अमेरिका कप फुटबलमा आयोजकको पहिलो जित
काठमाडौं । कोपा अमेरिका कप फुटबलमा आयोजक अमेरिकाले पहिलो जित हात पारेको छ । ग्एराति सिकागोमा भएको समूह ए अन्तर्गतको आफ्नो दोस्रो खेलमा आयोजक अमेरिकाले कोस्टारिकालाई ४–० ले हराएको हो । पहिलो खेलमा अमेरिका कोलम्बियासँग २–० ले पराजित भएको थियो ।
अमेरिकाको जितमा क्लेन्ट डेम्प्सी, जर्मेन जोन्स, बबी उड र ग्राहम जुसीले एक एक गोल गरे । नवौं मिनेटमा नै डेम्प्सीले गोल गर्दै अमेरिकालाई सुरुवाति अग्रता दिलाए ।
३७ औं मिनेटमा जोन्स र ४२ औं मिनेटमा उडले गोल गरेपछि पहिलो हाफमा अमेरिकाले ३–० को अग्रता लियो । ८७ औं मिनेटमा जुसीले गोल गर्दै ४–० को शानदार जित दिलाए ।
बलमा नियन्त्रण कोस्टारिकाले बढी लिएको भएपनि गोल भने गर्न सकेन । दुवै टोलीले गोल गर्ने केही राम्रा मौका गुमाएका थिए ।
अमेरिकालाई यो खेल जित्नै पर्ने दबाव थियो । यदि हारेको भए समूह चरणबाटै बाहिरिने अवस्था रहन्थ्यो । जितसँगै अमेरिकाले तीन अंक जोडेको छ ।
पहिलो खेलमा पाराग्वेसँग गोलरहित बराबरीमा रोकिएको कोस्टारिकाले भने अहिलेसम्म एक अंक मात्रै जोडेको छ ।