Logo
७ बैशाख २०८१, शुक्रबार
(August 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कसले पो सोचेको थियो र..उसलाई कुनै दिन खलासी भएको देख्नुपर्छ !

करुणा देवकोटा,
करुणा देवकोटा,

“दिदी ल ल आउनुस्, आउनुस् । काँसम्म जाने हो तपाईं ? ल ल आउनुस्…टाँडी, पर्सा, भण्डारा… टाँडी, पर्सा, भण्डारा…।” मेरो आडैमा हतारमा भएजस्तै गरेर उभिएकी एउटी अर्धबैँसे दिदीलाई गाडीको खलाँसीले एकै सासमा सोध्यो । जान त मलाई पनि थियो, तर ती दिदीजस्तो हतारिएको भने थिइनँ । गाडीमा बस्ने ठाउँ भए जाने, नत्र अर्को गाडी कुरेरै भए पनि सिटमा नै बसेर जाने सुरमा थिएँ म । तर, त्यो खलाँसीको स्वर कता–कता चिनेजस्तो लाग्यो, आफूसँग परिचितजस्तै लाग्यो र त्यो सानो मिनी गाडीतर्फ टाउको मोडेँ ।

मेरो अड्कल सही नै सावित भो, आखिर त्यो स्वर मसँगै स्कुलमा पढेको साथीको रहेछ । के बोलूँ, के बोलूँ भो…, तर गाह्रो भने धेरै समय भएन । उसैले सोध्यो, ‘कता जान लागेको ? सञ्चै छौ ?’ मलाई पनि सजिलो त भो केही बेरलाई । सजिलै उत्तर दिएँ, ‘सञ्चै छु, अनि तिमी नि ? दिदीको घर जान लागेको टाँडीसम्म ।’ त्यही गाडीमा जाने सुर गर्दै छिरेँ । उसले पनि सञ्चै छु भन्दै मेरो बारेमा चासो राख्दै सोध्न थाल्यो ।‘के गर्दै छौ आजकल ? पढाइ कहाँ पुग्यो…?’ आदि इत्यादि…। मैले पनि जवाफ त दिएँ, तर उसलाई प्रश्न गर्न र उसका बारेमा जान्न नै गाह्रो भयो । सोधूँ त के सोधूँ, नसोधूँ त के नसोधूँ…! सोध्नलाई मन नभएको पनि होइन, तर किन किन अप्ठेरो लाग्यो ।

‘अनि तिमीले कता पु¥यायौ पढाइ ? प्लस टु सक्यौ कि नाइँ ?’ यत्ति नै सोधेँ । तर, उसले त ११ को अन्तिम जाँच नै दिएको रहेनछ । ‘इन्डिया जानुपर्ने भएर जाँच आउने बेलामा त्यतै गएँ, त्यसपछि पढ्न नै छाडेँ’, मन गरूङ्गो पार्दै उसले भन्यो । बेकारमा सोधेँजस्तो भान भो तर के गर्नु, नसोधूँ त वास्ता नगरेको जस्तो, सोधूँ त उसलाई पनि अप्ठेरो । जाने बेलामा पनि जाऊ है भन्दै सम्बोधन ग¥यो र मैले भने गएँ है भन्दै गाडीबाट ओर्लिएँ । गाडीमा बसुन्जेल भने उसलाई अरु केही सोध्ने मौका पाइनँ । गाडीमा प्यासेन्जर झार्दै र बोलाउँदैमा उसलाई फुर्सद नै थिएन । तर, फुर्सदी भएर घुम्न जानलाई गाडीमा बसेको मलाई भने गाडीमा बसुन्जेल र गाडीबाट झरेर पनि उसका बारेमा सोच्दा समेत नमज्जा लागिरह्यो ।

आफूसँगै पढेको साथीको त्यो अवस्था देख्दा सबैलाई नरमाइलो त लाग्छ नै । कसले पो सोचेको थियो र, उसलाई कुनै दिन खलासी भएको देख्नुपर्छ भनेर । त्यसमाथि उसले आफ्नो पढाइ पनि छाडेर खलासीका रुपमा आफ्नो भाग्य खोज्दै दिनहुँ हुँइकिरहेथ्यो– टाँडी, पर्सा, भण्डाराको रूटमा…। [email protected]  (सप्तगण्डकी बहुमुखी क्याम्पस, भरतपुर, चितवन पोष्टबाट)

प्रकाशित मिति: Aug 6, 2016

प्रतिक्रिया दिनुहोस्