Logo
८ आश्विन २०७९, शनिबार
(May 7, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बुद्धको जन्मभूमि : अन्तर्राष्ट्रिय अपराधीहरुको अखडा बन्दै


रुपन्देही ।
अन्तर्राष्ट्रिय महत्वको ऐतिहासिक तथा पुरातात्विक धरोहर रहेको लुम्बिनीमा गत केही वर्षयता अपनाइएको विशेष सुरक्षा सतर्कता र व्यवस्थापनका बाबजूद पनि आपराधिक घटनामा कमी आएको छैन ।

गत २०७१ साउन १ देखि यसक्षेत्रमा मेटलडिटेक्टरसहितको प्रहरीको पालोपहरा छ । तर यसै अवधिमा लुम्बिनी गुरुयोजना क्षेत्रभित्र तीनओटा मानव शवहरु भेटिएका छन् । स्थानीय मनमोहन चौधरी भन्छन्, –“यस वर्ष लुम्बिनी गुरुयोजना क्षेत्रभित्र सयौंपटक आगलागी भएका छन् । रुखहरु काटिएका छन् । जीवजन्तुहरु मारिएका र जलाइएका छन् ।”

ती घटनाको अनुसन्धान र दोषीहरुमाथि कार्वाही गर्ने सबालमा लुम्बिनीको सुरक्षादस्ता अक्षम र निरीह देखिएको स्थानीयहरु बताउँछन् । उनीहरुको भनाइ छ,–‘यसअघि कुनै सुरक्षादस्ता तैनाथ नरहँदा स्थानीयकै सक्रियतामा लुम्बिनी सुरक्षित थियो ।’ सरकारी सुरक्षादस्ताले प्रभावकारी काम गर्न नसकेपछि उनीहरु खिन्न भएका छन् ।

विश्वशान्तिको मुहान भनेर चिनिने बुद्धको जन्मस्थल लुम्बिनीको सुरक्षा संवेदनशीलता अत्याधिक बढेको अनुभव स्थानीयहरुको छ । स्थानीय पत्रकार विन्दू चौहान भन्छन्,–‘गुरुयोजना क्षेत्रभित्रका विभिन्न घटनाक्रमले लुम्बिनीको सुरक्षास्थिति सङ्कटग्रस्त रहँदैआएको अनुभूति दिलाएको छ ।

लुम्बिनीको अति संवेदनशील पवित्र उद्यानमा गत बैशाख १९ गते करिब तीन महिना पुरानो मानव कंकाल भेटिएको छ । गेट नं।४ स्थित सुरक्षा चेकपोष्ट नजिकै देखिएको शव दुर्गन्धित भई खपिसक्नु थिएन् । तर २४ सौं घण्टा ड्यूटी रहने नजिकको प्रहरीले थाहा पाएनन् । खरघाँस काट्न गएका बालबालिकाले सूचना दिएपछि मात्र सो नरकंकाल भेटिएको हो ।

पवित्र शान्तिदीपको पूर्वदक्षिणको उद्यान क्षेत्रको जङ्गलमा भेटिएको त्यो शव जनावरले खाइसकेर कंकाल मात्र बाँकी थियो । एक वर्ष पहिला पनि गुरुयोजनाको लुम्बिनी ग्रामक्षेत्रभित्र रहेको बसबिसौनी नजिक दुई छुट्टा छुट्टै स्थानमा शव फेला परेका थिए । ती शवको दुर्गन्धत चारैतिर पसारिएपछि मात्र प्रहरीले सुइँको पाएको थियो ।

‘लुम्बिनी सुरक्षार्थ सशस्त्र प्रहरी, दङ्गा प्रहरी, फोर ग्रुप, विकास कोष सुरक्षा गार्ड र ईलाका प्रहरी कार्यालय समेतका सुरक्षाकर्मीहरु २४ सौं घण्टा तैनाथ छन् । यसका अतिरिक्त पर्यटक प्रहरी र राष्ट्रिय अनुसन्धानको पनि निगरानी कायम रहन्छ । तर दिनैपिच्छे आगलागी, काठ तस्करी र हत्याका बारदात हुँदासम्म अपराध र अपराधीको सुइँकोसम्म नपाउने सुरक्षा दस्ताको कार्यशैलीमाथि प्रश्न ठडिएको लुम्बिनी पर्यटन व्यावसायी संघका पूर्वअध्यक्ष हुसेनी लोध बताउँछन् ।

उनी भन्छन्,–“जापानी बौद्ध भिक्षु युवाताका नावातामे समेतको खुलेआम हत्या, पूर्व योजना प्रमुख भरत कुँवरमाथि उनकै कार्यकक्षमा खुकुरी प्रहार, समाचारकै विषयमा पत्रकार विन्दू चौहानलाई धम्कीजस्ता खतरनाक प्रवृत्तिले प्रश्रय पाइरहँदा लुम्बिनीका व्यावसायीहरु समेतले आफूलाई असुरक्षित ठानिरहेका छन् ।”

