Logo
६ बैशाख २०८१, बिहीबार
(June 9, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पार्टी घोषणा गर्न लागेको नयाँ शक्तिको यस्तो छ तयारी


१५ सयलाई बिरयानी खुवाइने
काठमाडौं । जेठ ३० गते काठमाडौंको दशरथ रंगशालामा पार्टी घोषणा गर्न लागेको नयाँ शक्ति नेपालले २५ देशका राजदूत सहभागी हुने जनाएको छ।
पार्टी स्थापना तथा घोषणासभामा विभिन्न २५ देशका राजदूत तथा कुटनीतिक नियोगलाई निम्ता पठाइएको र देशका सबै पार्टीका प्रमुख नेता र सांसदलाई समेत निमन्त्रणा गरिएको प्रवक्ता तथा एवं प्रचार–प्रसार उपसमितिका संयोजक खिमलाल देवकोटाले जानकारी दिए। 
पहिलोपोष्टमा उल्लेखित समाचार अनुसार देशका ७५ जिल्ला र विदेशका २४ देशमा अन्तरिम पार्टी कमिटी निर्माण भइसकेको जनाउने नयाँ शक्तिले एक लाख कार्यकर्ता उतार्ने दाबा गर्दै आएको छ।
रंगशालामा हुने कार्यक्रममा सहभागी हुन काठमाडौंका चार मुख्य ठाउँबाट सहभागीलाई रंगशाला पठाउने व्यवस्था मिलाइएको छ।
कुपण्डोल, बबरमहल, कालिमाटी र रत्नपार्कबाट झाँकी सहितको जुलुस रंगशालामा प्रवेश गर्ने जनाइएको छ। राजधानी बाहिरबाट आउने सहभागीले आफैं गाडीको व्यवस्था गरेर आएको खण्डमा ती बस जुलुस सुरु हुने स्थानसम्म जान दिनेगरी ट्राफिक प्रहरीसँग समन्वय भइरहेको पार्टीले जनाएको छ।
पार्टी घोषणाका सभामा पाँच सय जनालाई मञ्चमा बस्ने व्यवस्था मिलाइएको व्यवस्थापन विभागले जनाएको छ। कार्यक्रम प्रचारप्रसारको लागि देश-विदेशका सञ्चार माध्यममा आबद्ध तीन सयभन्दा बढी सञ्चारकर्मीलाई पासको व्यवस्था मिलाउनुका साथै मिडिया सेन्टर समेत स्थापना गरिने प्रचारप्रसार उपसमितिले जनाएको छ।
पार्टी घोषणा राष्ट्रिय भेलामा सहभागी हुन आउने प्रतिनिधिहरुलाई नयाँ शक्तिले बिरयानी खुवाउने भएको छ। 
राष्ट्रिय भेलाको लागि गठित प्रतिनिधि आवास व्यवस्थापन उपसमितिकी संयोजक बलावती शर्माका अनुसार छलफल सत्रका करिब १ हजार ५ सय प्रतिनिधिलाई नयाँ परिकारका रुपमा बिरयानी खुवाउने तयारी गरिएको छ । खाजा, खाना लगायतका सबै परिकारको खाद्य गुणस्तर जाँच गरेर वितरण गर्नेसमेत उनले बताइन्।
नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने छलफल सत्रका विभिन्न खाना व्यवस्थाको लागि दक्ष स्वयंसेवक समेत खटाइने उनको भनाइ छ। 
‘करिब सात सय प्रतिनिधिलाई ३०, ३१ र ३२ गते तीन दिनको लागि उपत्यकाका विभिन्न क्षेत्रमा स्वच्छ र सफा आवासको व्यवस्था छ,’ उनले भनिन्, ‘आर्थिक मितव्ययिता अवलम्बन गरी उपत्यकामा निजी आवास हुने परिषद् सदस्यहरुले कम्तिामा एक जना प्रतिनिधिको आवासको व्यवस्था गर्नेगरी मिलाइएको छ।’
नयाँ शक्तिले पार्टी घोषणासभा जेठ ३० गते दशरथ रंगशालामा गर्नेछ भने जेठ ३१ र ३२ गते प्रतिष्ठानमा दुई दिनसम्म छलफल सत्र चलाउनेछ। 

प्रकाशित मिति: Jun 9, 2016

प्रतिक्रिया दिनुहोस्