Logo
१२ बैशाख २०८१, बुधबार
(May 20, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अप्रेशन नेपाली सेना : तल्लो दर्जामा तै चुप मै चुप !


न्यूज अप्रेशन, काठमाडौं । नेपाली सेनाले समान सुविधा भएका जिल्लामा फरक–फरक मूल्य निर्धारण गरी रासन उपलव्ध गराएको समाचारको खुलासा भएको छ । सेवा–सुविधा, बजार, सडक-पूर्वाधार पहुँच तथा भौगोलिक समानता भएका जिल्लाको सैनिक रासन खरिदमा एकरुपता नभएको पाइएको हो । सार्बजनिक खरिद नियमावली २०६४ को नियम ८८ अनुसार प्रत्येक वर्षको भदौ मसान्त भित्र नेपाल राष्ट्र बैंकबाट प्रकाशित सम्वन्धित क्षेत्रको उपभोक्ता÷स्थानीय मूल्य सूची, सडक सुविधा, स्थानीय बजार भाउ तथा अघिल्लो वर्षको खरिद सम्झौताका आधारमा रासन मूल्य सूची निर्धारण गर्नुपर्ने व्यवस्था छ ।
सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन प्रमुख जिल्ला अधिकारी संयोजक रहेको समितिले निर्धारण गर्छ । प्रहरी र सशस्त्रले देशभर नगदैमा रासन भत्ता पाउँछन् । सेनाले भने देशभरका ब्यारेकमा ठेकदार मार्फत आफना कर्मचारीलाई रासन उपलव्ध गराउँदै आएको छ । ३ वटै सुरक्षा निकायका लागि वार्षिक सवा २ अर्ब भन्दा बढी रकम रासनमा खर्च हुन्छ । सेवा–सुविधा र भौगोलिक समानताका हिसावले एकरुपता पाइने तराइका १८ जिल्लामा जिल्लै पिच्छे सेनाको दैनिक रासन मूल्यमा फरक पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्बजनिक गरेको ५३ औं प्रतिवेदन अनुसार काठमाडौं, भक्तपुर र ललितपुरमा समेत रासन सुविधामा एकरुपता कायम गरिएको छैन । 
आर्थिक वर्ष २०७१÷७२ मा १ जना सैनिकका लागि काठमाडौंमा १३० रुपैयाँ ६४ पैसा, ललितपुरमा १३६ रुपैयाँ ५ पैसा र भक्तपुरमा १२३ रुपैयाँ ९ पैसा तय गरिएको छ । जबकी भौगोलिक अवस्था, सुविधा र पहुँचका हिसावले उपत्यकाका ३ वटै जिल्लामा समानता छ । यस्तै महोत्तरीमा रासन बापत दैनिक ९५ रुपैयाँ ४९ पैसा निर्धारण गरिएको छ । तर, महोत्तरी जस्तै बजार, पूर्वाधार, विकास तथा पहुँचका हिसावले समानता रहेको सर्लाहीमा १२० रुपैयाँ तोकिएको छ । पहुँच र सुविधामा समानता रहेका सिन्धुली र उदयपुरको रासनमा पनि फरक–फरक मूल्य छ । 
सिन्धुलीका सेनालाई दैनिक १०९ रुपैयाँ २५ पैसाका दरले रासन खुवाउनेगरी ठेक्का सम्झौता भएकोमा उदयपुरमा १२९ रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ । भौगोलिक रुपमा समानता रहेका हिमाली जिल्ला मनाङ र मुस्ताङमा पनि सेनाको रासनमा एकरुपता छैन् । रोल्पा र रुकुम भौगोलिक रुपमा समानता भएका जिल्ला हुन । तर, रासन निर्धारण गर्दा रोल्पामा १९४ रुपैयाँ ७६ पैसा र रुकुममा २६६ रुपैयाँ ६३ पैसा तय गरिएको छ ।
मनाङमा रासनबापत दैनिक ३४७ रुपैयाँ ४२ पैसा निर्धारण गरिएकोमा मुस्ताङमा २३९ रुपैयाँ ५५ पैसा छ । महालेखाका अनुसार पहाडी जिल्ला म्याग्दी र वाग्लुङमा पनि फरक–फरक मूल्य निर्धारण गरिएको छ । म्याग्दीमा १५१ रुपैयाँ ९४ पैसा कायम गरिएकोमा वाग्लुङमा १७६ रुपैयाँ ५४ पैसा छ । महालेखाले समेत सेवा–सुविधा र भौगोलिक समानता भएका जिल्लाको रासनमा एकरुपता कायम गर्न निर्देशन दिएको छ ।
सुविधा र भौगोलिक पहुँच समान भएका जिल्लामा सेनाको रासन मूल्य निर्धारण गर्दा लागत अनुमान दर यथार्थपरक देखिएको छैन, लेखा परीक्षणमा सहभागी महालेखाका अधिकारी भन्छन्, उपत्यकाका ३ जिल्लामा ३ थरी मूल्य देखिनुले पनि रासन मूल्य निर्धारणमा पारदर्शीता छैन भन्ने स्पष्ट हुन्छ । त्यसो त सेना भित्रको जङ्गि शासन बिरुद्द तल्लो दर्जाका कर्मचारी तै चुप मै चुप जस्तै भए  पछि कोहि बोल्ने अवस्था छैन् ।  

प्रकाशित मिति: May 20, 2016

प्रतिक्रिया दिनुहोस्