Logo
८ बैशाख २०८१, शनिबार
(August 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिंगापुर पैसाले बनाउन सक्छ तर  जनकपुर पैसाले बनाउन सकिँदैन

तस्बिर स्राेत : अभिषेक दत्त/विकिपिडिया 
तस्बिर स्राेत : अभिषेक दत्त/विकिपिडिया

किशोर नेपाल, 
सिंगापुर पैसाले बनाउन सक्छ । व्यापारिक केन्द्रको निर्माण जहाँसुकै र जहिलेसुकै सम्भव हुन्छ । तर, जनकपुर ऐतिहासिक महत्त्वको शहर हो, जसलाई पैसाले बनाउन सक्दैन’ समाजसेवी अमरचन्द्र अनील बताउँदै थिए, ‘जनकपुरजस्तो मानव सभ्यताको जीवित शहरको निर्माण कालातीत हुन्छ । मैथिली संस्कृति कला र सभ्यताको केन्द्रको रूपमा रहेको महत्त्वपूर्ण शहरको निर्माण सधैं हुन सक्दैन । यस्ता शहरको संरक्षण गर्नुपर्छ ।’ प्राचीन समयदेखि नै ज्ञान र शिक्षाको केन्द्रका रूपमा स्थापित शहर हो जनकपुर । अध्ययनका लागि जनकपुरमा थुप्रै शैक्षिक पूर्वाधार थिए । शैक्षिक र सांस्कृतिक हिसाबले समृद्ध मानिएको यो शहर अहिले पनि शैक्षिक र सांस्कृतिक क्षेत्रका रूपमा नै परिचित छ । जनकपुरका अधिकांश स्कुलहरू समुदायले बनाएको छ । त्यसमा सरकारको भागीदारी छैन ।

यसबाहेक, नेपालको प्रजातान्त्रिक संघर्षमा जनकपुरको भूमिका सधैं नेतृत्वदायी रहेको छ । चाहे २०१७ सालमा प्रजातन्त्र विरुद्ध चालिएको शाही कदम होस् अथवा त्यसपछिका आन्दोलनहरू, जनकपुर अथक संघर्षको प्रतीक बनेको छ । राजनीतिक चेतनाका हिसाबले सम्भवत: जनकपुर जति सचेत शहरहरू छैनन् होला देशमा । राजालाई बम प्रहार गर्ने दुर्गानन्द झा, अरविन्द ठाकुर र दलसिंह थापा हुन वा केशव कोइराला, कामेश्वर–कुशेश्वरजस्ता तन्नेरी हुन्, जनकपुरको इतिहास शहादतले भरिएको छ ।

महेन्द्रनारायण निधि, रामनारायण मिश्र, सरोज कोइराला, वोधप्रसाद उपाध्यायजस्ता दिग्गज प्रजातन्त्रका सेनानीहरूको भूमिका रूपमा जनकपुरको आफ्नै गौरव गाथा छ । काठमाडौं र जनकपुरका बीच राजनीतिक दूरी कहिल्यै रहेन । न त यी दुई शहरका बीच खासै सामाजिक, सांस्कृतिक र ऐतिहासिक दूरी नै रह्यो । नेपाली राजनीतिको अत्यन्त उर्बर भूमिका रूपमा रहेको जनकपुरले राजाको शासनकालमा पनि आफ्नो भूमिका जमायो । डा. तुलसी गिरि र रुद्रप्रसाद गिरिहरू पञ्चायतकालीन राजनीतिका हस्ती बने ।

केही दशकअघिसम्म भौगोलिक हिसाबले जनकपुर निकै टाढा थियो । काठमाडौंबाट वीरगन्ज हुँदै भारतीय रेल चढेर सीतामढी, दरभंगा र जयनगर हुँदै पुग्नुपथ्र्याे जनकपुर । जयनगरबाट जनकपुरसम्म चल्ने १८ किलोमिटर लामो रेलमार्ग जनकपुरको ‘लाइफ लाइन’ जस्तै थियो । २०२८–२९ सालतिर जनकपुरका दिग्गज हस्तीहरू– सरोज कोइराला, महेन्द्रनारायण निधि, ज्ञानीशंकर गिरि, मकेश्वरप्रसाद सिंह– तत्कालीन सरकारद्वारा गिरफता

