Logo
७ बैशाख २०८१, शुक्रबार
(August 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बस्ती निर्माण गरिरहेका धुर्मुस-सुन्तलीलाई सघाउँदै नेपाली सेना

Dhurmush News

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची ८, गिरान्चौरमा एकिकृत बस्ती निर्माण गरिरहेका धुर्मुस सुन्तलीलाई नेपाली सेनाले श्रमदान गरेर सघाउने भएको छ ।

बस्ती निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनले अपील गरेपछि सैनिक हेडक्वाटरको निर्देशन अनुसार मेलम्ची सत्रुभञ्जन गुल्मबाट २६ जनाको टोली गिरान्चौर पुगेको हो । उपसेनानी नेतृत्वको तालिमप्राप्त सेनाको टोलीले एकिकृत बस्तीमा निर्माण गरिने सामुदायिक भवन तथा ६ वटा घर बनाउन श्रमदान गर्नेछ ।

नेपाली सेनाले सिन्धुपाल्चोकको भोटेनाम्लाङ, भोटेचौर, तौथली र भिमटारमा भूकम्प पिडितका लागि घर बनाएर हस्तान्तरण गरिसकेको छ ।

गिरान्चौर एकिकृत बस्ती निर्माण कार्य उदाहरणीय भएको भन्दै सैनिक श्रीमति संघले आर्थिक सहयोग गरेका कारण पनि श्रमदान गर्न सैनिकको टोली पठाइएको सत्रुभञ्जन गुल्म मेलम्चीका सेनानी श्याम गोतामेले जानकारी दिएका छन् ।

बस्ती निर्माणका लागि सैनिक श्रीमति संघले १४ लाख रुपैँया आर्थिक सहयोग गरेका थियो । दशैँ अघि नै बस्ती हस्तान्तरण गर्नका लागि जनशक्तिको आवश्यकता परेको खण्डमा थप सहयोग गर्न सेना तयार रहेको उनले बताएका छन् ।

फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)ले पहिलो बस्ती निर्माणको समयमा सेनाले ठूलो सहयोग पुर्याएको स्मरण गर्दै अहिले प्राप्त सहयोगले समयमै बस्ती हस्तान्तरण गर्न आँट बढेको प्रतिक्रिया दिएका छन् ।

Dhurmus

प्रकाशित मिति: Aug 6, 2016

प्रतिक्रिया दिनुहोस्