Logo
१३ बैशाख २०८१, बिहीबार
(July 26, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बर्षाका कारण कपिलवस्तुको जनजिवन अस्तव्यस्त, ७ सय घर डुबानमा

kapilbastu-badhi-3
कपिलवस्तु ११ साउन ।  रातीदेखि परेको अविरल बर्षाका कारण कपिलवस्तुको जनजिवन अस्तव्यस्त बनेको छ । बर्षाका कारण पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बनेको छ । जिल्लाका विभिन्न स्थानमा गरि करिब ७ सय घर डुबानमा परेका छन् । जिल्ला दैवी प्रकोप उद्दार समितिका अनुसार बाणगंगाको पिपरामा २ सय ३० घर डुबानमा परेको छ ।

बाणगंगा कोइली तथा कोठी खोला बस्तीमा पसेपछि बनगाईमा ६० घर डुबानमा परेका छन् । धिरी खोला बस्तीमा पसेपछि भलवाडको ५५ घरबस्ती डुबानमा परेका छन् । बाणगंगा नदीको बहाव परिवर्तन हुँदा कोपवाको भगलापुर, मोर्मी, निग्लीहवाको कुश्मा, बनकसियाका करिब २ सय बढि घर डुबेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बाणगंगा नदीमा बनाइएको श्रंगीघाट बाँधको कारण पानीको बहाव परिवर्तन भएपछि पिपरास्थित सेक्टर वन कार्यालय डुबानमा परेका छ भने घाटगद्धीमा रहेका सयौ क्यूफिट काठ बगाएको छ । सेक्टर प्रमुख सुरेन्द्र श्रेष्ठले बगाएका केहि काठ बरामद गरिएको र अन्यको खोजी भइरहेको जानकारी दिएका छन् । जिल्ला सदरमुकाम तौलिहवा, चन्द्रौटा र कृष्णनगर, गोरुसिंगे बजारका केहि भाग समेत डुबानमा परेका छन् ।

यसैगरी भृकुटी नगरपालिका क्षेत्रमा पर्ने गुडरुङ खोलाको बहाव उच्च भएपछि नदी पुलमाथि बगेको छ । जसकारण पूर्व–पश्चिम राजमार्ग पूर्ण रुपमा अवरुद्ध छ । अविरल बर्षाकै कारण गएराती शिवपुर गाविसको पूर्व–पश्चिम राजमार्गमा पर्ने चोर खोलामा पहिरोले राजमार्ग अवरुद्ध पारेको छ ।

दैवी प्रकोप उद्दार समिति तथा डिभिजन सडक कार्यालयको पहलमा सडक खुलाउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी इन्दू घिमिरेले जानकारी दिइन् । समितिले बाणगंगा, कोइली, सुरई, चिरई तथा गुडरुङ खोला किनार क्षेत्रका बस्ती उच्च जोखिममा रहेकाले त्यस क्षेत्रका बासिन्दालाई सजग हुन आग्रह गरेको छ ।

प्रकाशित मिति: Jul 26, 2016

प्रतिक्रिया दिनुहोस्