एघार सय विग्घा क्षेत्रफलमा रहेको यस क्षेत्रम दुई सयभन्दा बढी सुरक्षाकर्मीले २४ सौं घण्टा पहरा दिए पनि आपराधिक घटना बढ्नुलाई लाजमर्दो विषय भएको बताउँछन् संघीय समाजवादी फोरम रुपन्देहीका अध्यक्ष महेन्द्र यादव । यसक्षेत्रमा हुने अपराधमा सुरक्षादस्ताकै संलग्नता रहेको घटनाक्रमले प्रमाणित गरेको उनको दाबी छ ।

लुम्बिनी विकास कोषका सदस्यसचिव अजितमान तामाङ्ग पनि लुम्बिनी क्षेत्रको सुरक्षा व्यवस्थापनको प्रक्रियाबाट सन्तुष्ट छैनन् । उनले कोषको मुख्य केन्द्रीय प्रशासनको मातहत र संयोजनमा लसम्बिनीमा सुरक्षा निकाय व्यवस्थापन नभएकोले अहिलेको स्थिति देखिएको बताउँछन् । ‘लुम्बिनी गुरुयोजना क्षेत्रभित्रका लागि मात्र छुट्टै र भरपर्दो स्थायी सुरक्षा हाम्रो माग हो’–कोषका सदस्यसचिव तामाङ्गले भने ।

प्रवेशद्वारहरुमा निषेधित सामग्रीहरुको सूची छ तर जाँच गर्नलाई स्थायी र भरपर्दो सुरक्षा छैन । लुम्बिनी विकास कोषले सुरक्षाकै लागि भर्ना गरेका करारसेवाका कर्मचारीहरु आन्दोलनमा छन् । ‘यस्तो स्थितिमा हामी आफैँ पनि कति सुरक्षित छौं भन्ने प्रश्न छ । यी कुराहरुका विषयमा हामीले जिम्मेवार निकायलाई पटकपटक सचेत गराएका छौ ।’

लुम्बिनी गुरुयोजना क्षेत्रमा खटिने सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय बेलहिया अन्तर्गतका छन् भने दङ्गा र ईलाका प्रहरी कार्यालय लुम्बिनी नेपाल प्रहरीका निकाय हुन् । अपराध नियन्त्रण गर्ने, अपराधी पत्ता लगाउने, मुद्दा चलाउने निकाय ईलाका प्रहरी कार्यालय हो । सदस्यसचिव तामाङ्ग भन्छन्,–‘निश्चय पनि ईप्रकाले केही गरेको होला, तर हामीलाई जानकारी छैन् ।’

ईलाका प्रहरी कार्यालय लुम्बिनीका प्रमुख एवम् प्रहरी निरिक्षक दिलिपराज झाले अपराधीहरु समाजभित्रै लुकेर बस्ने हँुदा नियन्त्रणमा कठिनाइ भएको बताउँछन् । उनले १४ ओटा ठूला प्रवेशद्वारसँगै लुम्बिनीको सुरक्षा पर्खालमा दुई सय चालिसओटा चोरबाटा भएको बताए ।

प्रहरी निरीक्षक झाको गुनासो छ,–‘जनावरहरु लोप हुँदैछन् । लुम्बिनी विकास कोषको रकम खर्च हुन नसकेर फ्रीज हुन्छ तर ती प्वालहरु भने टालिदैनन् । त्यसैले सुरक्षासमस्याको मुख्य जिम्मेवार भनेको कोष हो ।’

दक्ष जनशक्तिको कमी र वैज्ञानिक उपकरणको सुरक्षा व्यवस्थापनमा प्रमुख कारण रहेको बताइन्छ । लुम्बिनी विकास कोषका सुरक्षा अधिकृत लीलाबहादुर श्रेष्ठले व्यवस्थापन पक्षले ती सबैथोकको यथाशिघ्र व्यवस्था गरी प्रभावकारी ढंग सुरक्षा व्यवस्थापन हुनुपर्नेमा जोड दिन्छन् ।
बुद्धजन्मस्थलमा पर्यटकलाई शान्तीको अनुभूति दिलाउन एकीकृत सुरक्षा प्रणाली अवलम्बन गरिनुपर्ने लुम्बिनी विकास कोषका पूर्व कानूनी सल्लाहकार डा। गितु गिरीको सुझाव छ ।

गत वर्ष भारतको बोधगयामा भएको आतङ्ककारी हमलापछि लुम्बिनीमा विशेष सुरक्षा सतर्कता अपनाइएको थियो । तर पनि फितलो सुरक्षा नीतिका कारण यसक्षेत्रमा आपराधिक क्रियाकलापहरु बढ्दै गएको र राष्ट्रिय तथा अन्र्तराष्ट्रिय अपराधीहरुको केन्द्रको रुपमा परिणत हुन थालेको स्थानीय सञ्चारकर्मी प्रल्हाद यादव बताउँछन् । संचारकर्मी रामविकास चौधरीको सहयोगमा

प्रकाशित मिति: May 7, 2016

प्रतिक्रिया दिनुहोस्