Logo
१३ बैशाख २०८१, बिहीबार
(June 14, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सांसद बन्न स्नातक तह पढेको हुनुपर्ने नयाँ शक्तिमा प्रस्ताव

काठमाडौं । नयाँ शक्ति नेपालले प्रत्यक्ष निर्वाचित हुन चाहने सांसदले कम्तीमा स्नातक उत्तीर्ण हुनुपर्ने प्रस्ताव गरेको छ । प्रज्ञा प्रतिष्ठान कमलादीमा सोमबार सुरु छलफल सत्रमा संयोजक बाबुराम भट्टराईको राजनीतिक प्रतिवेदन ‘नयाँ शक्तिको आधारतत्त्व’, नेता देवेन्द्र पौडेलको ‘संगठन विधान प्रतिवेदन’ र रामेश्वर खनालको ‘आर्थिक विकास र समृद्धिको प्रारूप’ माथि १२ समूहमा बाँडिएर बहस गर्दै प्रतिनिधिले यस्तो माग गरेका हुन् । समानुपातिकतर्फ भने शैक्षिक योग्यतासम्बन्धी प्रावधान नराखिने गरी छलफल सत्रमा बहस भएको हो । 
भट्टराईले वाम–लोकतान्त्रिक धारको पार्टी निर्माण गर्न प्रस्ताव गरे पनि कतिपय सहभागीले भने वाम भनिरहनुनपर्ने, लोकतान्त्रिक भने पुग्ने जिकिर गरे । आफूलाई वामपन्थी भन्ने पार्टीहरू राजनीतिक कार्यक्रममा वाम दिशा तय गर्न चुकेको भन्दै ती सहभागीले नयाँ शक्ति वैकल्पिक लोकतान्त्रिक शक्ति बन्नुपर्ने टिप्पणी गरे । नयाँ शक्तिले पार्टीका सबै तहका नेता अनिवार्य चुनिएर आउनुपर्ने व्यवस्था गरेको छ । निर्वाचित प्रतिनिधि पूर्वप्रतिबद्धताबाट च्युत भए उसलाई प्रत्याहवान (फिर्ता बोलाउन सकिने) व्यवस्था राख्न प्रतिनिधिले माग गरेका छन् ।
पार्टी छाडिजानेलाई फूलमाला लगाएर बिदा गर्ने प्रस्तावसमेत अधिकांश समूहबाट आएको छ । १ सय ५१ सदस्यीय केन्द्रीय समिति बने पनि हाललाई ९९ सदस्यीय केन्द्रीय समिति घोषणा गर्ने, छलफलपछि त्यसमा नेता थप्दै जाने, केन्द्रीय समितिलाई अर्को वर्षभित्र महाधिवेशन गरिसक्ने गरी आयोजक समितिमा परिणत गर्ने केन्द्रीय नेतृत्वको तयारी छ । केन्द्रीय समिति सदस्य मंगलबार चयन हुनेछन् ।
बन्द सत्रको सट्टा छलफल सत्र नाम दिइएको उक्त सभामा १५ सय प्रतिनिधि कायम गरिए पनि तीन दिनअघि जोडिएको संघीय जनमुक्ति पार्टीका १ सय ७५ प्रतिनिधि थपिएपछि अरू कार्यकर्ताले समेत प्रतिनिधि हुन पाउनुपर्ने माग गरे । नयाँ शक्तिमा विलय हुन पुगेको उक्त समूहलाई १ सय १५ प्रतिनिधि छुट्याइएपछि नेताहरूले असन्तुष्टि जनाएका थिए ।
त्यसपछि बढाएर १ सय ७५ बनाउँदा अरू कार्यकर्ताले चर्को प्रतिवाद गर्दा छलफल सत्र निर्धारित समयभन्दा डेढ घण्टा पछि धकेलियो । ‘तनावै त होइन, छलफलसम्म भएको हो । त्यसपछि अरू प्रतिनिधि पनि थपिएका छन्,’ प्रवक्ता खिमलाल देवकोटाले भने । सबै समूहबाट आएका सुझावलाई निर्णयार्थ पेस गर्न मंगलबार बिहान पार्टी कार्यदल बैठक बस्ने उनको भनाइ थियो, कान्तिपुरमा उल्लेख छ । 

प्रकाशित मिति: Jun 14, 2016

प्रतिक्रिया दिनुहोस्