Logo
७ बैशाख २०८१, शुक्रबार
(May 9, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रत्येक प्रदेशमा अन्तरराष्ट्रिय विमानस्थल


काठमाडौं । सरकारले आइतबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा प्रत्येक प्रदेश, एक प्रादेशिक अन्तरराष्ट्रिय विमानस्थलको अवधारणाअनुरूप निर्माणका लागि संभाव्यता अध्ययन गरिने भएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको स्तरोन्नति गरिने पनि उल्लेख छ ।
सुस्त गतिमा रहेको अन्तरराष्ट्रिय विमानस्थल सुधारलाई मुख्य प्राथमिकता दिने नीति तथा कार्यक्रममार्फत घोषणा गरिएको छ । बारा, लुम्बिनी र पोखरा विमानस्थल निर्माणलाई तीव्रता दिइने घोषणा गरिएको छ । लुम्बिनीमा गत वर्षदेखि नै गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माण कार्य सुरु भएको हो । 
पोखरामा निर्माण हुने पोखरा अन्तरराष्ट्रिय विमानस्थल वैशाख १ देखि सुरु भएको छ । बारामा निर्माण गरिने भनिएको दोस्रो अन्तरराष्ट्रिय विमानस्थल निर्माण गर्न जग्गा प्राप्ति तथा सीमांकनको कार्य सम्पन्न गरी निर्माण कार्य सुरु गरिने नीति तथा कार्यक्रमा उल्लेख छ । 
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमलाई प्रतिस्पर्धी बनाउँदै यसको साख वृद्धि गर्ने योजना सरकारको छ । आन्तरिक हवाई सुरक्षा सुधार गर्न रेडार प्रणालीको स्तरोन्नति गरिने घोषणासमेत सरकारले गरेको छ ।
सन् २०१८ लाई नेपाल भ्रमण वर्षको रूपमा मनाइने
सरकारले आगामी सन् २०१८ लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउने भएको छ । राष्ट्रपति विद्या भण्डारीले आइतबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सन् २०१८ लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरेकी हुन् ।
नीति तथा कार्यक्रममा १० लाख पर्यटक भित्राउने योजना पनि ल्याइएको छ । पर्यटन क्षेत्रको विकासका लागि ०७३ साललाई आन्तरिक पर्यटन वर्षको रूपमा मनाउँदै पर्वतीय पर्यटनलाई बढवा दिने उनले बताइन् । कारोबार दैनिकमा समाचार छ ।

प्रत्येक प्रदेशमा ऐतिहासिक क्षेत्रलाई संरक्षण गर्न एक प्रदेश एक संग्रहालयको व्यवस्था गरिने कार्यक्रममा उल्लेख छ । त्यस्तै सगरमाथा र अन्नपूर्ण क्षेत्रमा उद्धार केन्द्रको स्थापना, पर्यटनबारे जानकारी दिन मोबाइल सूचना प्रणाली सुरु गरिने उल्लेख छ । 
पर्वतीय पर्यटनलाई थप सुरक्षित बनाउन मौसमको पूर्वानुमान गरी पूर्वसूचना सम्प्रेषण गर्ने व्यवस्था मिलाइने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: May 9, 2016

प्रतिक्रिया दिनुहोस्