Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति भण्डारीको कुनै औपचारिक भ्रमण थिएन, मध्यप्रदेश यात्रा रद्द


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको भारत मध्यप्रदेशको यात्रा रद्द भएको छ । राष्ट्रपति भण्डारीलाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले उज्जैनमा आरम्भ भएको  कुम्भ मेलामा सहभागी हुनका लागि  आमन्त्रण गरेका थिए ।

राष्ट्रपति भण्डारी आगामी सोमबार त्यसतर्फ जाने तयारीमा थिइन् । मुख्यमन्त्रीको चौहानको आमन्त्रणपछि नेपाल सरकारले राष्ट्रपतिको यात्रालाई औपचारिक रूपमा व्यवस्था गर्न कूटनीतिक पहल गरेको थियो । तर राष्ट्रपति भण्डारीलाई मुख्यमन्त्री चौहानले विशिष्ट अतिथिका रूपमा मात्र निम्त्याउन चाहेको बताइएको छ ।

राष्ट्रपति भण्डारीको उज्जैन यात्राका सम्बन्धमा भारतको संघीय सरकारले औपचारिक भ्रमणको स्वरूप प्रदान गर्न अनिच्छा व्यक्त गरेपछि र मन्त्रीपरिषद्ले अनुमोदन नगरिँदा भण्डारीको कुम्भमेला यात्रा नहुने भएको स्रोतले जनाएको छ ।

राष्ट्रपति भण्डारीका स्वकीयसचिव भेषराज अधिकारीका अनुसार, मन्त्रिपरिषद्ले राष्ट्रपतिको भ्रमण स्वीकृत नगरेपछि स्थगित भएको हो । ‘मन्त्रिपरिषद्ले स्वीकृत गरेको खबर अहिलेसम्म त आएको छैन’, उनले भने, ‘अहिलेलाई स्थगित नै भएको छ ।’ यसअघि राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालय तथा नेपालस्थित भारतीय दूतावास र भारतीय विदेश मन्त्रालयले समेत राष्ट्रपति भण्डारीको भ्रमणको तयारी थालेका थिए ।

प्रधानमन्त्री कार्यालयका परराष्ट्रविज्ञ गोपाल खनालले आवश्यक तयारी नपुगेकाले राष्ट्रपतिको भारत भ्रमण स्थगित भएको बताए ।  ‘राष्ट्रपतिज्यूको भारत भ्रमणका लागि तयारीका केही काम बाँकी नै थिए’, उनले भने, ‘नेपालबाट ‘हेड अफ द स्टेट’ जाने भएकाले भ्रमणलाई विशेष रूपमा लिइएको थियो । यो भ्रमण तयारी नपुगेकै कारण रद्द भएको हो । यसमा अरू कुनै कारण छन् भन्ने मलाई लाग्दैन ।’

भारत भ्रमणमा जाने अन्तिम तयारीमा रहेकी राष्ट्रपति भण्डारीले बुधबार परराष्ट्र मामिला हेर्ने पत्रकारहरूसँग भएको भेटमा आफ्नो भ्रमणबाट दुई देशबीचको असमझदारी अन्त्य हुने विश्वास व्यक्त गरेकी थिइन् । राष्ट्रपति भण्डारीको भ्रमण रद्द भएको सूचना नेपाल सरकारले भारत सरकालाई दिइसकेको छ ।

परराष्ट्र स्रोतका अनुसार नयाँ दिल्लीस्थित राजदूत दीपकुमार उपाध्यायमार्फत राष्ट्रपतिको भ्रमण रद्दको सूचना भारतीय परराष्ट्र मन्त्रालयलाई शुक्रबारै दिइसकिएको छ ।  राष्ट्रपतिको भ्रमण तत्काललाई नेपाल सरकारबाटै रद्द गरिएको अवस्थामा भ्रमणको अर्को मितिबारे दुबै पक्षले केही बोलेका छैनन् ।

मध्यप्रदेशको कुम्भ मेलामा सहभागी भएपछि उनी नयाँदिल्ली भ्रमणमा जाने कार्यक्रम तय भएको थियो भने भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज र कांग्रेस आईकी अध्यक्ष सोनिया गान्धीलगायत विभिन्न भारतीय राजनीतिक दलका नेतासँग भेट्ने कार्यक्रम बनेको थियो ।

नेपालमा भइरहेको सत्ता परिवर्तनको राजनीतिक घटनाक्रमबारे बिहीबारै भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले आफूहरूले नजिकबाट नियालिरहेको टिप्पणी गरेका थिए । उनले सरकार परिवर्तनको प्रयासलाई नेपालको आन्तरिक मामिला भएकाले कुनै टिप्पणी नगर्ने तर नेपाल निकट छिमेकी भएकाले आफूहरूले नजिकबाट नियालिरहेको प्रतिक्रिया दिएका थिए ।

यसअघि चार महिना लामो नाकाअवरोध खुलेपछि गत फागुन ७ देखि ११ गतेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको औपचारकि भ्रमण गरेका थिए । त्योबेला पनि ओलीले दुई देशबीचको राजनीतिक असमझदारी अन्त्य भएको धारणा व्यक्त गरेका थिए । 

प्रकाशित मिति: May 6, 2016

प्रतिक्रिया दिनुहोस्