Logo
६ बैशाख २०८१, बिहीबार
(July 16, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कसरी पायो आदित्य संरक्षण प्रतिष्ठानले एक करोड ?

aaditya-dahalकाठमाडौं । सरकारले आदित्य दाहालको संरक्षणमा खुलेको प्रतिष्ठानलाई एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषद बैठकले शुक्रबार प्रतिष्ठानको सवारी साधन, आवास निर्माण र साधनाका लागि भौतिक पूर्वाधार तयार गर्न उक्त रकम दिने निर्णय गरेको सञ्चारमन्त्री शेरधन राईले जानकारी दिए ।

झापाका शेषराज र ईश्वरा दाहालका छोरा दाहाल यही साउनमा ६ वर्ष पुग्दैछन् । बोल्न, हिँडडुल गर्न नसक्ने दाहालले लिखित रूपमा अद्भुत खालका धारणा व्यक्त गर्दै आएका छन् ।

विद्यालय नगएका र अक्षरसमेत नचिनेका दाहालले एकाएक गम्भीर विषयलाई लिखित रूपमा अभिव्यक्ति गर्न थालेपछि दाहाल चर्चामा छन् । झन्डै चार वर्षको उमेरमा उनको यस्तो प्रतिभा प्रस्फुटन भएको थियो । त्यसपछि उनका धेरै अनुयायी बन्दै गएका छन् । त्यसमध्ये धेरै नेताहरूसमेत बालक दाहालको क्षमताबाट प्रभावित छन् ।

कसरी भयो निर्णय ?

एमाले-माओवादी गठबन्धनको द्वन्द्व चुलिँदै गएको अवस्थामा गत असार २३ गते साँझ बालुवाटारमा प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भेला भए । राजनीतिक घटनाक्रमबारे छलफल गर्न भेला भएका उनीहरूले आधा घण्टा बालुवाटारको एउटा कोठामा छुट्टै बैठक गरे- अद्भुत बालक आदित्य दाहालसँग । त्यो बैठकको चाँजोपाँचो मिलाउने मुख्य व्यक्ति थिए माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ ।

बालक दाहालको अद्भुत क्षमताबाट करिब सबै मुख्य नेता प्रभावित छन् र उनलाई पटकपटक भेट्नेसमेत गर्छन् । त्यस्ता नेतामध्ये श्रेष्ठ बालक दाहालबाट अलिक बढी नै प्रभावित छन् । दाहालको नाममा स्वतन्त्र ढंगबाट उनका अनुयायीले ‘आदित्य संरक्षण प्रतिष्ठान’ खोलेका छन् । प्रतिष्ठान सञ्चालन गर्न केही रकम आवश्यक पर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउने निष्कर्ष प्रतिष्ठानका पदाधिकारीले निकाले ।

प्रतिष्ठानका पदाधिकारीलाई सहजीकरण गर्दै तीन जना प्रमुख शीर्ष नेताहरूसँग बालक दाहालसहित भेट्ने वातावरण नेता श्रेष्ठले मिलाए । उक्त भेटमा प्रतिष्ठानका तर्फबाट केही सहयोगको माग भयो । जुन मागप्रति प्रधानमन्त्री ओलीसहित देउवा र दाहालले पनि सकारात्मक धारणा राखे । उनीहरू तीनै जनाले सकेसम्म अधिकतम सहयोग गर्ने प्रतिबद्धता जनाए । यसअघि पनि तीनै शीर्ष नेताले छुट्टाछुट्टै बालक दाहाललाई भेटेका थिए ।

बालक दाहालले असार २३ गतेको भेटमा तीन जना नेतालाई नै मिलेर जान सुझाव दिए । बोल्न र हिँडडुल गर्न नसक्ने तर लिखित रूपमा आफ्ना कुरा राख्ने बालक दाहालले समसायमिक राजनीतिक परिस्थिति र नेताले खेल्नुपर्ने भूमिकाबारे लेखेका शब्दले तीन नेता झन् प्रभावित भए । तीन शीर्ष नेताको त्यो बैठकको प्रतिबद्धता अनुरूप नै एक सातापछि सरकारले शुक्रबार प्रतिष्ठानलाई एक करोड रुपैयाँ दिने निर्णय गरेको हो । प्रतिष्ठानलाई दिइएको रकम बालक दाहालको संरक्षणमा प्रयोग हुनेछ ।

यसअघि बालक दाहाललाई सुशील कोइराला सरकारले निःशुल्क उपचारको व्यवस्था गरेको थियो । सरकारले उक्त निर्णय गरेपछि बालक दाहाल झन्डै दुई महिना अमेरिकामा उपचार गरी फर्के । तर उनलाई के भएको हो भन्ने डाक्टरहरूले पनि स्पष्ट पार्न सकेनन् । त्यसपछि दाहाल स्वदेशमै बसिरहेका छन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

प्रकाशित मिति: Jul 16, 2016

प्रतिक्रिया दिनुहोस्