Logo
७ बैशाख २०८१, शुक्रबार
(May 17, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिहान झडप, दिउसो पहलमानी–कुस्ती खेल (तेस्रो दिनको डायरी)

काठमाडौं । राजधानी केन्द्रीत आन्दोलन शुरु गरेको मधेशी–जनजाती दलहरुको मोर्चा संघीय गठबन्धनले मंगलबार प्रधानमन्त्री निवास बालुवाटार घेराउ गरेको छ । दुई दिनसम्म देशको प्रशासनिक केन्द्र सिंहदरवार घेराउ गरेको गठबन्धनले तेस्रो दिन बालुवाटारस्थित प्रधानमन्त्री निवास घेराउ कार्यक्रम आयोजना गरेको हो । घेराउ कार्यक्रम मगलवार बिहान केही तनावपूर्ण बनेपनि दिउँसोतिर गठबन्धनको प्रर्दशन रामाइलोमा परिणत भएको थियो । 
गठबन्धनले कार्यक्रम सार्वजनिक गर्ने बित्तिकै स्थानिय प्रशासनले हाल कायम रहेको क्षेत्रलाइ बिस्तार गर्दै निषेधित क्षेत्र बढाएको थियो । ठूलो संख्यामा परिचालित प्रहरीले आन्दोलनकारीलाई बालुवाटारस्थित प्रधानमन्त्री निवाससम्म पुग्न दिएका थिएनन् । भाटभटेनी अगाडि नै प्रहरीले प्रदर्शनकारीलाई रोक्न खोजेपछि प्रहरी र प्रर्दशनकारीबिच केहीबेर घम्साघम्सी भएको थियो । झडपमा एकदर्जन बढि मोर्चाका कार्यकर्ता घाइते भएका छन् ।  
आन्दोलनकारीहरु नेपाल राष्ट्र बैंकको गेटसम्म पुगेर शान्तिपूर्ण धर्ना दिएका थिए । धर्नाका क्रममा मोर्चाआबद्व प्राय सबै दलका शीर्ष नेताहरु सहभागी थिए । गठबन्धनले संविधान र सीमांकनको विरोध गर्दै विभिन्न २६ बुँदे माग अघि सारेका छन् । सोही माग राख्दै गठबन्धनले ६ महिनासम्म मधेसमा आन्दोलन गरेपनि मागको सुनुवाई नभएपछि थप दवाव दिन भन्दै शनिबारदेखि राजधानी केन्द्रित आन्दोलन जारी राखेको हो । 
दिउसो कुस्ती खेलको रमाइलो   
प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्न पुगेका मधेशी जनजाती प्रर्दशनकारी र प्रहरीबिच बिहानको समयमा झडप भएपनि दिउसो भने कुस्ती खेल प्रदर्शन गरी रमाइलो गरेका थिए । टनटलापुर घाममा बालुवाटरमा धर्ना दिने क्रममा आन्दोलनकारीहरुले आन्दोलनसँगै रमाइलो पनि गरिरहेका थिए । आन्दोनकारीहरुले लाठी प्रदर्शनी, पहलमानी (कुस्ती) लगायतका खेलखेली रमाइलो गरिरहेका थिए । 
२ दर्जन आन्दोलनकारी घाइते
संघीय गठबन्धनले गरेको बालुवाटार घेराउको क्रममा प्रहरी र गठबन्धनका कार्यकर्ताबीच झडप हुदा २ दर्जन दर्जनभन्दा बढि प्रर्दशनकारी घाइते भएका छन । घाइते हुनेमा गठबन्धनका शीर्ष नेताहरू समेत रहेका छन । सद्भावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्ण, तराई मधेश सद्भावना पार्टी उपाध्यक्ष रानी शर्मा तिवारीलगायत नेता तथा कार्यकर्ता घाइते भएका छन् । सुरक्षाकर्मीले बालुवाटारसम्म जाने बाटो अबरोध गरेपछि आन्दोलनकारीले प्रहरीको अवरोध तोडेका थिए । काठमाडौं जिल्ला प्रशासन कार्यालयले सोमबार नैं प्रधानमन्त्री निवासको चारैतिर निषेधित क्षेत्र तोकेको थियो ।  दुई दिन सिंहदरबार घेराउ गरेको गठबन्धनले मंगलबार बालुवाटार घेराउ गर्ने निर्णय गरेको थियो । 
झडपमा अन्य घाइते आन्दोलनकारीहरु विष्णु जंग बस्नेत, रमेश राई, दयाराम राई, यक्ष कुमार राई, विष्णु जम्मरकटेल, प्रकाश राई, रञ्जिजत गोस्वामी, मञ्जु अन्सारी, पूर्ण बहादुर बस्नेत, पृथ्वी कार्की, महेसप्रसाद यादव र मन कुमार लिम्बु घाईते भएका छन् । उनीहरुमध्ये रञ्जित गोस्वामीको दायाँ हात काँधबाट खुस्केकोले ट्रमा सेण्टरमा उपचार भैरहेको छ भने बाँकीको विभिन्न अस्पतालमा उपचार भैरहेको गठबन्धनका नेता टेक बहादुर तामाङ्गले बताए ।  

