Logo
७ बैशाख २०८१, शुक्रबार
(July 10, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आइएसले सैन्य हेलिकप्टर खसाल्यो, दुई रसियाली पाइलटको मृत्यु

russian-helicopter

एजेन्सी, सिरिया । इस्लामिक स्टेटका लडाकुले सिरियामा सैन्य हेलिकप्टरमाथि आक्रमण गरेर खसाल्दा दुई रसियाली पाइलटको निधन भएको छ ।

शुक्रबार सिरियाको पाल्मिरा शहरमा भएको यस घटनामा मारिनेमा रियाफागत खबिबुलिन र येभगेनी डोलगिन रेहेको स्थानीय मिडियालाई उद्धृत गर्दै बिबिसीले लेखेको छ ।

उनीहरुले सिरियाली सरकारको आग्रहमा आइएसबिरुद्धको अप्रेशनमा एमआई–२५ नामक सिरियन हेलिकप्टर उडाइरहेका थिए । घटनाको जिम्मेवारी आइएसले लिएको छ ।

‘हेलिकप्टर पाइलटहरुले सिरियाली सेनाबाट आइएसबिरुद्ध कारवाही गर्नका लागि सहयोग मागेका थिए,’ रसियाली सेनाको वक्तव्यलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यममा जनाइएको छ ।

कारबाहीपछि फर्कने क्रममा उनीहरुमाथि आक्रमण भएको र सिरियाली सेनाको नियन्त्रणमा रहेको क्षेत्रमा दुर्घटनाग्रस्त भएको वक्तव्यमा उल्लेख छ ।

गत नोभेम्बरमा टर्कीको फाइटर प्लेनले सिरिया–टर्कीको सीमा क्षेत्रमा रसियाको बम्बरलाई खसालेपछि दुई देशबीचको सम्बन्ध चिसिएको थियो ।

दुवै पाइलटलाई रसियाको स्टेट अवार्डका लागि सिफारिस गरिएको बताइएको छ । सन् २०१५ को सेप्टेम्बरदेखि सिरियामा रसियाले कारबाही थालेपछि त्यहाँ आफ्ना १२ सैनिक गुमाइसकेको छ ।

प्रकाशित मिति: Jul 10, 2016

प्रतिक्रिया दिनुहोस्