Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 3, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्डको आँसु झलनाथले पुछिदिए , अव तीनचित खाने पालो ओलीको !

 भूपेन्द्र आचार्य , काठमाडौं । बिरादरी भनेको बिरादरी नै हुनेरहेछ । प्रधानमन्त्री केपी ओलीले कुनै भद्र सहमति भएको छैन, सत्ता छाड्दिन, चुनाव गराएपछि बहुमत ल्याएर फेरि प्रधानमन्त्री बनेर देखाइदिन्छु भनेपछि निद्राबाट व्यूँझिएझैं झसङ्ग भएका प्रचण्डको रुवावासी देखेपछि झलनाथ खनालले आँसु पुछिदिएका छन् । ओलीको खोइरो खन्दै हावादारी गफ गरेर हुन्न भनेर ओलीको गुटबाजीविरुद्ध देशव्यापी कार्यकर्ता भेला गर्दै हिडेका एमालेका अर्का बरिष्ठ नेता माधवकुमार नेपालले समेत प्रचण्डकै भनाईलाई सही भनेका छन् ।
     त्यसो त प्रचण्डले नै पहिलो संविधानसभाको निर्वाचनमा दुई ठाउँबाट हारेका नेपाललाई मनोनित गराएर प्रधानमन्त्री बनाएका थिए भने झलनाथ खनालले पनि प्रचण्डकै चयनमा प्रधानमन्त्री बन्ने सौभाग्य पाएका थिए । यतिबेला आफ्नै पार्टीका अध्यक्ष केपी ओलीले झूठ बोलेपछि दुबै नेताले गुणको बदला गुण तिरेका छन् ।
     र भनेका छन्– प्रचण्डलाई प्रधानमन्त्री दिने सहमति भएकै हो, बेइमानी गर्न मिल्दैन ।
     राष्ट्रिय सरकारको नेतृत्व गर्न तैयार छु भनिरहेका प्रचण्ड ओलीको अभिव्यक्तिबाट उत्तानो परेका थिए भने अव तीनचित खाने पालो ओलीको आएको छ । प्रचण्डको आँसु त झलनाथ र माधवले पुछिदिए, ओलीको आँसु पुछ्ने कसले ?
     यतिनै बेला एमालेभित्र आरोप प्रत्यारोपको क्रममा माधवकुमार नेपालले अर्काकी स्वास्नी ताक्ने भनेर लगाएको आरोपले एमाले सिंगो बृत्तमा ९ रेक्टरको भूकम्प गएको छ । 
     नेपाली राजनीतिमा राष्ट्रिय सहमति टाढाको विषय बन्दै गएको छ । बिना राष्ट्रिय सहमति संविधान कार्यान्वयन हुनैसक्दैन । सुशासन स्थापित गर्न सकिन्न र भ्रष्टाचार बढेर जान्छ । अस्थिरता र अराजकताका कारण उद्यम, उत्पादन, रोजगारी र लगानी केही पनि सम्भव देखिदैन । यहीकारणले राष्ट्रिय सहमति र संविधानको कार्यान्वयन अत्यावश्यक देखिएको हो । तर, संविधान विरोधीको बिद्रोह, संविधानवादीको सडक आन्दोलनले राष्ट्रिय सहमतिलाई असम्भव पारिरहेको छ ।
     यसकारण राष्ट्रिय सरकार सम्भव नै देखिदैन । ओलीका ठाउँमा प्रचण्ड आउनुमात्र राष्ट्रिय सहमति होइन । यो त काँध फेर्ने स्वार्थको करामतमात्र हो ।
     राष्ट्रिय सहमति निर्माण गर्न पहिले मधेसी मोर्चासहितको जनजातीय गठबन्धनको आन्दोलनलाई संवोधन गरेर लोकतान्त्रिक अभ्यासमा फर्काउनुपर्छ । अनि अतिवादीको समन गरेर लोकतन्त्रको लक्ष्यतिरको गमन हुनसक्छ । जरुरी यो काम सुरुआत गर्न ओलीले सकेनन्, ओलीको काँधबाट सत्तासुख आफ्नो काँधमा सार्न सफल भइहाले पनि प्रचण्ड ओलीभन्दा भिन्न रुपमा प्रस्तुत हुनसक्नेछैनन् । किनकि प्रचण्डप्रति पनि मधेसी र जनजातिको खासै आकर्षण छैन ।
     प्रचण्ड नै हुन् मधेसी र जनजातिलाई आत्मनिर्णयसहितको एक प्रदेश र पहिचानसहितको संघीयता दिन्छु भनेर उराल्ने । अहिले आएर परिस्थिति बदलिएको छ, परिभाषा बदलिएको छ र संविधानसमेत यिनै कारणले कार्यान्वयन अड्किएको छ । अनि कसरी राष्ट्रिय सहमति निर्माण हुनसक्छ ? बिस्तारै द्वन्द्व बढेर बिकराल रुप लिदै गएको छ । कतिपय राष्ट्रिय मुद्दाहरु जनमत संग्रहबिना संवोधन हुन नसक्ने स्थिति बनिसकेको छ । यो अवस्थामा प्रचण्डको आँसु पुछेर झलनाथ र माधव नेपालले गुण तिर्दैमा राष्ट्रिय दायित्व पूरा हुनसक्दैन ।
     केपी ओलीले भद्र सहमति स्वीकार गरे प्रचण्ड हाँस्लान्, अस्वीकार गरेर झट्का दिए भने प्रचण्डलाई दिक्क लाग्ला । उनको राजनीतिक जित वा हार होला । तर देशले हारिरहेको, जनताले भोगिरहेको हुटहुटी बिषयमा प्रचण्डजस्ता नेताले बेवास्ता गरेर सत्तालोलुपता देखाउनु भनेको लोकतन्त्रको हार हो । अहिले केपी ओलीले जसरी लोकतन्त्रलाई हावाबाट बिजुली, घरघरमा ग्यासको पाइप, चुच्चे रेल चढेर पोखरा र लुम्बिनी भ्रमण, प्रशान्त महासागरमा नेपाली झण्डा बोकेको पानीजहाजको सपना लोकतन्त्र देखाइरहेका छन्, राज्यसञ्जालमा भ्रष्टाचार, अनियमितता, दूराचार बढाएर लोकतन्त्र भनेको लखनैं लूट हो भन्ने प्रमाणित गरिरहेका छन्, यो भनेको वर्तमान नेतृत्वपंक्ति लोकतन्त्र हाँक्न असक्षम छ भन्ने नै हो ।
     जनता र देशको आँसु पुछ्ने कोही भएन, प्रचण्डको आँसु पुछाइको के अर्थ रह्यो र ? लेखक राजतिलकका प्रधान सम्पादक हुन् ।

प्रकाशित मिति: Jun 3, 2016

प्रतिक्रिया दिनुहोस्