Logo
१५ चैत्र २०८०, बिहीबार
(July 8, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भर्नाको मापदण्ड परिवर्तन: डी प्लस ल्याउनेले पनि सीटीईभिटीमा पढ्न पाउने

CTEVT-Nepal-Exam-Notice-and-Result-2072काठमाण्डौ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभिटी) आफ्नो डिप्लोमा कोर्समा भर्ना हुने मापदण्ड परिवर्तन गरेको छ । एसएलसी पास भएका विद्यार्थीलाई लक्षित गर्दै सीटीईभिटीको राष्ट्रिय पाठ्यक्रम बोर्डको आज बसेको बैठकले भर्ना मापदण्ड परिवर्तन गरेको सदस्य सचिव रामहरि लामिछानेले जानकारी दिए ।

बैठकले स्वास्थ्य बिषयको डिप्लोमा कोर्सको लागि जीपीए कम्तीमा २, अंग्रेजी, गणित र विज्ञानमा सी चाहिने निर्णय यथावत राखेपनि अन्य बिषयमा पढ्न चाहनेको लागि भने मापदण्ड परिवर्तन गरेको छ ।

परिषद्ले एसएलसीमा अंग्रेजी, गणित र विज्ञान बिषयमा डी प्लस अंक ल्याउने विद्यार्थीले समेत आफ्नो डिप्लोमा कोर्समा भर्ना पाउने गरी भर्नाको मापदण्ड परिवर्तन गरेको हो । यसअघि डिप्लोमा तहको सबै विषय अध्ययनको लागि अंग्रेजी, गणित र विज्ञान बिषयमा सी चाहिने व्यवस्था थियो ।

ईन्जिनियरिङतर्फ डिप्लोमा पढ्न अंग्रेजीमा डी प्लस, विज्ञान र गणितमा सी भए पुग्ने बैठकले निर्णय गरेको छ । यसअघि सबै तीनै बिषयमा कम्तिमा सी ल्याउनुपर्ने प्रावधान थियो ।

कृषि र वनमा डिप्लोमा कोर्स पढ्नको लागि अंग्रेजी, गणित र विज्ञानमध्ये २ वटामा सी र एउटामा डी प्लस भएपनि भर्ना पाइने निर्णय पाठ्यक्रम बोर्डले गरेको छ ।

होटल म्यानेजमेन्ट, उद्यमशीलता विकास र सोसल वर्कजस्ता बिषयमा डिप्लोमा कोर्सको लागि अंग्रेजी, गणित र विज्ञान तीनैमा डी प्लस भए पनि भर्ना पाइने निर्णय भएको परिषद्का सदस्य सचिव लामिछानेले बताए ।

प्रकाशित मिति: Jul 8, 2016

प्रतिक्रिया दिनुहोस्