Logo
१३ बैशाख २०८१, बिहीबार
(July 13, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महतोको भनाई- “मधेशी मोर्चा कुनै हालतमा नयाँ सरकारमा सहभागी हुंदैन”

rajendra-mahato

काठमाडौं । देशमा बदलिंदो राजनीतिक परिस्थितसंगै निर्णायक भूमिकामा पुगेको मधेशी मोर्चा नयां बन्ने सरकारमा जाने कि नजाने बारे चर्चा भई रहेको बेला मोर्चाका एक प्रमुख घटक दल सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मोर्चा सरकारमा सहभागी हुने कुनै पनि संभावना नरहेको स्पष्ट पारेका छन् ।

सदभावना अध्यक्ष महतोले मधेशको मुद्दा संबोधन र सीमांकनको टुंगो नलागे सम्म मधेशी मोर्चा कुनै हालतमा सरकारमा सहभागी नहुने धारणा राखेका छन् । महतोले चांडैनै मोर्चाको बैठक बसि यसबारे आधिकारिक निर्णय गरिने बताए । बदलिंदो राजनीतिक अवस्था बारे चर्चा गर्दै आधिकारिक धारणा तय गर्न मोर्चाको बैठक छिट्टै बोलाउने प्रयास भई रहेको महतोले बताए ।

नयां बन्ने सरकारमा मधेशी मोर्चाको भूमिका बारे बताउंदै महतोले परिस्थितिको आकलन, नयां बन्ने सत्ता गठबन्धनको मधेशबारे धारणा प्रष्ट रूपमा बाहिर आए पछि मात्रै अगाडि कसरी बढ्ने बताए। माओवादी केन्द्र र नेपाली कांग्रेसले मधेशको मुद्दा संबोधन गर्न कस्तो खाले सहमति गर्छन र सीमांकन बारे प्रष्ट धारणा आए पछि मात्रै मोर्चाले सरकारलाई बाहिर बाट समर्थन गर्ने कि नगर्ने बारे अन्तिम निर्णयमा पुग्ने महतोले बताए ।

विगतको सरकारहरूमा नेपाली कांग्रेस र माओवादी दुबैको मधेश प्रतिको दृष्टिकोण विश्वासिलो नरहेको बताउंदै महतोले मधेशी मोर्चा यसपाली धेरैनै सचेत र गम्भीर बनेको बताए। उनले भने ‘विगतको तीतो अनुभवबाट हामी धेरै सचेत भएका छौं। मधेशी मोर्चाले मधेशको हित हेरेर मात्रै कुनै किसिमको निर्णय गर्ने छ ।

नेपाली कांग्रेस र माओवादी केन्द्र बीच भएको ७ बूंदे सहमतिबारे महतोले दुबै पार्टीबाट आधिकारिक रूपले मोर्चालाई अवगत नगराए सम्म त्यसमा कुनै टिप्पणी नगर्ने बताए । सदभावना अध्यक्ष महतोले सहमति पत्रमा मधेशको मुद्दा र सीमांकन बारे लेखेर मात्रै नहुने त्यसको लागि स्पष्ट रोडम्याप ल्याउने मांग गरे। मधेशले विश्वास गर्ने रोडम्याप ल्याए संसदमा संविधान संशोधनमा हाम्रो सकारात्मक भूमिका रहने महतोले बताए ।

उनले भने मधेशको सीमांकन सहित अन्य मुद्दा वृहत राजनीतिक सहमति सहितको संविधान संशोधनले मात्र संभव भएकाले कांग्रेस र माओवादीले त्यस अनुरूप अगाडि बढे मात्रै नयां सरकारलाई हाम्रो बाहिरबाट समर्थन हुने बताए। ओली सरकारले वार्ता पत्रमा मात्रै मधेशको मुद्दालाई अल्झाएको आरोप लगाउंदै महतोले सरकारले इमानदारीपूर्वक प्रयास गर्ने हो भने समस्या समाधान हुने बताए ।

उनले कांग्रेस माओवादी गठबन्धनले विगतको गल्ती नदोहराए र इमानदारीपूर्वक समस्या समाधानको लागि अघि बढे देशमा दिगो शान्ति र राजनैतिक स्थायित्व हुने स्पष्ट पारे ।

प्रकाशित मिति: Jul 13, 2016

प्रतिक्रिया दिनुहोस्