक्राउ गर्नसक्ने जोखिम भएकाले उनी धादिङ गएर आत्मसर्मपण गर्ने तयारीमै रहेको बेला भीमढुंगामा इन्काउन्टर भएको थियो ।

चरीसँग भाइबर सम्पर्कमा रहेका सिमितमध्ये रोज समेत थिए । इन्काउन्टरपछि चरी समूहका सदस्यले रोजमाथि प्रहरीलाई सूचना दिएर सघाएको आरोप लगाएका थिए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रकाशित मिति: Aug 18, 2016

प्रतिक्रिया दिनुहोस्