किशोर नेपाल,
किशोर नेपाल,

र भएका थिए । तीमध्ये महेन्द्रनारायण निधि, मकेश्वर सिंह र यो पंक्तिकारलाई जनकपुरबाट काठमाडौं जेल चलान गरिएको थियो । पूर्व–पश्चिम राजमार्ग निर्माणाधीन थियो । हामी बन्दीहरूलाई रसियन जिपमा हालेर भर्खरै ट्रयाक खोलिएको बर्दीबासको बाटो ल्याइएको थियो काठमाडौं ।

अहिले काठमाडौंका लागि जनकपुर विकट छैन । यातायातको हिसाबले पहाड र मधेश दुवैतिरबाट राजधानीका लागि सुगम भएको छ यो शहर । तर, कता कता काठमाडौं र जनकपुर अपनत्वको जुन डोरीले बाँधिएका थिए, त्यो बन्धन खुकुलो भएको आभास हुन थालेको छ । हुन सक्छ, बढ्दो आधुनिकीकरणका कारण यस्तो आभास हुन थालेको होस । शहर ठूलो हुँदै गएपछि समस्याहरू पनि बढ्न थाल्छन् । नयाँ नयाँ समस्याले मानिसहरूबीचको सम्बन्धहरूलाई बढी नै निरपेक्ष बनाइदिन्छन् । जनकपुरले प्रस्तुत गर्ने गरेको मधेश र पहाडका बीचको घनिष्ठ सम्बन्ध सूत्र पहिलेजस्तो बलियो देखिँदैन । तर, यसलाई अस्वाभाविक मानिहाल्नुपर्ने कुनै कारण छैन । मधेश आन्दोलनका कारण समाजमा एक प्रकारको संकुचन देखिएको छ । आन्दोलनका मागहरूको सम्बोधन भइसकेपछि समाज आफ्नो पूर्व स्वरूपमा आउनेछ ।

नेपालमा जारी भएको नयाँ संविधानपछि सबै नेपालीका लागि समावेशी समानताको हक प्रचलनमा आएको भए सम्भवत: काठमाडौं र जनकपुर आपसमा निकट देखिने थिए । तर, राजनीतिक दलहरूमा देखिएको अनावश्यक र अतिशय हठका कारण त्यसो हुन सकेन । संविधानले मधेशसँग समान व्यवहार नगरेको र मधेशको माग पूरा नगरिएको गुनासो सबैतिर सुनिन थाल्यो । यही प्रश्नमा मधेश आन्दोलन भयो । यो आन्दोलनको मर्मलाई न त कांग्रेस नेतृत्वको सरकारले बुझ्यो, न एमाले नेतृत्वको सरकारले । अहिले आन्दोलन रुमलिएको छ र पनि, त्यसको राप र तापबाट मधेश मुक्त हुन सकेको छैन ।

जनकपुर नगरको परिक्रमा गर्ने कसैले पनि यो बुझ्न सक्छ, मधेशको समस्या मात्र नागरिकताको होइन । समस्या अवसरहीनताले जन्माएको हो । समस्या सांस्कृतिक र सामाजिक विषयहरूलाई ठीक तरिकाले सम्बोधन नगरेका कारण उत्पन्न भएको हो । राजधानीमा बसेर रेडियो सुन्ने र पत्रिका पढ्ने कसैलाई पनि आगोको गोला नै हो कि जनकपुरजस्तो लाग्छ । तर, अवस्था त्यस्तो छैन । जनकपुरको समाज परिपक्व छ । केही समयअघिसम्म देखिने भाव र आवेश अहिले कतै देखिँदैन । हो, जनकपुरको तन्नेरी पुस्ता आवेशको भाषा बोल्छ जुन स्वाभाविक हो । आवेग छ तर त्यसको आक्रामकता नियन्त्रित छ । यो शहरको युवा पुस्तामा सामाजिक दायित्ववोध छ । त्यसैले शहरमा कुनै न कुनै भइराखेकै हुन्छन् । यतिखेर तन्नेरीहरू बाढीपीडितको उद्धारमा केन्द्रित भएका छन् ।

