Logo
४ बैशाख २०८१, मंगलबार
(July 15, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माओवादीका नेता बालकृष्ण ढुङ्गेल विरुद्ध आयोगमा उजुरी

Dhungel News

न्यूज अप्रेशन, काठमाडाैं । तत्कालिन द्वन्द्वकालमा माओवादीले आफ्ना दुई छोरालाई हत्या गरेको अभियोग सर्वोच्च अदालतबाट ठहर हुँदा पनि कार्यान्वयन नभएको भन्दै ओखलढुङ्गाका उज्जन र गणेश श्रेष्ठका पिता रामेश्वर श्रेष्ठले सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी दर्ता गराएका छन् ।

आयोगले अदालतबाट किनारा भएका र विचराधिन मुद्दाहरु हेर्न मिल्ने वा नमिल्ने विवाद चलिरहेको समयमा श्रेष्ठ परिवारले आयोगमा उजुरी दर्ता गराएको हो । रामेछापको तारेवारी र ओखलढुङगामा गैरन्यायिक हत्या गरिएको ११ वर्ष पुगिसक्दा संलग्नहरुलाई कारवाही नभएको उजुरीमा उल्लेख छ । निशस्त्र मानिसलाई हत्या गरि जनयुद्धको नाममा जोगिन नमिल्ने भएकाले अदालतको फैसला कार्यान्वयनका लागि आयोगले सहयोग गर्नुपर्ने उजुरीमा दावी गरिएको छ ।

कुनै पनि राजनीतिक दलमा संलग्न नरहेका आफ्ना छोराहरुलाई सुराकीको आरोपमा माओवादीका नेता बालकृष्ण ढुङ्गेलको संलग्नतामा हत्या गरिएको उजुरीमा दावी गरिएको छ । हत्या गरिए पनि न्याय दिन आलटाल भइरहेकाले पीडित परिवार आयोगमार्फत न्याय दिलाउन पहल गरिदिन आग्रह समेत गरेको छ ।

उजुरी दर्ता गराउन गणेशकी पत्नी लक्ष्मिदेवी श्रेष्ठ र दिदी सावित्री श्रेष्ठ समेत पुगेकी थिइन् । सर्वोच्चले कर्तव्य ज्यानमा दोषी ठहर भएका ढुंगेललाई जोगाएर दल तथा सरकारले न्यायलाई मारेको आरोप उनीहरुले उजुरीमा गरेका छन् । श्रेष्ठको जेठो छोरो उज्जनको हत्या भएको १९ वर्ष पुगेको छ भने अर्को गणेशको हत्या भएको १३ वर्ष बितेको छ ।

२०५५ साल असार १० गते ओखलढुङगा तारकेरावारी खहरे खोलामा उज्जनलाई माओवादी कार्यकर्ताहरुले गोली हानि हत्या गरेका थिए । गणेशलाई उज्जनको हत्यारा भनि किटानी जाहेरी दिएको भन्दै खेतमा काम गरिहेको समयमा २०५९ सालमा माओवादी कार्यकर्ताहरुले नै हत्या गरेको उजुरीमा उल्लेख छ ।

उज्जनको उक्त मुद्दामा सर्वोच्चले पनि दुई पटक परमादेश जारी गरिसकेको छ भने गणेशको मुद्दा जिल्ला अदालत रामेछापमा दर्ता हुने तयारीमा रहेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले २०७२ पुस २३ गते पछिल्लो फैसला कार्यान्वयन गर्न दोस्रो पटक परमादेश जारी गरेको थियो । पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, शुसिला कार्की, बैद्यनाथ उपाध्याय, गोपाल पराजुली र ओमप्रकाश मिश्रको इजलाशले उज्जनको हत्यामा संलग्नहरुको विषयमा अदालतबाट भएको फैसला कार्यान्वयन गर्न भनेको थियो ।

प्रकाशित मिति: Jul 15, 2016

प्रतिक्रिया दिनुहोस्