Logo
११ जेष्ठ २०७९, बुधबार
(August 1, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपत्यकाका तीनै जिल्ला जोडिने ७३ किमी चक्रपथ निर्माण हुने

Chakrapath

काठमाडौँ । काठमाडौँ उपत्यकाका तीनै जिल्ला जोडिने ७३ किमी चक्रपथ निर्माण हुने भएको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले गत असार ११ गते चोभार–गाम्चा–सतुङ्गल ६.६ किमी दूरीको ३.५ वर्ग किमी जग्गा विकास गरी बाहिरी चक्रपथ निर्माण गर्न त्यस क्षेत्रका जग्गाधनीको असहमति भए ३५ दिनभित्र उजुरी दर्ता गर्न सार्वजनिक सूचना प्रकाशन गरेको थियो ।

यस पटक कीर्तिपुरका मानिसले बाहिरी चक्रपथ निर्माणका लागि सकारात्मक सहयोग गरेको प्राधिकरणले जनाएको छ । यसबीचमा गत वर्ष आएको भूकम्प र प्राधिकरणले स्थानीयवासीमा जनचेतना जगाएकाले स्थानीयवासी सकारात्मक बनेका हुन् ।

आइतबार अन्तिम असहमति दर्ता गराउने दिनसम्म ९६ मात्र उजुरी परेकाले बाहिरी चक्रपथ बन्ने निश्चित भएको हो । प्राधिकरणका शाखा अधिकृत ध्रुव सापकोटाका अनुसार आयोजना रोकिनका लागि कम्तीमा चार हजार असहमतिका उजुरी पर्नुपर्ने थियो । ‘तर ९६ मात्र उजुरी मात्र पर्‍यो ।

प्राधिकरणका शाखा अधिकृत ध्रुव सापकोटाले राससलाई जानकारी दिए “चोभार–गाम्चा–सतुङ्गल ६.६ किमी दूरीको ३.५ वर्ग किमी क्षेत्रमा अनुमानित सात हजार व्यक्तिको जग्गा छ, यसको ५१ प्रतिशतले असहमति जनाएका भए बाहिरी चक्रपथको काम रोकिन्थ्यो, धेरैको सहमति भएकाले बाहिरी चक्रपथ बन्ने सुनिश्चित भएको छ”– उनले भने ।

बाहिरी चक्रपथको सडक ५० मिको हुनेछ । सडकका लागि प्राधिकरणले जग्गा अधिग्रहण गर्दैन । नमिलेको जग्गालाई योजनाबद्ध रुपमा विकास गरी समुदायलाई हस्तान्तरण गर्छ । जग्गा विकास गरिदिएबापत जग्गाधनीले बाहिरी चक्रपथ र जग्गा विकास गरिने ३.५ वर्ग किमी क्षेत्रमा छ, आठ र ११ मिटरका अन्य ती सहायक सडक निर्माणका लागि आवश्यक जग्गाको योगदान गर्नुपर्ने प्राधिकरणका प्रवक्ता केशवप्रसाद न्यौपानेले बताए ।

“असहमति जनाएका ९६ जना जग्गाधनीमध्ये अधिकांशले बाहिरी चक्रपथ निर्माण हुनुहुँदैन भन्ने नभई आयोजना छिटो सम्पन्न होस् र २० प्रतिशतभन्दा कम जग्गा काटियोस् भनी माग गर्नेको सङ्ख्या धेरै छ, पूर्ण रुपमा असहमति राख्नेको सङ्ख्या कम छ”– उनले भने । बाहिरी चक्रपथ निर्माण प्रक्रियामा चार वर्षअघि कीर्तिपुर नगरपालिकाका बासिन्दाले धेरै विरोध गरेका थिए ।

सूचनामा सकारात्मक प्रतिक्रिया आएपछि छिटो गरी बाहिरी चक्रपथको चोभार–गाम्चा–सतुङ्गल ६.६ किमी निर्माण अघि बढ्ने भएको छ । बाहिरी चक्रपथको सो खण्डमा त्रिभुवन, पृथ्वी, काठमाडौँ–तराई दु्रतमार्ग र काठमाडौँ–केरुङ मार्गसमेत जोडिनेछ । #फाइल स्केच

प्रकाशित मिति: Aug 1, 2016

प्रतिक्रिया दिनुहोस्