मधेश आन्दोलनको प्रभाव राजनीतिसम्म मात्र सीमित छैन । ‘आन्दोलनअघि हामी मधेशी हौं भन्ने कसैलाई थाहा थिएन, आन्दोलनले यो चेतनाको विस्तार गरेको छ,’ नागरिक अगुवा कृष्णसिंह भन्छन् । मधेश आन्दोलनको गति बहुआयामिक छ । तन्नेरी पुस्ताका अधिकांश सदस्यहरूले आन्दोलनलाई विशिष्ट सांस्कृतिक र सामाजिक परिवेशमा हेर्ने गरेका छन् । उनीहरू मधेश आन्दोलनले आफ्नो भाषाप्रतिको ममत्व बढाएको चर्चा गर्छन् । हिजो मैथिली भाषामा वार्ता र छलफल गर्दा हीनतावोध हुन्थ्यो । ‘अहिले गर्व हुन्छ,’ तन्नेरी पत्रकार अजय अनुरागी बताउँछन्, ‘आन्दोलनले मधेशीहरूकै बीचमा समेत मधेशी पहिचान स्थापित गरेको छ ।’ मधेश आन्दोलनमा देखिएको महिला सक्रियताले पनि जनतालाई उत्साहित बनाएको छ । घुम्टो ओढेर आँगन र करेसाबारीमा रुमल्लिने महिलाहरू आन्दोलनको अग्रपंक्तिमा देखिएका छन् । कुमारी विजयेता भन्छिन्, ‘आन्दोलनपछि महिलाहरूको सोचाइमा नै आमूल परिवर्तन आएको छ ।’ मधेश आन्दोलनको रणनीतिक भूमि मानिन्छ जनकपुरलाई ।

जनकपुरलाई अलग गरेर पूर्व वा पश्चिम कतैको पनि प्रासांगिकता र महत्त्व स्थापित हुन सक्दैन । प्रादेशिक राजधानीको प्रमुख सम्भावित बिन्दु पनि हो यो । मधेशका सुषुप्त आकांक्षालाई आवाज दिने ऊर्जाशील शहर । यसको विपरीत, पूरै जनकपुर शहर एउटा धार्मिक धाम हो– सीतारामको भजन संगीतमा रमाएको जानकी धाम । मठ मन्दिर र सागरहरूको संगम । त्रेता युगका रामचन्द्र र सीताका बिम्बहरूको व्याख्यामा लागेका अध्यात्म चिन्तकहरू । धार्मिक केन्द्रका रूपमा जनकपुरको महत्त्व सबैले जानेको कुरा हो । जनक चोकदेखि जानकी मन्दिर परिसरसम्मको भागले जनकपुरलाई साँच्चै एउटा पवित्र धामको अनुभूति दिन्छ । जानकी मन्दिरमा प्रत्येक साँझ हुने नियमित आरतीको आकर्षण यथावत् छ । पोहोरदेखि गंगासागरमा गंगा आरतीको अर्को अध्याय शुरु भएको छ । पत्रकार रामआशिष यादवको परिकल्पनामा शुरु भएको ‘सफा जनकपुर हरित जनकपुर’ अभियानले मठ, मन्दिर र सागरहरूको सफाइमा निकै ठूलो हलचल ल्याएको छ । प्रशासनिक केन्द्र, अड्डा–अदालत, राजनीतिक अखाडा र व्यापारिक केन्द्रको रूपमा रहेका शहरका बाँकी हिस्सामा कुनै परिवर्तन आएको छैन ।

चार दशकअघि जनकपुरको वास्तुचित्र जस्तो थियो अहिले पनि उस्तै छ । केही भवनहरू फरक यति छ– गुणात्मक हिसाबले शहर बाक्लिएको छ । तर, शहरका सुविधाहरू ओरालो लागेका छन् । चुरोट कारखानाको असामयिक अवसानले शहरमा रोजगारीलाई राम्रैसँग खुम्च्याइदिएको छ । बिजलपुरादेखि जयनगर (भारत) सम्म चल्ने नेपालको एक मात्र रेल्वे वर्षौंदेखि बन्द छ । ‘बडी लाइन’ मा परिवर्तित हुने भनेको रेलवे सेवा कहिलेदेखि ‘बडीलाइन’ हुने हो ? कसैले भन्न सक्दैन । अरू खबर त त्यस्तै हुन् । माता जानकीले जनकपुर शहरवासीको रक्षा गरेकै छिन् । केन्द्रीय सरकारले जनकपुर धामको महत्त्व स्थापित र विस्तारित गर्न प्रयास गरेको छ । पर्यटन विभागका पोस्टरहरूमा होस् अथवा सरकार प्रमुखहरूका भाषणमा होस्, जनकपुरधामका गौरवका गीतहरू निकै गाइएका छन् । तर, शहरको वर्तमान अवस्थालाई हेर्दा जनकपुरधाम नेपाल सरकारको कार्यक्षेत्रभित्रै पर्छ भन्ने लाग्दैन । शहरका कुनै सडक साबुत छैनन् । चाहे जनक चोकबाट मुरली चोक हुँदै रामानन्द चोक छिचोल्ने सडक होस् अथवा भानु चोकबाट मिल्स एरिया छिचोल्ने सडक– शहरी सडकको दुर्गति जनकपुरप्रति सरकारी उपेक्षाको नमुना बनेको छ । ‘एउटै काम यस्तो छैन जसका लागि छाती ठोकेर यो सरकारले गरेको भन्न सकियोस् । भ्रष्टाचारको चक्र बलियो छ ।

