Logo
११ बैशाख २०८१, मंगलबार
(July 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कश्मिरमा हिंसा: अमरनाथ जाने तीर्थयात्री पनि अलपत्र, २३ को मृत्यु

Kasmir Hinsa

नयाँदिल्ली । हिजबुल मुजाहिद्दिनका कमाण्डर बुरहान वानी मारिएपछि भारतको कश्मिरमा भड्किएको हिंसामा कम्तिमा पनि २३ जनाको ज्यान गएको छ । मुजाहिद्दिनका कमाण्डर मारिएपछि केही दिनयता तनावपूर्ण अवस्था रहेको कश्मिरमा मारिनेको संख्या २३ पुगेको हो भने घाइतेको संख्या तीन सय नाघेको छ ।

हिंसाका कारण कश्मिर हुँदै अमरनाथ जाने तीर्थयात्री पनि अलपत्र परेका छन् । स्थानीयले हड्ताल गरेपछि कश्मीर केन्द्री विश्वविद्यालयमा परीक्षा पनि स्थगित भएको छ। तनाव जारी रहेपछि श्रीनगरका ११ स्थानमा कर्फ्यू लगाइएको छ भने १२ सय अतिरिक्त अर्धसैनिक बललाई तैनाथ गरिएको छ ।

यसैबीच अमरनाथ यात्रामा गएका तीर्थयात्री फर्किन थालेका छन् । राज्य सरकारले अमरनाथ यात्री जम्मुबाट बालटाल र पहलगाम जान नसक्ने जनाएपछि तीर्थयात्री फर्केका हुन् । जम्मुका आईजी दानेश रानाले जम्मुबाट बालटाल र पहलगाम मार्गका लागि अमरनाथ यात्राको अनुमति दिएर जोखिम लिन नसक्ने बताएका छन् । उनले जम्मुक्षेत्रको अवस्था सुधार नहुन्जेलसम्म त्यहाँ फसेका करिब १० हजार यात्रुलाई अघि बढ्न नदिने बताए ।

यसअघि आइतबार केन्द्रीय गृह मन्त्रीले जम्मु कश्मिरको अवस्थालाई लिएर उच्चस्तरीय बैठक बोलाएका थिए । बैठकमा गृह सचिव, संयुक्त सचिव (कश्मिर डिभिजन), आईबी प्रमुख र गृह मन्त्रालयका वरिष्ठ अधिकारी सहभागी थिए । उता राज्यकी मुख्यमन्त्री महबुबा मुफ्तीले पनि त्यहाँको मन्त्रिपरिषद्को बैठक बोलाएकी छन् । भारतीय गृहमन्त्री राजनाथ सिंहसँग उनले फोनमा कुरा गरेकी छन् ।  तस्बिर: ABP News

प्रकाशित मिति: Jul 11, 2016

प्रतिक्रिया दिनुहोस्