Logo
७ बैशाख २०८१, शुक्रबार
(August 17, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘माग सम्बोधन गर्ने सरकारी  आश्वासन सकारात्मक’

Anil Jha News

काठमाडौँ । नेपाल सद्भावना पार्टीको केन्द्रीय पदाधिकारी बैठकले मधेस आन्दोलनको संविधानसँग सम्बन्धित राजनीतिक एजेन्डा र मागलाई वर्तमान सरकारद्वारा सम्बोधन गर्ने आश्वासन दिनु सकारात्मक भएको जनाएको छ । पार्टीले विज्ञप्ति जारी गर्दै यसलाई आन्दोलनको एउटा सकारात्मक उपलब्धिका रुपमा बैठकले लिएको जनाएको छ ।

यही साउन ३० गतेदेखि सुरु भई आज सम्पन्न उक्त बैठकले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा/सङ्घीय गठबन्धनसँग नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) बीच यही साउन १९ गते भएको तीन बुँदे सम्झौताले मधेसवादी दलको शान्तिपूर्ण र अहिंसात्मक आन्दोलन र सङ्घर्षका माध्यमबाट गरिएको मागको सत्यता र सान्दर्भिकतालाई पुनःपुष्टि गरेको ठहर गरेको छ ।

पार्टीले स्थानीय निकाय पुनःसंरचनाका सम्बन्धमा सार्वजनिक गरिएको खाकालाई अव्यवहारिक एवम् सङ्घीय शासनको मर्म तथा भावना विपरीत भनेको छ ।

मधेस आन्दोलनका क्रममा मधेस तथा अन्य स्थानमा शहादत प्राप्त गरेका ६८ जनाको सूचीलाई गठबन्धनले सहिद घोषणा एवम् क्षतिपूर्तिका लागि सरकार समक्ष प्रस्तुत गर्नु, वर्तमान सरकारले त्यसलाई सकारात्मक रुपमा लिने प्रतिबद्धता व्यक्त गर्नु, आन्दोलनका क्रममा घाइते भएकाको उपचार, जनधनको क्षतिपूर्ति, आन्दोलनकारीमाथि लगाइएका मुद्दा खारेजी, उच्चस्तरीय न्यायिक छानबिन आयोग गठनसम्बन्धी अन्योल चिर्न सरकारद्वारा देखाइएको तत्परता प्रशंसनीय भएको ठहर गर्दै पार्टीले संविधान संशोधन एवम् राजनीतिक विषयको यथाशीघ्र सम्बोधन गर्न सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति: Aug 17, 2016

प्रतिक्रिया दिनुहोस्