यति बलियो कि त्यसले स्थानीय विकास–निर्माणको बजेटलाई नै कुण्ठित गरेको छ । डनहरूले कब्जा जमाएका छन् त्यसमा । स्थानीय सञ्चार तिनै डनको पक्ष–विपक्षमा विभाजित छन् । जसले जे गरे पनि भएको छ– फ्री फर अल,’ प्राध्यापक सुरेन्द्र लाभ भन्छन् । बुद्धिजीवीहरूको दृष्टिमा जनकपुर मात्रै होइन, पूरै मधेश र पहाड यतिखेर एकप्रकारको ज्वारभाटामा लपेटिएका छन् । कहाँ जाने हो ? कसैलाई थाहा छैन । सबैतिर विचलन छ । ‘सिभिल स्पेस’ खुम्चिँदै गएको छ । बाठा–टाठाको हैकम र हैसियत बढ्दै गएको छ । ‘अब यो शहरमा मरुभूमिमा बालुवा बेच्ने खालका मानिसहरू देखा पर्दै छन्,’ लाभको कथन छ ।

जनकपुरका बुद्धिजीवीहरूको मान्यता छ, आन्दोलन लोकतन्त्रमा मात्र सम्भव हुन्छ । लोकतान्त्रिक मानिसका लागि नै चाहिन्छ आन्दोलन । राज्यलाई स्वायत्त बनाउँदा देश टुक्रिन्छ भन्ने सोचाइसँग जनकपुरका कुनै पनि बुद्धिजीवीको सहमति छैन । चश्मा लगाएका आँखाले नागरिक अधिकारका प्रश्नहरूलाई हेर्न सक्दैन । सत्य नांगो हुन्छ । नांगो सत्यलाई आत्मसात् नगरेसम्म परिवर्तन आउँदैन ।जनकपुर आन्दोलनको भूमि हो । यो असहमतिका बीच सहमतिको खोजी गर्ने ठाउँ हो । जति बेला कांग्रेसको मूलधार पञ्चायत व्यवस्थाविरुद्ध सशस्त्र संघर्षमा थियो, त्यति बेला कांग्रेसका मूलधारका नेता महेन्द्रनारायण निधि शान्तिपूर्ण संघर्षको पक्षमा उभिनुभएको थियो ।

उहाँ गान्धीको सत्याग्रह आन्दोलनको वकालत गर्नुहुन्थ्यो । लेखहरू लेखेर राज्यप्रति विरोध जनाउनुहुन्थ्यो । तर, त्यति खेर कांग्रेसमा कतै विसंगति देखिएन । अन्तत: कांग्रेस शान्ति, राष्ट्रिय एकता र मेलमिलापको बाटोमा आयो । अहिलेका नेताहरूले सुझबुझ र दूरदर्शिता देखाउन सके भने मधेश आन्दोलनसँगै अरू आन्दोलनहरूको शान्तिपूर्ण अवतरण असम्भव छैन । त्यसका लागि साहस चाहिन्छ र चाहिन्छ देशमाथि मधेश पहाड हिमाल जतासुकैका नेपालीको समान हक र समान कर्तव्य छन् भन्ने चिन्तन । #कान्तिपुरबाट

प्रकाशित मिति: Aug 6, 2016

प्रतिक्रिया दिनुहोस्