Logo
१३ बैशाख २०८१, बिहीबार
(June 19, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पैसा कमाउने प्रलोभनमा खुलेआम यौन व्यवसाय, थोरैबाट सुरक्षित सम्पर्क !


धादिङ । धादिङ जिल्लाभित्र पर्ने मुख्य दुईवटा राष्ट्रिय राजमार्ग खण्डमा पछिल्लो समयमा यौन व्यवसायको सञ्जाल बढ्दै गएको तथ्याङ्क आएको छ । अवैध धन्दा मानिने राजमार्ग क्षेत्रमा यो व्यवसायको डरलाग्दो सञ्जाल बनेको छ । 
जिल्लाभित्र पर्ने त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग छेउछाउमा बढ्दै गएको यौन व्यवसायले नेपालको कूल तथ्यांकको एक प्रतिशत भाग ओगटेको एक तथ्यांकले देखाएको छ । अमेरिकी सहयोग नियोग युएसएआईडीको सहयोगमा चन्द्रज्योति एकीकृत ग्रामीण विकास समाज सिर्डस धादिङले सञ्चालन गरेको परियोजनाको चार वर्षको अध्ययनले यो तथ्यांक सार्वजनिक गरेको हो ।
आर्थिक अवस्था कमजोर भएका, दलालबाट फसाइएका, पैसा कमाउने प्रलोभनमा परेका, श्रीमान् विदेश भएका र श्रीमानबाट परित्याग गरिएका केही महिलाहरु खुलेआम यौन व्यवसायमा लागेको अध्ययनले देखाएको छ । 
राजमार्ग क्षेत्रमा यौन व्यवसायको क्षेत्र बन्न लागेकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । 
जिल्ला स्वास्थ्य कार्यालय धादिङका वरिष्ठ जनस्वास्थ्य प्रशासक जीवनकुमार मल्ल यौन व्यवसायको डरलाग्दो स्वरुपले धादिङ जिल्लालाई बद्नाम गर्न लागेको हुँदा यस्ता गलत कार्य रोक्न सबै सक्रिय हुनुपर्ने बताएको खबर चितवन पोष्टमा छ ।
यौन व्यवसायमा लाग्नेहरुका लागि दिगो जीविकोपार्जनका कार्यक्रम नल्याएसम्म यसले विकराल रुप लिन सक्ने भन्दै मल्लले यसका लागि सरोकारवाला निकाय अलि बढी क्रियाशील हुनुपर्ने सुझाव दिए । चार वर्षसम्म चलेको परियोजनाको अवधिमा परियोजनाका स्वयंसेवकहरुले ३ हजार ४२५ जना यौनकर्मीसँग भेटघाट गरेका थिए । 
यस क्रममा २ हजार ७९१ जनाको स्वास्थ्य परीक्षण गरिएकोमा १ हजार २१५ जनामा कुनै न कुनै प्रकारको यौन रोग भएको भेटिएको र १३ जनामा एचआईभी संक्रमण भएको देखिएको सिर्डस् धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीले बताए ।
स्वास्थ्य परीक्षण तथा उपचारका लागि थाक्रे गाविसको महादेवबेसीमा नियमित र गजुरी गाविसको मलेखुमा महिनामा २ दिन घुम्ती क्लिनिक समेत सञ्चालन गरिएको रुपाखेतीले जानकारी दिए । विगत ४ वर्षदेखि राजमार्ग क्षेत्रलाई लक्षित गरी सञ्चालन गरिएको परियोजना हालै सम्पन्न भएको छ ।
धेरैजसो यौनकर्मीहरुको नियमित ग्राहक भए पनि बाँकी रहेकाहरु भने सम्पर्कका आधारमा राजमार्गका विभिन्न स्थान, सडक छेउछाउका होटल, नजिकैको जंगल र जिल्ला बाहिर समेत पुग्ने गरेको, सुरक्षित यौन सम्पर्क थोरैबाट मात्र हुने गरेको समेत अध्ययनले देखाएको छ ।

प्रकाशित मिति: Jun 19, 2016

प्रतिक्रिया दिनुहोस्