बुधवार शान्तिवाटिकामा आमसभा
संघीय गठबन्धनले गरेको काठमाडौंकेन्द्रित आन्दोलनअन्तर्गत बुधबार रत्नपार्कको शान्तिवाटिकामा आमसभा गर्ने भएको छ । काठमाडौंकेन्द्रित आन्दोलनको पहिलो चरणको यो अन्तिम कार्यक्रम हुनेछ । अर्को चरणको आन्दोलनको कार्यक्रम तय गर्न बुधवार बिहान ८ बजे गठबन्धनको बैठक बस्दैछ । गठबन्धनले मंगलवार बालुटावार तथा आइतबार र सोमबार सिंहदरबार घेराउ गरेको थियो ।  

प्रर्दशन शान्तिपुर्ण : प्रहरी 
मधेशी जनजातीहरुको आन्दोलनलाई प्रहरी परिसरले शान्तिपूर्ण भएको निष्कर्ष निकालेको छ । सिंहदरबार र बालुवाटार घेराउका क्रममा टुटफुट बाहेक ठूला घटना नभएको प्रहरीले बताएको छ । मधेशी जनजाती केन्द्रित बिभिन्न राजनीतिक दलीय दलहरु सम्मिलित संघीय गठबन्धनले यही जेठ १ गतेदेखि राजधानी केन्द्रित आन्दोलन गरिरहेको छ ।  देशको मुख्य प्रशासनिक केन्द्र घेराउ गरेका मधेसवादी तथा जनजाति पार्टीहरुले मंगलबार बालुवाटारमा धर्ना दिए ।  
आन्दोलन अवधिभर ८ जना प्रहरी सामान्य घाइते भएका छन् । आन्दोलनकारीतर्फ पनि ठूलो क्षति नपुगेको प्रहरीले दाबी गरेको छ ।  भीडको मनोविज्ञान बुझ्न प्रहरी सफल भएको भन्दै ठूलो घटना नभएको काठमाडौंका एसएसपी विक्रमसिंह थापाले बताए ।  उनले भने ‘आन्दोलनकारीहरुको कतिपय भावनात्मक कुराले हामिलाई पनि छोयो हाम्रो तर्फबाट पनि कुनै बल प्रयोग गर्ने कार्य भएन र आन्दोलनकारीहरु पनि शान्तिपुर्ण आन्दोलन नै गरे’  भीडको गति कता जाँदैछ भन्ने अनुमान गरेर नै त्यहीअनुसार प्रहरी परिचालन गरिएको उनले बताए । प्रहरीले एउटा पनि आन्दोलनकारीमाथि लाठी नबर्साएको उनले दाबी गरे । एसएसपी थापाले संयमित भएर खट्न मातहतका निकायलाई निर्देशन दिएका थिए ।
बेलायती ’प्रर्दशनकारी’ दुतावासको जिम्मा
संघीय गठबन्धनको प्रर्दशनमा सहभागी भएको आरोपमा पक्राउ परेका बेलायती नागरिक मार्टिन पेवरलाई प्रहरीले नेपालस्थित बेलायती दुतावासका अधिकारीको जिम्मा लगाएका छन् । पर्यटकिय भिषामा नेपाल आएर राजनीतिक गतिविधीमा संलग्न भएको आरोपमा उनी सोमबार पक्राउ परेका थिए । जय लिम्बुवान लेखिएको फेटा बांधेर प्रर्दशनकारीसंगै बसेको अवस्थामा पक्राउ परेका उनलाई महानगरीय प्रहरी बृत्त सिंहदरवारको हिरासतमा राखिएको थियो । 
गृह मन्त्रालयबाट पेवरलाई दुतावासको अधिकारीलाई जिम्मा लगाउन निर्देशन आएपछी प्रहरीले मंगलबार दिउस उनलाई आइन्दा यस्तो गतिविधीमा संलग्न नहुने सर्तमा बेलायती दुतावासका अधिकारीको जिम्मामा हिरासतमुक्त गरेको महानगरीय प्रहरी परिसरका एक अधिकारीले जानकारी दिए ।  

प्रकाशित मिति: May 17, 2016

प्रतिक्रिया दिनुहोस्